वडाध्यक्षलाई कार्यवाहक दिएर अध्यक्ष फरार, अदालतको आदेशपछि उपाध्यक्ष बनिन् कार्यवाहक

तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या घटनाका अभियुक्त अध्यक्ष ओमप्रकाश मण्डलले वडाध्यक्षलाई कार्यवाहक दिएर फरार बनेपछि उनी अदालत पुगेकी थिइन् ।

मंसिर २९, २०८२

विद्यानन्द राम

Ward chairperson absconded after appointing acting chairperson, acting vice-chairperson becomes acting chairperson after court order

What you should know

राजविराज — उच्च अदालत जनकपुर, राजविराज इजलासको आदेशपछि सप्तरीको राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी छन् । तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या घटनाका अभियुक्त अध्यक्ष ओमप्रकाश मण्डलले वडाध्यक्षलाई कार्यवाहक दिएर फरार बनेपछि उनी अदालत पुगेकी थिइन् ।

अदालतका न्यायाधीश उज्ज्वल शुक्लको एकल इजलासमा आइतबार भएको सुनुवाइमा वडाध्यक्षलाई दिइएको पत्रलाई गैरकानुनी ठहर गर्दै उनलाई कार्यवाहक अध्यक्षको रूपमा काम गर्न अन्तरिम आदेश जारी भएको हो ।

गाउँपालिका अध्यक्ष मण्डलले गत कार्तिक १७ मा वडा नम्बर ४ का अध्यक्ष अशोककुमार साहलाई मंसिर १९ बाट लागू हुने गरी कार्यवाहकको पत्र दिएर फरार छन् । उपाध्यक्षले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६(४) को खण्ड ख (२) मा कानुनी व्यवस्था भएकोमा अध्यक्षले दफा १८(२) उल्लेख गरी वडाध्यक्षलाई दिएको पत्र बदर र अध्यक्ष अनुपस्थित रहँदा आफूले कार्यवाहकको जिम्मेवारी पाउनुपर्ने भनी गाउँपालिकालाई विपक्षी बनाई अन्तरिम आदेशको माग गरेकी थिइन् ।

अदालतबाट पनि सो पत्रले कानुन उल्लङ्घन भएको ठहर गर्दै सोही ऐनको दफा १६ को उपदफा (४) को खण्ड ख(२) समेत बमोजिमको जिम्मेवारी वहन गर्ने कार्यमा कुनै बाधा अवरोध गर्नु, नगराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी भएको हो।

३ साउन २०५५ मा भएको हत्या मुद्दा चलिरहँदा अदालतबाट जारी भएको म्यादभित्र मण्डलसहितका ७ जना अभियुक्त हाजिर नहुँदा र प्रहरीले पनि पक्राउ नगर्दा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा सो मुद्दा मुलतबीमा राखेको थियो ।

१५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी हुँदा पनि उनी ३० वैशाख ०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको झन्डै १० महिनापछि मुद्दा मुलतबी भएको हो ।

अध्यक्ष मण्डलसहित उनका बुवा तत्कालीन बेल्ही चपेना गाविसका अध्यक्ष गंगाराम मण्डल, रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बौकाई भनिने बच्चा यादव र भोलिचन सदा मुसहरले मिलेर पुजारी बैरागीको हत्या गरेको अभियोग पत्रमा छ । पत्रअनुसार मण्डलका बुवा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेको विवादले हत्या भएको हो ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully