आमाको तस्बिर नियाल्दै न्याय पर्खिरहेकी छिन् काजल 

३६ वर्षीया आमा अनितादेवीको हत्या भएपछि १२ वर्षीया काजल भन्छिन् : त्यो राति म जन्ती नगएको भए हुन्थ्यो, आमा घरमा एक्लै भएर हत्या गरिदियो । आमाको हत्यारालाई पनि छोड्नुभएन ।

जेष्ठ ३, २०८३

विद्यानन्द राम

Kajal awaits justice while looking at her mother's photo

What you should know

राजविराज — आमाको ‘हत्या’पछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५, बनरझुलाकी १२ वर्षीया काजलकुमारी राय निदाउन सकेकी छैनन् । एक सातासम्म बेपत्ता पारिएकी उनकी ३६ वर्षीया आमा अनितादेवीको शव गत बुधबार कोशी नदीको पश्चिमी किनारमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । गलिसकेको आमाको शव अझै उनको आँखै अगाडि घुमिरहँदा काजल निदाउन पाएकी छैनन् । 

आइतबार त्यहाँ पुग्दा घरअगाडि बसिरहेकी किरियापुत्री काजल आमाको तस्बिर नियाल्दै न्यायका लागि बर्बराइरहेकी थिइन् । ‘त्यो राति म जन्ती नगएको भए हुन्थ्यो, आमा घरमा एक्लै भएर हत्या गरिदियो,’ उनी भन्छिन्, ‘आमाको हत्यारालाई पनि छोड्नुभएन ।’ बोलिरहँदा उनको आँखा आँसुले भरिएको थियो । उनकी आमा बेपत्ता पारिएपछि जन्तीमा रहेकी काजललाई फोनमा ‘गाई हराइसकेको’ भनी बोलाएका थिए । तर, घर फर्किंदा गाई गोठमै देखेपछि उनले आमालाई खोज्दै पटक–पटक छिमेकी र गाउँलेसँग सोधिरहिन् ।

उनका बुवा वीरेन्द्र छुट्टीमा फर्किएर ३ महिनाअघि मात्रै फेरि वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । काजलकी दिदी घरमा रहँदा उनी आमासँगै घरमा बस्दै आएकी थिइन् । तर, अघिल्लो बुधबार (२३ वैशाख) काजल जन्तीमा अमर्बा टोल पुगेकी थिइन् । त्यही राति उनकी आमा अनितादेवीलाई ५/७ जनाको समूहले घरबाटै बेपत्ता पारेका थिए । भोलिपल्ट अनितादेवीलाई घरमा नदेखेपछि छिमेकीले खोजी सुरू गरेका थिए । 

घरभित्र रगतका छिटा देखिएपछि उनीहरूले नै प्रहरीलाई जानकारी गराएर काजललाई पनि फोन गरेर बोलाएका थिए । गाउँले र प्रहरी मिलेर खोज्दै जाँदा गत बुधबार अनितादेवीको शव सोही वडाको ९ किलोमिटर भन्ने ठाउँमा कोशी नदीमा भेटिएको थियो । ‘भाउजू (अनितादेवी)कै साडीले घाँटी कसेको, हात–खुट्टा बाँधिएको तथा खुट्टा र टाउकोतिर १०/१२ किलोको ढुंगा बेरिएको अवस्थामा शव भेटियो,’ मृतककी नन्द राधा रायले भनिन्, ‘घेरिएको बाटो खुलाइदिन भाउजूले पटक–पटक छिमेकीलाई भन्दै आएको निहुँमा छिमेकीले नै घरमा कोही नरहेको मौका छोपेर हत्या गरिदियो ।’ 

घटनापछि गत शुक्रबार कतारबाट फर्किएका मृतकका श्रीमान् वीरेन्द्रले पनि बाटोको विषयमा छिमेकीसँग महिनौंदेखि विवाद रहेको बताए । ‘बेपत्ता पारिएको राति ११ देखि १२ बजेसम्म श्रीमान्–श्रीमती फोनमा कुराकानी गरेका थियौं, घरसम्म पुग्ने बाटो नरहँदा समस्या भइरहेको विषयमा फोनमा पनि बताएकी थिइन्’ उनले भने, ‘भोलिपल्ट फेरि पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन । केहीबेरमा छिमेकीले फोन गरेर जानकारी गराएपछि मैले घटनाबारे थाहा पाए ।’ 

वीरेन्द्रले हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे । ‘प्रहरीले २ जना छिमेकीसहित ३ जनालाई नियन्त्रणमा लिएको जानकारी पाएँ,’ उनले भने, ‘श्रीमतीको हत्या गर्नेलाई कडाभन्दा कडा सजाय दिलाउनमा सहयोग गरिदिन सबै पक्षसँग आग्रह छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले ती घटनामा केही आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । ‘महिलाको हात पछाडि फर्काएर तथा खुट्टा पनि बाँधिएको अवस्थामा शव फेला पारेका थियौं,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट अझै आइसकेको छैन । थप अनुसन्धान भइरहेको छ ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully