बैठकमा झडपको स्थिति बनेपछि सहभागी सांसदलगायतलाई प्रहरीले सुरक्षित बाहिर पठाएका थिए ।
What you should know
राैतहट र बारा — बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकमा शनिबार दुई पक्षबीच हाेहल्लासँगै हात हालाहाल भएकाे छ । विवादले बढेर झडपको स्थिति बनेपछि प्रहरीले बैठकमा उसपस्थित सांसदलगायतलाई सुरक्षित बाहिर पठाएका थिए ।
पार्टीको बिस्तारित बैठकमा भएको विवाद र झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उत्छृंखल नाराबाजीसहित हातमा लठ्ठी बोकेका कार्यकर्ता उग्ररुपमा प्रस्तुत भएको भिडियोमा देखिन्छ ।
रास्वपाका जिल्ला संयाेजक चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गरेपछि विवाद बढेकाे थियो । चुनावमा पार्टीविरूद्ध गतिविधि गरेकाे र पार्टीकाे आडमा आर्थिक लाभ लिएकाे भन्दै पार्टीले उनलाई कारबाही गर्दै निष्कासन गरेकाे थियाे ।
साेही विषयलाई लिएर शनिबार कलैयाकाे करणराज हाेटेलमा भइरहेकाे बैठकमा स्वर्णकार पक्षीय कार्यकर्ता बैठक स्थलमा प्रवेश गरी हुटिङ गर्दै हाेहल्ला मचाएका थिए । उनीहरूलाई प्रहरी लगाएर बाहिर निकाल्न लगाउने क्रममा हात हालाहालसमेत भएकाे थियाे । त्यसपछि बैठकमा सहभागी बाराका चार वटै रास्वपाका सांसद गणेश धिमाल, चन्दन सिंह, अरबिन्द साह र रहबर अन्सारी प्रहरीकाे सुरक्षामा बाहिरिएका थिए ।कार्यकर्ता बीच चर्काचर्की हुन थालेपछि सांसदहरुलाई सुरक्षित गाडीमा राखेर पठाइएको थियो । बैठकमा सहभागी सांसद चन्दन सिंहका अनुसार त्यस्ताे हाेहल्ला र हात हालाहाल नभएकाे भन्दै बैठक साैहाद्ररूपमा सम्पन्न भएकाे बताए ।
रास्वपाका मधेश प्रदेश अध्यक्ष तपेश्वर रायले पार्टीमा आकांक्षीहरु धेरै भए पछि विवाद भएको जानकारी दिए । ‘म पनि पर्सामा पार्टीको कार्यक्रममा छु । त्यहाँका पछिल्लो अवस्थाबारे मैले बुझ्नै पर्छ,’ उनले भने,‘दुबैको टीम नमिलेको भन्ने सुनेको छु । केही कार्यकर्तामा चर्काचर्की भए पछि विवाद भएको हो ।’
जिल्ला प्रहरी बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले पार्टीको आन्तरिक विवादका कारण केहीबेर स्थिति अशान्त बने पनि अवस्था सामान्य भइसकेकाे जानकारी दिए । ‘अहिले अवस्था शान्त भइसकेको छ । बैठकको हल सानो र कार्यकर्ता धेरै भएर भीड भएकोले समस्या देखियो,’ उनले भने,‘उहाँहरुको आन्तरिक नै केही हुनु पर्छ।’
कार्यसमिति अधिवेशन र विस्तारित बैठक अगावै आफूलाई षड्यन्त्रपूर्वक पार्टीको साधारण सदस्यबाट हटाइएको भन्दै स्वर्णकार असन्तुष्ट थिए । उनका समर्थक समेत यही विषयमा आक्रोशित देखिएका छन् ।स्वर्णकारले आफुमाथि पूर्वाग्राही व्यवहार गरेको बताएका छन् ।
