टेम्पोले किचेर लुटपाटमा पर्दा गुम्यो हातखुट्टा, ऋण काढेर उपचार

गोल्डेन अस्पतालमा उपचारको क्रममा देवचन्द्रको दायाँ हात–खुट्टा काम नलाग्ने भएपछि काटेर हटाइएको छ । दुई साताको उपचारपछि देवचन्द्र घर फर्किए पनि हात–खुट्टा काट्नु परेको घाउ निको हुन बाँकी छ।

फाल्गुन ३, २०८२

विद्यानन्द राम

What you should know

राजविराज — साउदीबाट दुई वर्षपछि घर फर्किरहँदा खुसीले गद्गद् थिए, ३५ वर्षका देवचन्द्र मुखिया । ७० दिनको बिदा लिएर नेपाल फर्किँदै थिए उनी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका उनी माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए ।

बिहान साढे ८ बजे विमानस्थल आइपुग्दासम्म उनी छोरा, श्रीमती र बुवासँग भेट्न व्याकुल थिए । त्यहाँबाट सक्दो चाँडै घरतिरको गाडी चढ्ने निधो गरिसकेका थिए । तर, विमानस्थलमा सबै प्रक्रिया पूरा गरेर बाहिर निस्किनै उनलाई झण्डै १० बजिसक्यो । 

ट्याक्सी चढेर उनी हतार–हतार गर्दै उनी कोटेश्वरतिर लागे । त्यहाँका टिकट काउन्टरमा पुग्दा राजविराजका लागि सबै गाडी अघि नै निस्किसकेको जवाफ पाए । अन्य काउन्टरमा पनि सोधे तर गाडी पाएनन् । 
साउदीबाट फर्किरहँदा देवचन्द्र एक्लै भने थिएनन् । उनका दुई जना साथी पनि सँगै बिदामा फर्किएका थिए ।

दुवै जनालाई सिरहाको लहान नपुग्दै ओर्लिनुपर्ने थियो । त्यहीबेला लहानसम्म पुग्ने एउटा हाइस बाँकी छ भन्दै टिकट काट्नेले बताएपछि देवचन्द्र त्यहाँ पुगेर थप जानकारी मागे ।   ‘लहानबाट राजविराज पुग्न समस्या हुन्छ भन्दै टिकट काट्नेलाई भनेकै थिए । म यो हाइसमा जादिन पनि भने,’ देवचन्द्रले सुनाए, ‘तर, टिकट काट्नेले राजविराजसम्मको मेल (अर्को गाडी) दिन्छु भनेपछि म तयार भए ।’

तीनै जनाले ३/३ हजार रुपैयाँ भाडा तिरेर हाइसमा चढेर निस्किएको देवचन्द्रले सुनाए । ‘लहान पुग्नुअघि नै मेरा दुवै जना साथी आ–आफ्नो ठाउँमा ओर्लिसकेका थिए । लहानसम्म आइपुग्दा रातिको साढे १० बजिसकेको थियो,’ उनले भने, ‘हाइसबालाले ओर्लिन भन्यो । मेल गाडी कहाँ छ भनेर सोधे पनि तर उनीहरुले गाडी पाइहाल्छ भन्दै मेरा सबै समान तल झारेर मेलवापत १ सय रुपैयाँ फिर्ता दिएर निस्कियो ।’

बजारभन्दा पर हाइसबाट ओराल्दा पनि अन्य गाडी नपाएको देवचन्द्रले सुनाए । ‘के गर्ने, नगर्ने भइरहेको थियो। हाइसबाट ओर्लेका अन्य यात्रु पनि घरतिर लागिसकेका थिए,’ उनले भने, ‘त्यहीबेला एउटी महिला नजिक आएर कहाँ जाने ? भन्दै सोध्न थालिन् ।’ 

आफुले समस्या सुनाउँदा ३ हजार रुपैयाँ लिएर घरसम्म पुर्‍याइदिने महिलाले बताएको देवचन्द्रले सुनाए । ‘मैले ५ सय रुपैयाँ थपेरै दिन्छु पनि भनेको थिए । अनि महिलाले टेम्पो चालकलाई इसारा गरेपछि चालकले मेरो सामान टेम्पोमा हाल्यो,’ उनले भने, ‘मलाई चालकको दायाँतिर बस्न लगायो, हाइसमा काठमाडौंबाट फर्किएका महिलाकै छोरा चालकको बायाँतिर बसेँ ।’ लहानको हस्पिटल चोक हुँदै ठाडी सडकखण्डको भगवानपुर, बोदे बरसाइन–राजविराज हुँदै देवचन्द्रलाई घरसम्म पुर्‍याइदिने महिलाले बाटो बताएकी थिइन् । 

तर, लहान–भगवानपुर सडकखण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित पुग्दा चालकले टेम्पोबाट धक्का दिएर सडकमा लडाइदिएको देवचन्द्रले बताए । ‘सडकमा लड्दा टाउको र हात–खुट्टामा चोट लागेर उठ्नै सकिन । चालकले टेम्पो ब्याक गरेर दायाँ हात र खुट्टामाथि चढाइदियो । फेरि टेम्पो अगाडि बढाउँदा पनि हात–खुट्टामाथिबाटै लग्दा म बेहोस भए,’ उनले भने, ‘लगभग आधा घण्टापछि होस त खुल्यो तर दायाँ हात–खुट्टा नचल्दा उठ्नै सकिरहेको थिइन ।’ 

जोर–जोरले हल्ला गरेर सहयोग माग्दा पनि आसपासमा कोही नभएर तत्कालै सहयोग पाएन । त्यही बाटो भएर गस्तीबाट फर्किरहेको इलाका प्रहरी कार्यालय लहानको टोलीले देख्दा उद्धार गरेर अस्पतालतर्फ लगेको देवचन्द्रले सुनाए । ‘प्रहरीलाई नाम, ठेगानासम्म बताएको याद छ । अस्पताल पुग्दासम्म होस रहेन,’ उनले भने। प्रहरीले देवचन्द्रलाई उपचारको लागि प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए । चिकित्सकले त्यहाँ उपचार सम्भव नरहेको भन्दै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज रेफर गरेका थिए । 

यहाँ पनि उनको उपचार सम्भव नभएपछि प्रहरीले जानकारी गराउँदा आएका परिवारजनले देवचन्द्रलाई विराटनगर लगेका थिए । गोल्डेन अस्पतालमा उपचारको क्रममा देवचन्द्रको दायाँ हात–खुट्टा काम नलाग्ने भएपछि काटेर हटाइएको छ । दुई साताको उपचारपछि देवचन्द्र घर फर्किए पनि हात–खुट्टा काट्नु परेको घाउ अझ निको हुन सकेको छैन् ।

अहिलेसम्म उनको उपचारमा साढे ७ लाख रुपैयाँ खर्च भइसकेको देवचन्द्रका बुवा बेचन मुखियाले बताए । ‘गाउँलेसँग ऋण–सापट गरेर छोराको उपचारमा अहिलेसम्म भएको खर्च जुटाए,’ उनले भने, ‘हात–खुट्टा काट्नु परेको घाउ अझ निको भइसकेको छैन । २–२ सातामा अस्पताल आउन डाक्टरले भन्नुभएको छ । त्यसैका लागि थप ऋण खोज्दैछु ।’

उनीहरुसँग आफ्नो जग्गा/जमिन पनि छैन् । वैदेशिक रोजगारी र बटैया (अधिया) खेती गरेर दैनिकी चलाउँदै आएको मुखिया परिवारका एक्लो सहारा नै थिए, देवचन्द्र । उनका दाजु रामचन्द्र पनि ३ पटक ढाडको शल्यक्रिया हुँदा कामकाज गर्न सक्दैनन् । ४ वर्षका छोरा, श्रीमती, दाजु–भाउजु, ६ वर्षकी भतिजी र बुवासहित ७ जनाका सहारा देवचन्द्रको हात–खुट्टा काट्नुपर्दा परिवार नै चिन्तामा छन् ।

आरोपी महिला पक्राउ, दुई फरार 
घटनामा देवचन्द्रको साथमा रहेको ७५ हजार रुपैयाँ, एउटा नयाँ मोबाइल तथा दुई वटा ब्याग र एउटा कार्टुनमा रहेको कपडासहितका समान लुटेर लगेका थिए । घटनापछि देवचन्द्रका बुवा बेचनले इलाका प्रहरी कार्यालय लहानमा चोरी डाँका र ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा जाहेरी दिएका छन् ।

माघ १९ मा दर्ता भएको जाहेरीअनुसार आरोपी सिरहाको भगवानपुर गाउँपालिका–२ की ४५ वर्षकी सोमनीदेवी राम पक्राउ परेकी छन् । अन्य आरोपीहरु सोमनीदेवीका छोरा ३९ रञ्जनकुमार राम र सोही ठाउँका प्र२–०१–००१ह ०५२८ नम्बरका टेम्पो चालक २७ वर्षका रुपलालकुमार यादव फरार छन् ।

जिल्ला प्रहरी सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले घटनाका फरार आरोपीहरुको खोजी भइरहेको बताए । ‘देवचन्द्रको केही समान सोमनीदेवीको घरबाट बरामद भएको छ भने उनीमाथि मुद्दा चलाइसकेका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully