सुकुम्बासी ठगीमा मुछिएका कांग्रेसका सिरहा सभापति भन्छन्- 'मैले कमबेसी गरेर मिलाउन भनेको हुँ'

३-४ जना आफूकहाँ आएको र कमबेसी गरेर मिलाउन भने सभापति यादवले स्वीकार गरेका छन् ।

माघ ३, २०८२

विनय आजाद

Congress' Siraha president involved in landless squatter fraud says - 'I asked him to settle the matter by doing a compromise'

What you should know

काठमाडौँ — सिरहामा जग्गा र लालपुर्जा दिलाइदिने नाममा सुकुम्बासीसँग भएको ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवले आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

कान्तिपुरसँगको कुराकानीका क्रममा उनले आफ्नो संलग्नता पुष्टि हुने अभिव्यक्ति दिएका छन् । धनगढीमाई नगरपालिका-९, मुसहर्नियाँका ६७ वर्षीय भुट्टा यादवसँग जग्गाको लालपुर्जा दिलाइदिने भन्दै सभापति यादवले जिरोमाइलस्थित आफ्नो घरमै भूमि समस्या समाधान आयोग, सिरहाका अध्यक्षको उपस्थितिमै २०८० असोजमा दुई लाख रुपैयाँ लिई ठगी गरेको विषय कान्तिपुरले उजागर गरेको थियो ।

दुई वर्षभन्दा बढी हुँदा पनि लालपुर्जा नपाएका भुट्टाले पैसा फिर्ता माग्दै सभापति यादवलाई गरेको फोन संवाद सार्वजनिक भएको थियो । उनले भुट्टा आफूकहाँ आएको र कमबेसी गरेर कुरा मिलाउन भनेको बताएका छन् ।

'उहाँहरू ३-४ जना मकहाँ आउनुभएको थियो, मैले कमबेसी गरेर मिलाउन भनेको हुँ,' सभापति यादवले भने । 

यस समाचार सार्वजनिक भएपछि ठगीमा परेका पीडितको घरमा अपरिचित व्यक्तिहरू जाने र धम्क्याउने काम गरिरहेको पनि पाइएको छ । अपरिचित व्यक्तिहरू आएर सभापतिले पैसा लिएको छैन भनेर भिडियोमा बोल्न भन्ने र नमान्दा धम्की दिने गरेको पीडित भुट्टाले बताए ।

भुट्टासँगै कर्जन्हा नगरपालिका-१ रतनपुरमा २२ परिवार यसरी ठगीमा परेका थिए । यहाँका सुकुम्बासी परिवारसँग आयोगका अध्यक्ष यादव, मालपोतका कर्मचारी राजकुमार राय, वडाध्यक्ष फणीन्द्र पोखरेल र स्थानीय यादवप्रसाद सुवेदीले प्रतिकठ्ठा २० हजारका दरले करिब २७ लाख रकम असुली गरेका हुन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully