सिरहा — सिरहाको नवराजपुर गाउँपालिका-३ दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदायमाथिको यौन दुर्व्यवहार र मृत्यु घटनाको सूक्ष्म अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकको सचिवालयका अनुसार, उनले बुधबार बिहान नेपाल प्रहरीका आईजीपी दीपक थापालाई यस विषयमा जिज्ञासा राख्दै फोन गरेका थिए । सो क्रममा उनले घटना सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
सदाय मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि पुस ९ मा उनीमाथि गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले सामूहिक बलात्कारको प्रयास गरेका थिए । तर, पीडितले सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिएपनि प्रहरीले उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाउनुको साटो उल्टै मिलि हाल्न दबाब दिएको थियो ।
प्रहरीले सुनुवाइ नगर्दा पीडित परिवार मिडियामा जाने तयारी गरेपछि अढाइ महिनापछि फागुन २५ मा बल्ल उनको जाहेरी दर्ता भएको थियो । तर, मुद्दा दर्ता भएपनि आरोपितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो ।
