लुटपाटमा पर्दा हातखुट्टा गुमाएका देवचन्द्र मुखियालाई ६० हजार सहयोग

वैदेशिक रोजगारीबाट फर्किरहँदा लुटपाटमा परेर हातखुट्टा गुमाएका उनलाई उपचार खर्चका लागि स्थानीय तथा मलेसियामा कार्यरतहरुबाट उक्त रकम प्राप्त भएको हो ।

फाल्गुन ४, २०८२

विद्यानन्द राम

60,000 rupees assistance to Devchandra Mukhiya, who lost his limbs in a robbery

राजविराज — लुटपाटमा पर्दा हातखुट्टा गुमाएर उपचार खर्च अभाव खेपिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखियाले आर्थिक सहयोग पाएका छन् । 

सोही पालिका वडा नम्बर ४ कोइलाडीका दिलिपकुमार मुखिया र मलेसियास्थित ईकोमेट्रिक्स अफ कम्पनीमा कार्यरत सोही ठाउँका सन्तोष मुखियाको नेतृत्वमा संकलन गरिएको ६० हजार सहयोग रकम देवचन्द्रलाई उपलब्ध गराएको हो ।

वैदेशिक रोजगारीबाट फर्किरहँदा लुटपाटमा परेर हातखुट्टा गुमाएका देवचन्द्रलाई उपचार खर्चका लागि यहाँका तथा मलेसियामा कार्यरतहरुबाट उक्त रकम प्राप्त भएको दिलिपकुमारले बताए । नेपाल सरकारका कर्मचारीसमेत रहेका दिलिपकुमारले देवचन्द्रको घरमै पुगेर सो हस्तान्तरण गरेका हुन् ।

गत माघ १२ मा काठमाडौंबाट सिरहाको लहानसम्म माइक्रो बसमा आइपुगेका देवचन्द्र लहान–ठाडी सडक खण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित लुटपाटमा परेका थिए । राति ‘रिजर्भ’ गरेर घरतर्फ आइरहँदा टेम्पो चालक र अन्य दुई जना मिलेर टेम्पोले दायाँ हातखुट्टा किचेर लुटपाट गरेको देवचन्द्रको भनाइ छ ।

घटनापछि उनको हातखुट्टा काम नलाग्ने भएपछि उपचारको क्रममा काट्नु परेको थियो । उपचारमा साढे ७ लाख रुपैयाँ खर्च भइसकेको र अझ हातखुट्टा काट्नु परेको घाउ निको नहुँदा थप उपचारका लागि उनलाई रकम अभाव भइरहेको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully