नदी किनारमा रहेका क्रसर उद्योगहरु रातिको समयमा नदीमा २० फिट गहिराईसम्म उत्खनन् गरेको पाइएको जिल्ला अनुगमन उपसमिति संयोजक जिल्ला समन्वय अधिकारी राधेश्याम ठाकुरले बताए।
What you should know
महोत्तरी — गौशालाको मरहा नदीमा अवैध उत्खनन् गम्भीर त्रुटि भएको जिल्ला अनुगमन उपसमितिले ठहर गरेको छ ।
नदी किनारमा रहेका क्रसर उद्योगहरु रातिको समयमा २० फिट गहिराईसम्म उत्खनन् गरी बालुवाले छोपेर लुकाउन खोजेको र दर्जनौं स्थानमा १० फिट भन्दा गहिरो खाल्डो अझै फेला परेको जिल्ला अनुगमन उपसमितिका संयोजक जिल्ला समन्वय अधिकारी राधेश्याम ठाकुरले बताए।
'रातिको समयमा नदीमा चरम दोहन गरी राजश्व चुहावट हुनुको साथै मापदण्ड विपरीत नदी उत्खनन् हुँदा पनि स्थानीय तहबाट अनुगमन नहुनु गम्भीर त्रुटि हो,' जिल्ला समन्वय अधिकारी ठाकुरले भने,‘मरहा नदीमा क्रसर उद्योगले जताततै जथाभावी उत्खनन् गरेको छ । प्राविधिकहरुले नापजाँच गरी उत्खनन् भएको क्षेत्रफल र परिमाण निकाल्ने छ । खोलामा तहसनहस हुँदा पनि कुनै निकायले थाहा नपाउनु दुखद हो ।’
प्राविधिकहरुको सुझावसहित तयार हुने अनुगमन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कानुनी कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए। खोला उत्खननका लागि गौशाला नगरपालिकाले ठेक्का नलगाएको र उत्खननका लागि तोकिएको मापदण्ड विपरीत नदी किनारमै अवैध स्टक राखिएको ठाकुरले बताए ।
मरहा नदीमा नियमित रुपमा अवैध उत्खनन् भएको गुनासो आएपछि अनुसन्धान अगाडि बढाउन अनुगमन गरिएको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु महतोले बताइन् ।
क्रसर उद्योगहरुले रातिको समयमा नदीमा टिपर नै डुब्ने खाल्डो बनाएर अवैध उत्खनन् गरिरहेको समाचार कान्तिपुरमा प्रकाशित भएपछि जिल्ला अनुगमन उपसमिति र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरुले नदी अनुगमन गरेका हुन् ।
नदीको बीचमा खाल्डोमै टिपर लुकाएर जेसीबीले उत्खनन् गरी नदीजन्य पदार्थको चोरी निकासी भइरहेको थियो। नदीबाट खनेर किनारमै रहेको क्रसरमा स्टक गरेपछि अवैध उत्खनन् वैध बनिरहेको छ।
मरहा नदी किनारमा रहेको क्रसर उद्योगहरुले जनप्रतिनिधि र सुरक्षा निकाय प्रमुखलाई प्रलोभनमा पारेर रातिको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन् गरिरहेको स्थानीयको आरोप छ । नदीमा गहिरो खाल्डो खनेर क्रसर उद्योगहरुले आसपासको बस्तीलाई क्षति पुर्याउने गरी कानुन विपरीत उत्खनन् गरेकोले कारवाही प्रक्रिया अगाडी बढाइने ठाकुरले बताए।
मरहा नदीमा रातिको समयमा अवैध रुपमा जनज्योति बालुवा गिट्टी प्रशोधन उधोग, जय माँ दुर्गा बालुवा गिट्टी प्रशोधन उद्योग, जय माँ जलपा बालुवा गिट्टी प्रशोधन उद्योग, शुभ लक्ष्मी बालुवा गिट्टी प्रशोधन उद्योग, सिद्धार्थ क्रसर उद्योग, एभरेष्ट बालुवा गिट्टी प्रशोधन उद्योग र जय हनुमान बालुवा गिट्टी प्रशोधन उद्योगले राजश्व छलेर अवैध उत्खनन् गरेको पाइएको छ ।
जनज्योति बालुवा गिट्टी प्रशोधन उद्योगले क्रसरनजिकै २० फिट गहिरो खाल्डो खनेर २ हजार भन्दा बढी टिपरमा नदीजन्य पदार्थ उत्खनन् गरेको अनुगमनमा आएका प्राविधिकहरुले बताए ।
