राजविराज — प्रधानाध्यापकको खेतमा काम गर्न नमान्दा कार्यालय सहयोगी राधेश्याम पासवानले डेढ वर्षदेखि हाजिर गर्न पाएका छैनन् । तर गाउँपालिकाले भने अर्कै विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्न प्रक्रिया थालेको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित जनता आधारभूत विद्यालय बेल्हीका प्रधानाध्यापक बालेश्वर यादवको बदमासीका कारण कार्यालय सहयोगी पासवानको डेढ वर्षदेखि तलब–भत्ता पनि रोकिएको छ । तर, गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले गत आइतबार राष्ट्रिय आधारभूत विद्यालय बेल्हीका प्रधानाध्यापक रामविलास मण्डललाई स्पष्टीकरण सोधेका छन् ।
पत्र प्राप्त गरेको दुई दिनभित्र जवाफ पेस गर्न प्रअ मण्डललाई स्पष्टीकरण सोधिएको छ । ‘काज सरुवा गरी पठाइएको कास पासवानलाई के कति कारणले हाजिर गराउनू भएन ?, चित्त बुझ्दो जवाफ पेस गर्नू ।’ चलानी नम्बर१ हजार ५ सय ७४ मा काटिएको स्पष्टीकरण पत्रमा उल्लेख रहेको छ । तर, खेतमा काम गर्न नमान्दा पासवानलाई ‘कारबाही’ गरी डेढ वर्षदेखि हाजिर गर्न रोक लगाएका प्रअ यादवलाई भने उन्नमुक्ति दिइएको छ ।
२०५९ वैशाख ५ मा अस्थायी नियुक्ति पाएका पासवानले जनता आधारभूत विद्यालयमा कार्यालय सहयोगी पदमा कार्य गर्दै आएका छन् । पछिल्लो पटक सरुवा भएर आएका प्रअ यादवले हाजिर गर्न रोक लगाएपछि न्याय गुहार्दै पासवान गाउँपालिका पुगेका थिए । गाउँपालिकाले पनि दरबन्दी रहेको सोही विद्यालयमा हाजिर गराउनुपर्नेमा ०८० मंसिर २६ मा सलहेश दलित राष्ट्रिय आधारभूत विद्यालयमा पासवानको काज सरुवा नै गरिदियो । तर, त्यहाँ पहिलेदेखि नै कार्यालय सहयोगी रहेकाले पासवानलाई हाजिर गराइएन ।
गाउँपालिकाले पुनः ०८० पुस १३ मा पासवानलाई राष्ट्रिय आधारभूत विद्यालय बेल्हीमा काज सरुवा गरेको थियो । त्यहाँ हाजिर नगराएका प्रअ मण्डललाई स्पष्टीकरण सोधिएको छ । ‘हामीले अढाई वर्षअघि नै कासमा रामचन्द्र मुखियालाई राखिसकेकाले त्यो बेला पासवानलाई हाजिर गराउन सकिनँ, नभए म हाजिर गराइहाल्थेँ,’ प्रअ मण्डलले कान्तिपुरसँग भने, ‘यहाँ केबल जातीय विषयले नै प्राथमिकता पाउँछ, बदमासी गरेका प्रअ यादवलाई स्पष्टीकरण सोध्नुपर्नेमा मलाई सोधिएको छ ।’
गाउँपालिका अध्यक्ष यादवले स्पष्टीकरणको जवाफ आएपछि थप प्रक्रिया अघि बढाउने बताए । ‘प्रअ यादवसँग पनि सोध्छौं, पहिले उहाँको जवाफ त आओस्,’उनले भने ।
