विषालु च्याउले ज्यान लिँदै : पाल्पामा सातायता २ जनाको मृत्यु, दर्जनभन्दा बढी बिरामी

जंगलबाट ल्याएको च्याउ खाएका एकै परिवारका चार जनाको समेत उपचार भइरहेको छ ।

जेष्ठ ७, २०८३

माधव अर्याल

Poisonous mushrooms are killing people: 2 people have died in Palpa in the past week, more than a dozen are sick

What you should know

पाल्पा — एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् ।

जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।

कामुमगरको ४ गते र खाम्चाको ५ गते मृत्यु भएको अस्पतालले जनाएको छ । सोही गाउँकै ५० वर्षीया यानुमाया जर्घाको मिसन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

गत जेठ १ गते जंगलबाट च्याउ ल्याएर खाएका उनीहरु बिरामी परेपछि ताहुँस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको थियो । तानसेन नगरपालिका–११, भालुवन घर भई तानसेन नगरपालिका–४, बस्दै आएका एकै परिवारका चार जना बिरामी परेका छन् । उनीहरुको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, तानसेन नगरपालिका–८, मदनपोखरा कोकल बस्ने दुई जना लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारपछि घर फर्केका छन् । उनीहरु पनि विषालु च्याउ खाएर बिरामी भएका थिए ।

उता, माथागढी गाउँपालिका–३, कसेनी भैंसीकट्टाका विषालु च्याउ खाएर बिरामी परेका चार जना उपचारपछि घर फर्केको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधु भट्टराईले जानकारी दिए । उनका अनुसार निस्दी गाउँपालिका–४, मित्यालका दुई जना विषालु च्याउ खाएर बिरामी परेपछि उपचारका लागि मध्यविन्दु अस्पतालमा लगिएको छ । दुवैको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन भरतपुर लगिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully