राजविराज, सिरहा — लहानमा कार्यालय रहेको पर्यटन विकास कार्यालयका सव–इन्जिनियरले राजविराजमा एक कन्सल्टेन्सीको कार्यालयमा बसेर कमिसन उठाइरहेको विषयमा छापा मारेर कागजात जफत गरेको प्रशासनले अन्तत: कुनै छानविन नगरी कागजातहरू फिर्ता पठाएको खुलेको छ।
कर्मचारीहरूको मिलेमतोमा यस्तो कार्य भइरहेको सार्वजनिक भएपछि प्रशासनले छापा मारेर कागजात र कर्मचारीहरूलाई नियन्त्रणमा लिएपनि त्यसबारे छानबिन गरी कारबाहीको साटो उन्मुक्ति दिएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार बेलुकी सप्तरीको राजविराज नगरपालिका–८ स्थित शुभलक्ष्मी इन्जिनियरिङ कन्सल्टेन्सीमा छापा मार्दा पर्यटन विकास कार्यालय लहान सिरहाका सव–इन्जिनियरसहितलाई आठ थान फाइलसहित नियन्त्रणमा लिएको थियो।
सिरहामा रहेको ती कार्यालयका सव–इन्जिनियर सुरेन्द्रकुमार यादवसहितले कमिसन उठाउन राजविराजबाटै कार्यालय सञ्चालन गरेको भनी उपभोक्ता समितिले गरेको उजुरीका आधारमा प्रशासनले छापा मारेको थियो। टोली कन्सल्टेन्सीमा पुग्नासाथ सव–इन्जिनियर यादव, कन्सल्टेन्सका कर्मचारी श्याम दास र उपभोक्ता समितिका पदाधिकारीहरु भाग्न खोजेका थिए। तर उनीहरुलाई फाइलसहित प्रशासनले नियन्त्रणमा लिएको थियो।
सोही कन्सल्टेन्सीको अगाडिबाट कार्यालयले भाडामा चलाइरहेको बीएसी ६९७० नम्बरको स्कर्पियो र को८प ७२१२ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको थियो। जिल्ला प्रशासन कार्यालयले बेलुका नै नियन्त्रणमा लिइएका ती कागजातहरू आवश्यक छानबिन तथा कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहालाई पठायो। तर, सिरहा प्रशासनले त्यसमाथि कुनै छानबिन र कानूनी कारबाही नगरी ती कागजातहरू पर्यटन विकास कार्यालयकै जिम्मा लगाइदिएको हो। पर्यटन
कार्यालयका प्रमुख वसन्तकुमार दासको घर पनि राजविराज नै हो । उनकै मिलेमतोमा स्थानीय आशा दासको नाममा रहेको कन्सल्टेन्सीमा कमिसन उठाउने गरेको र त्यहीँबाट फाइल समेत सदर हुँदै आएको उपभोक्ता समितिको आरोप छ। तर सिरहा प्रशासनले त्यसमाथि सामान्य छानबिन पनि गरेन । सो विषयमा पर्यटन विकास कार्यालयले नै छानबिन गर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । ‘हामीले कागजात नियन्त्रणमा राख्दा काम अवरुद्ध हुने देखियो, त्यसैले कार्यालयलाई नै जिम्मा लगाएका छौं,’ उनले कान्तिपुरसित भने, ‘कार्यालयका प्रमुखलाई छानबिनका लागि पनि भनेको छु, अब उहाँहरूले नै गर्नुहुन्छ, अन्य निकायहरू पनि छन् ।’
जिल्ला प्रशासन कार्यालय सप्तरीका कर्मचारी स्रोतका अनुसार ती विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।
‘सोमबार बेलुका आयोगको इटहरीस्थित कार्यालयसँग समन्वय गरेरै छापामारी गरेका थियौं। तर सिरहाको कार्यालय रहेको बुझियो र सिरहा जिल्ला आयोगको बर्दिवासस्थित कार्यालयले हेर्ने भएकाले कानूनी समस्याका कारण सोचेअनुसार कार्य गर्न सकिएन’, स्रोतले भन्यो । ती विषयमा बुझ्न पर्यटन विकास कार्यालयका प्रमुख दाससँग सम्पर्क गर्दा फोन उठेन । सूचना अधिकारी रामवृक्ष दासले कार्यालय प्रमुख फिल्डमा गएको बताए ।
‘हिजो राजविराजबाट कर्मचारी पक्राउ परेको विषयमा सूचना आएपनि विस्तृत जानकारी छैन,’ उनले भने, ‘त्यो कुरा हाकिम साबलाई नै सोध्नु न, अहिले उहाँ फिल्डमा हुनुहुन्छ ।’
