राजनीतिक द्वन्द्वले अशान्त छ मधेश ।
What you should know
जनकपुरधाम — सात दिनदेखि मधेशको राजनीति तातिएको छ । पल–पलमा नयाँ घटनाक्रम विकास भइरहेका छन् । जसका कारण मधेश सरकारको सम्पूर्ण कामकाज ठप्प छ । मन्त्रालयका कर्मचारी नै कार्यालय जान छोडिसकेका छन् ।
दलहरूबीच बढ्दै गइरहेको द्वन्द्व, सर्वोच्चमा परेको मुद्दा र मधेशको राजनीतिक घटनाक्रमले मधेशका जनतामा अन्योल र उत्सुकता सिर्जना गर्दै गइरहेको छ । हेर्नुहोस्, यही सन्दर्भमा कार्तिक २२ गतेदेखि मधेशमा कुन दिन के भयो ?
कात्तिक २२
मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) विश्वासको मत लिन मधेश प्रदेश सभा पुगेका थिए । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची मात्रै राख्ने सहमति गरेको थियो । सबै दलले बैठक बसेर सोनल नेतृत्वको सरकारलाई मत दिने/नदिने तय गरिसकेका थिए । नेकपा एमाले र नेपाली कांग्रेसले मत नदिने दलको बैठकबाट निर्णय गराएका थिए । राप्रापा र नेपाल संघीय समाजवादीका सांसदहरू सो दिन बैठकमा अनुपस्थित थिए । बाँकी ६ दलले सोनल नेतृत्वको सरकारलाई मत दिने दलको बैठकबाट निर्णय गरेका थिए । सोनललाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले दलको बैठक बसी मत दिने निर्णय गरेका थिए । दलको बैठकमा मत दिने दलबाट कुनै पनि सांसदले आपत्ती वा असहमति जनाएका थिएनन् । सो दिन १ बजे बोलाइएको बैठक करिव डेढ घण्टा ढिलो सुरु भएको थियो ।
बैठक सुरु भएपछि सोनलले मधेश प्रदेश सभामा विश्वासको मत प्रस्ताव गरे । सबै दल र सांसदसँग मत मागे । संघीयता जोगाउन र संघीयताप्रति सकारात्मक सन्देश दिन एकढिक्का भएर मत दिन उनले सबैलाई आग्रह गरे । सोही निर्णय अनुसार सोनललाई ती दलका नेताहरूले रोस्टमबाट मत दिने घोषणा गरेका थिए भने कांग्रेस र एमालेका सांसदले मत नदिने बताएका थिए । दलका नेताहरूले बोलिसकेपछि नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले उठेर बोल्न संकेत गरे । सभामुख रामचन्द्र मण्डलले बसेकै स्थानबाट बोल्न अनुमति दिए । तर, सांसद अन्सारीले रोष्टमबाट बोल्न अनुरोध गरेपछि सभामुख मण्डलले तीन मिनेटभित्र आफ्नो कुरा राख्न अनुमति दिए । यो कुरा कार्यसूचीमा थिएन ।
सांसद अन्सारीले सांसद र नेताहरूको धरातल सकिसकेको भन्दै कुनै पनि सरकारलाई मत नदिने घोषणा गरे । र, आफ्नै अनुहारमा मोसो लगाएर नेताहरूको विरोध गरे । त्यसलगत्तै माओवादीकै सांसद मला कर्णले अन्सारीको कुरामा सहमति जनाइन् । त्यसपछि मुख्यमन्त्री सोनलले सरकारमाथि उठेको प्रश्नको जवाफ दिन पुगे । उनले पुनः सबै सांसदलाई दलको निर्णय अनुसार मत दिन आग्रह गर्दै केही समय बैठक स्थगित गर्दिन आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका नेता भरतप्रसाद साहले पनि कार्यसूचीभन्दा बाहिर गएर बोल्न दिएको भन्दै आपत्ति जनाएर बैठक ३० मिनेटका लागि स्थगित गर्न माग गरे । तर, सभामुख बैठक सञ्चालन नै राख्ने तरखरमा देखिए । त्यसपछि सरकार पक्षका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिर निस्किए । सरकार पक्ष बाहिर गएपछि सभामुख मण्डलले दश मिनेटका लागि बैठक स्थगित गरे । बैठक स्थगित भएपछि रुष्ट भएका अन्सारी र कर्णलाई मनाउने प्रयास भइरहेको थियो । दुवै जनालाई शीर्ष नेताहरूको पनि फोन आइरहेको थियो । अन्तिमतिर कर्णले मतदान गर्न सहमति जनाए पनि अन्सारीले भने मानेनन् । केही सांसदले भने सभामुख मण्डललाई बैठक स्थगित गर्दिन अनुरोध गरिरहेका थिए । तर, सभामुखले त्यसो गर्न नमिल्ने बता ।
१० मिनेटका लागि स्थगित भएको बैठक करिव एक घण्टापछि पुनः सुरु भयो । तर, उक्त समय सत्तापक्षबाट सांसदहरू बैठक कक्षमा पुगेका थिएनन् । सभामुखले बेल घण्टी बजाएर ढोका बन्द गर्ने निर्देशन दिएपछि लोसपाका सांसदहरू आएर सरकार पक्ष नभएपछि बैठक सञ्चालन नगर्न अनुरोध गरे । तर, सभामुख मत विभाजन प्रक्रियामा जानुपर्ने भन्दै तीन मिनेटभित्र आउन अनुरोध गरे ।
लगत्तै मुख्यमन्त्री सोनलले विश्वासको मत लिने वातावरण नरहेको भन्दै राजीनामा दिए र सबै परिस्थितिको जिम्मेवार सभामुख भएको बताए । प्रदेशसभाबाहिर ६ दलका नेता–कार्यकर्ताले सभामुख मण्डलविरुद्ध नाराबाजी समेत गरेका थिए । मधेश प्रदेश सभाबाट आएर सोनलले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले तुरुन्तै स्वीकृत गरिन् ।
कात्तिक २३
प्रदेश प्रमुख बिहानैदेखि सबै दलसँग छुट्टाछुट्टै छलफलमा जुटेकी थिइन् । सो दिन दिउँसोसम्म कांग्रेस तटस्थ थियो । एमाले संविधानको धारा १६८ को उपधारा (२) खारेज भइसकेको र अर्को धारा अनुसार सरकार बनाउने अडानमा थियो । यता ६ दल भने सो धारा जीवित नै रहेको र सोही अनुसार नयाँ सरकार गठनका लागि आह्वान हुनुपर्ने बताइरहेका थिए । दिनभरि मधेश भवनभित्र मुख्यमन्त्रीको निवास र छेउमै रहेको प्रदेश प्रमुखको कार्यालयमा भीड भइरह्यो ।
यता ६ दलका नेता कांग्रेसलाई तान्ने प्रयास गरिरहेका थिए । दिउँसो ३ बजेतिर कांग्रेसले ६ दलसँग जाने सहमति गर्यो । त्यसपछि नेपाली कांग्रेससहित सात दलका नेताहरूले प्रदेश प्रमुखलाई भेटेर संविधानको धारा १६८ को उपधारा २ जीवित नै रहेको हुनाले सोही धारा आकर्षित गरी नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरे ।
प्रदेश प्रमुखले संविधानअनुसार नै जाने वचन दिएकी थिइन् । तर, राति ८ बजे यी सात दलले खबर पाए, ‘प्रदेश प्रमुखले संसदको सबैभन्दा ठूलो दलको हैसियतले एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ खुवाएर काठमाडौंतर्फ जाने तरखर गर्न लागिन् ।’
त्यसपछि पुनः सातै दलका नेता प्रदेश प्रमुखसँग भेटघाट गर्न गए । र, यी दलका नेता तथा कार्यकर्ता प्रदेश प्रमुखको कार्यालयवरिपरि निगरानी गरिराखे । राति १० बजे सातै दलले लिखित रूपमा प्रदेश प्रमुखसमक्ष अनुरोध गरेर एक विज्ञप्ती जारी गरे । विज्ञप्तीमा धारा १६८ को उपधारा २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरिनुपर्ने उल्लेख गरिएको थियो । राति ३ बजे प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सोनललाई फोन गरेर भेटघाट गर्न बोलाइन् । र, बिरामी भएको हुनाले काठमाडौं जान लागेको बताइन् ।
दमको बिरामी भएको प्रदेश प्रमुखले सोनलसमक्ष बताएकी थिइन् । तर, प्रदेश प्रमुख बर्दिबासको पानस होटलमा नेकपा एमालेका नेता सरोजकुमार यादवलाई नियुक्त गरी शपथ खुवाएकी थिइन् । यादवसँगै उनकै पार्टीका लखन दास तत्मा र नेपाल संघीय समाजवादीकी विमला अन्सारीले मन्त्री पदको शपथ ग्रहण गरेका थिए ।
कात्तिक २४
सात दलका नेताहरू भने मधेश भवनस्थित मुख्यमन्त्री निवासमा एकजुट हुँदै थिए । भेटघाट गरी अगामी रणनीतिबारे छलफल गर्दै थिए । विहान ९ बजे सातै दलका नेता छलफलमा बसे । छलफलमा भएकै समय नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव मधेश भवनमा पदभार ग्रहण गर्न आउन लागेको खबर पाए । छलफल छोडेर नेता तथा समर्थकहरू दुवै गेटमा पुगे । मधेश भवनको गेटबाहिर भने सात दल समर्थित नेता–कार्यकर्ता टायर बालेर प्रदर्शन गरिरहेका थिए ।
मधेश भवनको कवर्ड हलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको भीडले तोडफोड गर्दै कर्मचारीलाई बाहिर जान लगायो । त्यो समय कार्यालयमा तीन जना कर्मचारी मात्रै थिए । एक जना ताला खोज्दै थिए भने अर्का कर्मचारी रेकर्ड फाइल जोगाउन केही सामान स्याहार्दै थिए । तिनै कर्मचारीलाई लोसपाका नेता तथा पूर्वसांसद परमेश्वर साहले कुटपिट गर्न थाले । उनीसँगै अन्य व्यक्तिले पनि ती कर्मचारीलाई कुटपिट गरे । कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र सिंह तोडफोड गर्दै थिए । उनले राष्ट्रिय झण्डासहित केही सामान बजारेका थिए । लोसपाका सांसद उपेन्द्र महतोले भने तोडफोड नगर्न रोकिरहेका थिए । सांसद सिंहले झारेको झण्डा पनि महतोले तुरुन्तै उठाएका थिए । पछि भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि सांसद सिंहले माफीसहितको भिडियो जारी गर्दै झण्डा सम्मानपूर्वक राखेको भिडियो जारी गरेका थिए ।
त्यसपछि प्रदेश प्रमुखको कार्यालय अगाडि प्रदर्शन भयो । प्रदेश प्रमुखको ‘नेम प्लेट’ फुटाउँदै नाराबाजी सुरु भएको थियो । प्रदर्शनमा सांसदहरूको पनि उपस्थिति थियो । जसपाकी सांसद ललिता दासले प्रदेश प्रमुखको कार्यालयअगाडि राखिएको गमला र कलश ढोकामा बजारेकी थिइन् । अन्य प्रदर्शनकारी भने प्रदेश प्रमुखका विरुद्धमा नाराबाजी गर्दै थिए । कार्यालयभित्र भने नेपाली सेना मुकदर्शक बनेको थियो ।
सात दलका नेताहरू भने नेपाली कागजमा मधेश भवनमै सांसदहरू बोलाएर हस्ताक्षर सकंलन गर्दै थिए । त्यसअघि नै नेताहरूले मुख्यमन्त्रीको नियुक्तिविरुद्ध कानुनी बाटो अपनाउने निर्णय गरिसकेका थिए । त्यसपछि भीड शान्त भएको थियो । र, नवनियुक्त मुख्यमन्त्री यादवलाई मधेश भवन आउन नदिने र अन्य खबरबारे भलाकुसारी गर्दै थिए । दिउँसो रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई सर्वोच्च अदालतमा रिट दिए ।
कार्तिक २५
मंगलबार ‘मर्निङ वाक’ गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मधेश भवन पुगेका थिए । एक दर्जन व्यक्तिको समूहमा पुगेका मुख्यमन्त्रीले मधेश भवनको दुई नम्बर गेटमा रहेका सुरक्षाकर्मीसँग असन्तुष्टि व्यक्त गरेका थिए । सोमबार मधेश भवनभित्र सार्वजनिक सम्पत्ति जोगाउन प्रहरी चुकेको भन्दै उनले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिए ।
‘तपाईंहरू राष्ट्रसेवक, राष्ट्रको प्रतिनिधि, अब तपाईंहरूले राष्ट्रियता सुरक्षित नगरे कसले गर्छ ?,’ उनले सुरक्षाकर्मीलाई प्रश्न गर्दै भनेका थिए, ‘राष्ट्रिय अखण्डता, राष्ट्रिय झण्डा, राष्ट्रिय सार्वभौम सत्तामाथि आक्रमण हुँदाखेरी न्यायका लागि को हुन्छ भन्दाखेरी देशको प्रहरी हुन्छ । तर, हिजो राष्ट्रिय झण्डा फाल्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिन सकेनौं । १५/२० जनाको समूहलाई प्रहरीले रोक्न नसक्ने ? फेरि यहाँ हजारौं प्रहरी छन् । सधैंभरि विध्वंश हुन दिने ? सम्पत्तिको संरक्षण गर्न तपाईंहरूको कडा पहल होस् है ।’ त्यसपछि मुख्यमन्त्री यादवले मधेश भवनभित्रको मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय निरीक्षण गरेका थिए ।
मुख्यमन्त्रीले निरीक्षण सकेलगत्तै सात दलका नेताहरूले पनि खबर पाइसकेका थिए । उनका नेता तथा सांसदहरू पनि उपस्थित हुने तरखरमा थिए । सात दलका प्रतिनिधि भने सर्वोच्च अदालतमा रिट दिन निस्किसकेका थिए । सात दलका नेताहरू मधेश भवन पुग्दा प्रवेश निषेध भएको खबर पाएका थिए । सुरक्षाकर्मीले प्रदेश सभा सदस्य बाहेक सबैलाई गेटमै रोकेका थिए । त्यसपछि सात दलका सांसदहरूले मुख्यमन्त्रीलाई मधेश भवनभित्र पदभार ग्रहण गर्न नदिने तयारी थाले । र, मधेश भवनको छेउमा रहेको पूर्व–पश्चिम बाटो जाम गरे । दुई नम्बर गेटअगाडि सडक जाम हुने गरी सातै दलका सांसद धर्नामा बसे । पछि बेन्च नै लगाएर पनि बसे र सांसद, नेता/कार्यकर्ताको आउने जाने क्रम जारी रह्यो । धर्नाका पछाडि भने टायर बालेर प्रदर्शन भइरहेको थियो ।
प्रदर्शनकारीले भने मुख्यमन्त्री यादवको विरुद्धमा नाराबाजी गरिरहेका थिए । त्यही समय यता मुख्यमन्त्री यादवले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी स्टार होटलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा उनले नियुक्ति संविधानअनुसार नै भएको र शपथ ग्रहण गराउन प्रदेश प्रमुखलाई दबाब दिएको बताएका थिए । यी बाहेक दिनभरि मुख्यमन्त्री यादव भेटघाट र पत्रकारलाई अन्तर्वार्ता दिइरहेका थिए । मधेश भवनभित्रको खबर पनि लिइरहेका थिए । कर्मचारीलाई पदभारग्रहणको व्यवस्था मिलाउन बताइरहेका थिए । सात दलको प्रदर्शन भने पातलिँदै थियो ।
त्यसपछि साँझ पुनः मधेश भवनअगाडिको प्रदर्शनमा भीड बढिरहेको थियो । सर्वोच्च अदालतको आदेश आएपछि सात दलका समर्थकहरू खुसीयाली मनाइरहेका थिए । मधेश भवनभित्रबाट सोनल, जसपाका प्रमुख सचेतक रामअशिष यादव सहितका सांसदहरू बाहिर आएपछि कार्यकर्ताको उत्साह उत्कर्षमा पुगेको थियो । भीडको हल्ला र नाराबाजी रोक्न भने सोनलसहित सांसदले अनुरोध गरिरहेका थिए । करिब पाँच मिनेटपछि प्रदर्शनकारीहरू शान्त भएपछि सोनलले माइक समात्दै उत्साहपूर्ण तरिकाले खबर सुनाउँदै अदालतसहित सबैलाई धन्यवाद दिए । सोनलसहित सात दलका प्रतिनिधि मधेश भवनको छेउमा रहेको पूर्व–पश्चिमतर्फको बाटो जाम गरी प्रदर्शन गरिरहेका थिए भने त्यही समय मुख्यमन्त्री यादवले दक्षिणतर्फ रहेको सशस्त्र ब्यारेकको बाटोबाट प्रवेश गरेर पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने सहिद परिवारलाई नगदसहित मधेश विभूषणबाट सम्मान गर्ने निर्णय गरेका थिए ।
यता खुसीयाली मनाइरहेका प्रदर्शनकारीहरू पदभार ग्रहण गरेको खबर पाएपछि चर्को नाराबाजीमा उत्रेका थिए । भीडलाई नियन्त्रणमा लिन र तितरवितर पार्न प्रहरीले लाठीचार्ज गरेका थिए । प्रहरीको लाठीचार्जबाट आक्रोशित भएको भीड रेलवे लिकबाट ढुंगा ल्याएर प्रहरी भएको तर्फ फ्याँकिरहेका थिए । प्रहरीले गरेको लाठीचार्जमा परी करिब एक दर्जन प्रदर्शनकारी घाइते भएका थिए ।
कार्तिक २६
मधेशका सात दलले बुधबार बिहानदेखि मधेश भवनको २ नम्बर गेटमा शान्तिपूर्ण धर्ना सुरु गरेका थिए। दलका नेता तथा कार्यकर्ता क्रमशः आन्दोलनमा सहभागी हुँदै आएका थिए ।
सातै दलले मंगलबार राति प्रहरी दमनको विरोधमा विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए।
कात्तिक २७
दिउँसो प्रदेश प्रमुख पदभार ग्रहण गर्न जनकुरधाम आएका थिए । उनी आएकै दिन मुख्यमन्त्री पनि काठमाडौंबाट जनकपुरधाम आएका थिए । र, शक्ति प्रदर्शन गरेर मधेश भवन पुगेका थिए । पछि सात दलका नेता तथा कार्यकर्ताले पनि मोटरसाइकल र्याली गरेका थिए । सोही दिन सात दलका ६४ जनाको हस्ताक्षरसहित सभामुख रामचन्द्र मण्डलमाथि आचरण अनुकूल काम नगरेको पत्र लिएर पुगेका थिए । प्रदेश सभा सचिवालयले उक्त पत्र दर्ता गर्न आलटाल गरेको थियो ।
त्यसपछि उपसभामुखले त्यसमा तोक लगाएर दर्ता गर्न आदेश दिएका थिए । साँझ सभामुख मण्डल मधेश प्रदेश सभा पुगेका थिए । उक्त समय मधेश प्रदेश सभाको लाइन काटिएको थियो । केही सांसदहरूले सभामुखले दुर्व्यवहार गरेको आरोप लगाएका थिए । सोही दिन सभामुख मण्डलले नागरिक उन्मुक्तिकी उर्मिला अन्सारीसहित जसपाका चार जना सांसदलाई पदमुक्त गरे । लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै पदमुक्त गरिएको सूचनामा उल्लेख गरिएको थियो ।
कार्तिक २८ गते
उर्मिला सिंह र संजय यादवले सबै जनाको हाजिरीको प्रमाणित प्रतिलिपि माग गर्दै मधेश प्रदेशसभामा निवेदन दिए । चार घण्टा कुराएर पनि उनीहरूलाई हाजिरी दिइएको थिइन । त्यसपछि पदमुक्त भएको ५ जनाको सूचना राजपत्रमा प्रकाशित गरिएको थियो । सात दलले एक विज्ञप्ती जारी गर्दै सभामुखले मधेश प्रदेशलाई मुठभेडमा लगिरहेको आरोप लगाएका थिए ।
