२०५५ सालमा तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या भएको थियो ।
What you should know
राजविराज — सप्तरीको राजगढ गाउँपालिकामा भएको हत्याका एक जना अभियुक्त अदालतमा हाजिर भएका छन् । गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलसहित सात जना अभियुक्तमध्ये तत्कालीन बेल्ही चपेना गाविस–३ (हाल राजगढ–४) का रामनारायण मण्डल बुधबार सप्तरी जिल्ला अदालतमा भएका हुन् ।
दिउँसो हाजिर भएका उनको न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासमा बयान गर्दागर्दै समय सकिएको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले बताए । ‘बयानपछि थुनछेक बहस हुन्छ,’ उनले भने, ‘अभियुक्त मण्डललाई प्रहरी हिरासत पठाएका छौं ।’
३ साउन २०५५ मा तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या भएको थियो । उक्त मुद्दामा १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी रहँदा पनि अभियुक्तमध्येका ओमप्रकाश ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको झन्डै १० महिनापछि १४ फागुन ०७९ मा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले उक्त मुद्दा मुलतबीमा राखिएको थियो ।
उक्त मुद्दाका अभियुक्त रामनारायण अदालतमा हाजिर भएपनि अध्यक्ष राजगढ–४ कै ओमप्रकाशसहित उनका बुबा तत्कालीन बेल्ही चपेना गाविसका अध्यक्ष गंगाराम मण्डल, त्यही ठाउँका रामदेव सदा मुसहर, मनिक शर्मा, बौकाई भनिने बच्चा यादव र भोलिचन सदा मुसहर अझै फरार छन् । अभियोगपत्रअनुसार अध्यक्ष ओमप्रकाशकै बुबा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमान्दा विवाद भएको थियो ।
