आइतबार साँझ रस्याउ रोटी खाएका व्रतालुहरू यसैको भरमा सोमबार दिनभरि निर्जल/निराहार व्रत बस्ने गर्छन् ।
What you should know
पर्सा — विशेषगरी तराई-मधेशको महान् पर्व छठको धार्मिक विधि शनिबारबाट सुरु भएको छ । व्रतालुहरुले शनिबार ‘नहाखाय’ विधिबाट यो पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छन् ।
उनीहरुले नुहाइधुवाइ चोखोनितो गरी शरीर र मनलाई चोखो पारेपछि लौकाको तरकारी र भात खाएका छन् । व्रतालुले लौकाको तरकारीलाई सबैभन्दा चोखो तरकारीका रुपमा खाने गरेकाले यस दिन लौकाको माग अत्यधिक हुने गरेको छ । व्रतालु तथा तिनका परिवारका सदस्यले समेत छठ पर्व नसकुन्जेल मासुमाछा लगायतका तामसिक भोजन गर्दैनन् ।
शनिबार ‘नहाखाय’ विधि गर्ने व्रतालुहरुले आइतबार साँझ ‘रस्याउ रोटी’ खाने छन् । ‘खरना’ समेत भनिने यो धार्मिक विधिमा व्रतालुहरुले आआफ्नो घरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन् । रस्याउ रोटीलाई प्रसादका रुपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत निम्तो दिइन्छ । कतैबाट पनि निम्तो नपाएका तथा रस्याउ रोटी खाने अवसर नजुरेकाहरुले व्रतालुसँग मागेर यो प्रसादको रुपमा रस्याउ रोटी खाने चलन पनि छ ।
छठ पर्व मान्न संघीय राजधानी काठमाडौंबाट वीरगन्ज आइपुगेका रेशमकोठी निवासी धीरज भण्डारीले यो पर्वले सिंगो तराई मधेशमा हर्ष र उल्लास ल्याउने गरेको बताए । रोजागारी तथा शिक्षा आदि प्रयोगजनले देश विदेशका विभिन्न सहरमा रहेकाहरु पनि प्रायः यो पर्वमा घर फर्कने गरेका छन् ।
वीरगन्ज तेजारथ टोलकी व्रतालु सुभद्रा मिश्रले आइतबार साँझ रस्याउ रोटी खाएका व्रतालुहरुले यसैको भरमा सोमबार दिनभरि निर्जल/निराहार व्रत बस्ने बताइन् । ‘सोमबार साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्य घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशयमा निर्मित आकर्षक छठी घाटमा पुग्नेछन्,’ उनले भनिन्, ‘मंगलबार बिहान घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरेपछि व्रत समाप्त गरेर मात्र प्रसाद खाएर कठोर व्रत तोडिनेछ ।’
नयाँनयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले पूजा सामग्री राखिएको बाँसको छैंटी टाउकामा बोकेर घाटसम्म लग्ने चलन छ । विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् । सोमबार साँझ छठ घाटमा व्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत विभिन्न पूजा सामग्रीको अर्घ दिनेछन् । त्यसपछि उनीहरु घण्टौं घाटमा बसेर पूजा अर्चनामा लीन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन् ।
माटोको हात्तीलाई पूजा गर्ने यो विधिले व्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यसरी कोशी भर्दा परिवारका सदस्य, आफन्त, छरछिमेक पनि त्यहाँ पूजाअर्चना गर्न आइपुग्छन् । घाटमै बसेका व्रतालु भने रातभरि त्यही भजनकिर्तन गर्ने चलन रहेको छ ।
व्रतालुको घरघरमा आइतबार दिनभरि तथा साँझमा समेत यो पर्वमा चढाइने विशेष किसिमको पिठोको ठेकुवा पकाइने छ । यस काममा व्रतालु तथा तिनका परिवारका सदस्य व्यस्त रहनेछन् । यसरी प्रसाद पकाउदा अत्यन्त चोखोनितो गरी शुद्धता तथा पवित्रताको ध्यान राखिन्छ ।
रस्याउ रोटी तथा प्रसाद पकाउन प्रयोग हुने पिठोको जोहो गर्न व्रतालुहरुको घरघरमा गहुँ सुकाउने काम अहिले भइरहेको छ । यसरी सुकाइने गहुँलाई चराचुरुंगीले जुठो लगाए पनि त्यो अपवित्र हुन्छ भन्ने मान्यता रहेकाले व्रतालु तथा तिनका परिवारका सदस्य घाममा गहुँ रुँघेर बस्ने गर्छन् । चराचुरुंगीले मुख जुठो हालेमा गहुँ पखालेर सुकाउने गरिन्छ । वीरगन्ज बजार तथा जिल्लाका अन्य ग्रामीण हाटहरुमा पनि छठ पर्वको सामग्री किनमेल गर्नेको बाक्लो भिड लागेको छ । कपडा पसलमा पनि नयाँ कपडा किनमेलहरुको भिडभाड छ ।
छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मूर्ली आदिका घाट बेहुलीझैं सिँगारिएका छन् । जिल्लाको ग्रामीण भेगका पनि सबैजसो गाउँमा छठ घाट तयार पारिएका छन् । घडिअर्वा पोखरीमा गरिएको बिजुलीको साजसज्जाका कारण साँझको समयमा यो पोखरीमा आगन्तुकहरुको भिडभाड लाग्न थालेको छ ।
देशकै सर्वाधिक ठूलो र भिडभाडयुक्त हुने यो घाटमा बिहान र बेलुका गरी करिब ५ लाख मानिसको आवागमन हुने अनुमान गरिन्छ । छठ व्रत लिनेहरुको घरमा सुख, शान्ति र समृद्धिको आगमनको साथै सन्तान प्राप्ति र चर्म रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।
