यौन दुर्व्यवहारमा परेकी दलित महिला मृत फेला

यौन दुर्व्यवहारको जाहेरी दर्तामा प्रहरीको आनाकानी, घटना गाउँमै मिलाउन पीडक पक्षको दबाब, अदालतबाट पक्राउ पुर्जी जारी भए पनि प्रहरीले पक्राउ गरेको थिएन आरोपितलाई 

वैशाख ३, २०८२

विनय आजाद

A Dalit woman who was sexually assaulted was found dead

सिरहा — चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहाकी दलित विवाहित महिला मंगलबार आफ्नै घरमा मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय दिउँसो झुन्डिएको अवस्थामा भेटिएकी हुन् । 

दुई वर्षीया छोरीकी आमा आनन्दी करिब ४ महिनाअघि गाउँकै दुई युवकबाट यौन दुर्व्यवहारमा परेकी थिइन् । यौन दुर्व्यवहार भएको लामो समयसम्म प्रहरीले उजुरी लिन मानेको थिएन भने उजुरीपछि केही व्यक्तिले मिलापत्र गर्न दबाब दिँदै आएका थिए । श्रीमान् वैदेशिक रोजगारीमा भएकाले उनी छोरीसहित माइतीमै बस्दै आएकी थिइन् ।

आनन्दी गत पुस ९ मा बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेकी थिइन् । गाउँमै रहेको पोखरी हुँदै हिँडिरहेका बेला स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालेका थिए । पीडित परिवारका अनुसार आनन्दीलाई उनीहरूले शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेका थिए । तर, नमान्दा जबर्जस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेका थिए । 

ती दुईले बगैंचामै रहेको परालको थुप्रोमा लडाएर कपडा च्यात्दै जबर्जस्ती करणी गर्न खोजेका थिए । आनन्दी प्रतिकार गरी उम्केर रुँदै घर आइपुगेकी आमा बिल्टौनदेवी सदायले बताइन् । घटनाकै दिन अपराह्न छोरीलाई सँगै लिएर आमा बिल्टौन इलाका प्रहरी कार्यालय महेशपुर पतारमा जाहेरी दिन गएकी थिइन् । तर प्रहरीले उजुरी लिन मानेको थिएन । पीडित पक्षले ‘मिडियामा जाने’ भनेकाले घटनाको साढे दुई महिनापछि फागुन २५ मा मात्र प्रहरीले पीडकविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको थियो । 

पीडकका पक्षबाट केही स्थानीयले घटना गाउँमै मिलाउने प्रयास गरेका थिए । आमा बिल्टौनका अनुसार गाउँकै नरेन्द्र यादवलगायतका केही व्यक्तिले रकम लिएर गाउँमै मिल्न र नमिले उल्टै मुद्दा लगाइदिने धम्की दिएका थिए । ‘उनीहरूले केही पैसा लिएर मिलिहाल भनेर हामीलाई धम्क्याउँथे,’ उनले भनिन्, ‘हामीले नमान्दा उल्टै मुद्दा लगाउँछु भन्ने गरेका थिए ।’

फागुन २६ मा आरोपितविरुद्ध सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर पीडकहरू पक्राउ परेका छैनन् । आरोपितको घरमा प्रहरी पुग्दा उनीहरू फेला नपरेको महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीको दाबी छ । आरोपित पक्षबाट आफूहरूलाई फसाइएको भन्ने कुरा आएपछि जाहेरी दर्ता गर्न समय लागेको तर्क मैनालीले गरे । ‘हामीकहाँ जाहेरी आएपछि आरोपितले फसाइएको कुरा गरे,’ मैनाली भन्छन्, ‘त्यसपछि अनुसन्धान गर्दा मुद्दा दर्ता गर्न समय लागेको हो ।’

मृतककी आमा बिल्टौनका अनुसार पीडकहरू गाउँमै बस्ने गरे पनि प्रहरीले पक्राउ गर्न आनाकानी गर्दै आएको हो । ‘हामी न्याय माग्न प्रहरीकहाँ गयौं तर प्रहरीले हामीलाई गन्दै गनेन,’ उनी भन्छिन्, ‘दोषीलाई पक्राउ गर्नुभन्दा पनि हामीलाई नै उल्टासिधा कुरा गरेर आलटाल गरिन्थ्यो । दोषीलाई कारबाही नहुँदा हामी समाजमा अत्याचार सहेर र बेइज्जत भएर बस्नुपर्ने स्थिति भयो ।’

प्रहरीले राजनीतिक दबाबमा पीडितलाई अल्झाएर निराश बनाएको र यसैकारण पीडितको मृत्युसम्मको घटना निम्तिएको देखिएको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय प्रवक्ता सुनील सदाको आरोप छ । यसमा प्रहरीको भूमिका निकै शंकास्पद देखिएको भन्दै उनले छानबिन हुनुपर्ने माग गरेका छन् । 

घटनाको जिम्मेवारी इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले लिनुपर्ने अधिवक्ता रामसुफल सदायको आरोप छ । ‘यौन दुर्व्यवहारको घटना भएपछि जब न्यायका लागि महिनौं प्रहरीको ढोका ढकढक्याउनुपर्छ भने पीडित महिला कुन मानसिक अवस्थाबाट गुज्रनुपर्‍यो होला,’ उनले भने, ‘यस घटनामा प्रहरीले पीडकमाथि कानुनी कारबाही गर्न ढिलासुस्ती गर्दा पीडितलाई थप पीडा भएको देखिन्छ ।’

घटना मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय महेशपुर पतारले जनाएको छ । प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा आनन्दी छानोमा सल बेरेर झुन्डिएको अवस्थामा भेटिएकी हुन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए । ‘घटना मुचुल्का गरी शव पोस्टमार्टमका लागि पठाएका छौं,’ उनले भने, ‘यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully