ठेक्का नै नलागेको खोलामा क्रसर सञ्चालकहरु रातिको समयमा १० फिट भन्दा गहिरो खाल्डो बनाएर नदीजन्य पदार्थको अवैध उत्खनन् गरिरहेका छन्।
What you should know
महोत्तरी — गौशालास्थित मरहा नदीमा नगरपालिकाकै संरक्षणमा अवैध उत्खनन् मौलाएको छ ।
नदी उत्खननको लागि स्थानीय तहले ठेक्का लगाउने व्यवस्था छ। तर ठेक्का नै नलागेको खोलामा क्रसर सञ्चालकहरु रातिको समयमा १० फिट भन्दा गहिरो खाल्डो बनाएर नदीजन्य पदार्थको अवैध उत्खनन् गरिरहेको पाइएको छ। सुरक्षा निकाय, राजनीति दलहरु निर्वाचनको तयारीमा व्यस्त हुँदा क्रसर सञ्चालक रातभरि प्राकृतिक स्रोतको दोहनमा लागेका छन् । क्रसर उद्योगहरुले नदीमा टिपर नै डुब्ने आकारका खाल्डा बनाएका छन्। नदीको बीचमा खाल्डोमै टिपर राखेर जेसीबीले उत्खनन् गरी नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ।
नदीबाट खनेर किनारमै रहेको क्रसरमा स्टक गरेपछि अवैध उत्खनन् गरिएका नदीजन्य वस्तु वैध बनिरहेका छन् । मरहा नदी किनारमा रहेको क्रसर उद्योगहरुले जनप्रतिनिधि र सुरक्षा निकाय प्रमुखलाई आर्थिक प्रलोभनमा पारेर रातिको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन् गरिरहेको स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार क्रसर सञ्चालकहरुले गौशाला नगरपालिकाका जनप्रतिनिधिलाई प्रलोभनमा पारेर सोमबार रातभरि उत्खनन् गरेको हो । 'एक महिनादेखि नदीजन्य पदार्थ खनेर समस्याउँदा खाल्डो देखिँदैन थियो,' एक स्थानीयले भने, ‘साेमबार राति त १० वटा खन्ने यन्त्र र ५० भन्दा बढी टिपरले नदीजन्य पदार्थ ढुवानी गरेको छ । दिउँसोको समयमा बाटो भएर आवतजावत हुने खोलामा क्रसर सञ्चालकहरुले राती उत्खनन गरिरहेका छन् ।’ अवैध उत्खनन् भएको देख्दादेख्दै पनि डरले बोल्न नसकेको ती स्थानीयले बताए।
अवैध उत्खननबारे बोल्नेलाई क्रसर सञ्चालकले धाकधम्की, कुटपिट र स्थानीय तहका जनप्रतिनिधिले प्रलोभनमा पर्ने भएकोले कसैले दोहनको विरोध गर्न सकेको छैन । खोलासँगै जोडिएको गौशाला बजारमा इलाका प्रहरी, उत्खननस्थल भन्दा ३ किलोमिटर दुरीमा सशस्त्र प्रहरी र नजिकै गौशाला नगरपालिकाको कार्यालय रहेको छ । तर, रातभरि अवैध उत्खनन् भए पनि रोक्ने निकायले उत्खननको सूचना दिउँसो मात्रै पाउने गरेको छ ।
एक क्रसर सञ्चालकले भने,‘मरहा नदीमा चार वटा क्रसरले मात्रै उत्खनन् गरिरहेको छ । नगरप्रमुख डा.दिपेन्द्र महतोले आफु निकटका क्रसर संचालकलाई अवैध उत्खननकालागि छुट दिएको छ ।’
रातिको समयमा उत्खनन् भएपछि आर्थिक लेनदेन भएको आरोप लाग्नु स्वभाविक भएको गौशाला नगरपालिकाका प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले बताए । 'आरोप लाग्छ तर प्रमाणित गर्ने अधारहरु छैन,' प्रशासकीय अधिकृत अधिकारीले भने,‘लेदनदेन भएको प्रमाण भेटिए नगरपालिकाले कारवाही प्रक्रिया अगाडि बढाउँछ । मरहा नदीमा भइरहेको अबैध उत्खननमा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको कुनै संलग्नता छैन ।' नदी उत्खननको ठेक्का लगाउने प्रक्रिया अगाडी बढ्न नसकेको उनले बताए।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाले अवैध उत्खननमा संलग्नलाई कारवाही गरेको र रातिको समयमा लुकेर खन्ने गरेको सूचना आउनसाथ प्रहरी पुग्दा भाग्ने गरेको बताए । महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उत्खननबारे जानकारी आएको र तत्काल छानबिन अगाडि बढाइने बताए ।
