२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको १७ घण्टा बितिसकेको छ।
काठमाडौँ — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको १७ घण्टा बितिसकेको छ। तर मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी पत्र मधेश प्रदेशसभामा अझै पठाएका छैनन्।
प्रदेशसभा सञ्चालन नियामावलीमा २४ घण्टाअगावै विश्वासको मत लिने सम्बन्धी पत्र प्रदेशसभामा पठाउनुपर्ने प्रावधान छ। सर्वोच्च अदालतले राति ८:३० बजे प्रदेश प्रमुखको कार्यालय जनकपुरधाम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मधेश प्रदेशसभालाई पत्र पठाएको उप–सभामुख बबिता राउत ईशरले जानकारी दिइन्।
नेकपा एमालेकी प्रदेशसभा सदस्य सारदा देवी थापाले विश्वासको मतको विषयमा प्रदेशस्तरमा कुनै तयारी वा छलफल नभएको बताइन्। उनका अनुसार पार्टी केन्द्रीय स्तरमा नेपाली कांग्रेस र जनमत पार्टीसँग विश्वासको मत लिने विषयमा तयारी भएको थियो। त्यसपछिको अपडेट नआएको उनको भनाइ छ।
नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मुख्यमन्त्री आफैँ विश्वासको मत लिने तयारी गरिरहेको बारे आफूलाई जानकारी नभएको बताए।
(*यसअघिको शीर्षकमा अन्यथा भएकाले क्षमाप्रार्थीसहित सच्याइएको छ। -सम्पादक)
सम्बन्धित समाचार
२४ घण्टाभित्र विश्वासको मत लिन मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको परमादेश
