पदभार ग्रहण गर्दै मधेशका सभामुखले भने- 'मतभेद स्वाभाविक, सहकार्य अपरिहार्य'

सभामुख यादवले प्रदेशसभालाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

पुस ७, २०८२

रासस

Taking office, the Speaker of Madhesh said - 'Disagreements are natural, cooperation is inevitable'

महेन्द्रनगर (धनुषा) — मधेश प्रदेशसभाका नवनियुक्त सभामुख रामअशिष यादवले आज पदभार ग्रहण गरेका छन् ।

जनकपुरधामस्थित प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताए । सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिने समेत बताएका छन् । 'मतभेद स्वाभाविक हो । तर, सहकार्य अपरिहार्य छ,' उनले भने, 'प्रदेशको हितका लागि सबै दलसँग समन्वय गर्दै अघि बढ्नेछु ।'

मधेशका मुद्दा समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्यको पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने उनले बताए । प्रदेशसभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तरमा सुधारका विषयमा संसद् सशक्त हुनुपर्ने विचार व्यक्त गरे ।

 सभामुख यादवले प्रदेशसभालाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे  । 'सभामुखको कुर्सी राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि हुन्छ, संविधान, कानुन र संसदीय नियमावलीको पूर्ण पालना गराउँदै सभालाई जनउत्तरदायी बनाउने मेरो दायित्व रहनेछ,' उनले भने ।

रासस

Link copied successfully