जनकपुर — कृषि सडक बनाउन खनेको ४ फिट गहिरो खाल्डोमा डुबेर गत साता धनुषामा दुई बालकको ज्यान गयो । निर्माण कम्पनी जय बाबा कन्ट्रक्सन रहे पनि स्थानीय राजेन्द्र मण्डलले सडक निर्माणको पेटी ठेक्का लिएका हुन् । गजब के भने, ठेकेदार मण्डलकै खेतसम्म पुग्न कृषि सडक निर्माण भइरहेको छ ।
धनुषाको कमला नगरपालिकाले जेठमा ४ सय ३५ मिटर कृषि सडक बनाउन जय बाबा कन्ट्रक्सनसँग सम्झौता गरेको थियो । सडकमा माटो पुर्न छेउमै खनिएको खाल्डोमा डुबेर कमला नगरपालिका–२ सराबेका ७ वर्षीय रितिक साह र ५ वर्षीय रितिश साहको मृत्यु भएको थियो ।
डुबेर दुई बालकको मृत्युपछि नगरपालिका भने आफ्नो योजना नभएको भन्दै पन्छिएको छ भने वडाध्यक्ष ठक्कु यादवले मृतक परिवारलाई क्षतिपूर्ति दिइने भन्दै ठेकेदार मण्डलको बचाउमा उत्रिएका छन् । ठेकेदार मण्डलले आफ्नो खेतसम्म कृषि सडक बनाउन वडासदस्य रहेकी भाउजु रेणु मण्डलको जोडबलमा ठेक्का हत्याएका थिए ।
वडाध्यक्ष यादव भने दुई बच्चाको मृत्युमा रत्तिभर दायामाया नदेखाएर ‘सबै ठाउँमा यस्तै सडक बनाउने गरिएको’ भन्दै ठेकेदार मण्डललाई कानुनी कार्वाहीबाट जोगाउन खोजिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सडक बनाउन खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्युपछि ठेकेदार मण्डललाई जनकपुर झिकाइ सोधपुछ गरेर छाडिदिएका छन् । ‘ठेकेदारलाई बोलाएर सोधपुछ गर्दा ठेक्का एउटाको नाममा र काम अर्कै व्यक्तिले गरेको देखियो,’ धनुषा प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले भने,‘यस्ता घटनामा पालिका र वडा जिम्मेवार हुनुपर्छ । त्यो देखिएन् । उजुरी परे हामी कार्वाही अघि बढाउछौं ।’
वडाध्यक्ष यादवले मृतक दुई बालकका हजुरबुवा चन्देश्वर साहलाई निरन्तर दबाबमा राखेर पीडित परिवारलाई प्रहरीसम्म पुग्न दिएको छैन् । इलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर बबिन्द्र नेम्वाङले दुबै बालकको पोष्टमार्टम भइसकेको र रिर्पोट आएपछि घटनाको अनुसन्धान अगाडि बढाइने बताए । उनका अनुसार पीडित परिवारबाट उजुरी आएको छैन् ।
ठेकेदार मण्डलले निर्माण गरिरहेको कृषि सडक मापदण्ड विपरित पनि छ । ठेक्का सम्झौतामा सडकमा एकछेउबाट मात्र माटो निकाल्न उल्लेख रहे पनि ठेकेदार मण्डलले दुई छेउबाटै माटो झिकेका छन् । निर्माण थालिएको कृषि सडक भने सराबेको कुनै पनि मूल सडकसँग जोडिएको छैन् ।
ठेकेदार मण्डलकै खेतबाट सुरु भएर उक्त सडक उनकै खेतसम्म पुगेर सकिन्छ । ‘सडक र घटनाका विषयमा म केही बोल्दिन्,’ ठेकेदार मण्डलले भने,‘गाउँलेसँग जनप्रतिनीधिले छलफल गरेर जे निर्णय गर्छ, त्यो मान्छु ।’
पछिल्लो तीन वर्षमा मधेश प्रदेशमा डुबेर ५ सय ४२ जनाको मृत्यु भएको छ । जसमा ३ सय २१ जना बालबालिका मात्रै छन् । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म मधेश प्रदेशमा डुबेर २ सय २ जनाको ज्यान गइसकेको छ । जसमा १ सय १६ बालबालिका छन् ।
ठेकेदारले जथाभावी खनेको सडकका खाल्डा, दह, पोखरी र जलासयमा डुबेर अनाहकमा ज्यान जाँदा पनि कानुनी कार्वाही नभइ लेनदेन, क्षतिपूर्ति र दबाब–प्रभावमै यस्ता घटनामा मिलापत्र हने गरेको छ ।
