अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमणको धम्की एवं ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गालीगलौज गर्ने, भौतिक आक्रमण धम्की दिने एक व्यक्ति पक्राउ परेपछि अस्पतालले सेवा नियमित गरेको हो ।
नेपालगन्ज — स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउपछि भेरी अस्पतालमा सेवा सुरु गरेको छ । अस्पतालले आज सूचना जारी गर्दै अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमणको धम्की एवं ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गालीगलौज गर्ने, भौतिक आक्रमण धम्की दिने व्यक्ति पक्राउ परेपछि अस्पतालले सेवा नियमित गरेको हो ।
जिल्ला प्रशासन कार्यालयबाट उक्त व्यक्ति पक्राउ परेको र कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी पाएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि २४ घण्टाभित्र पक्राउ गरी आवश्यक कारबाही अघि बढाइने प्रशासनले जनाएको छ ।
अस्पताल परिसरभित्र अबदेखि प्रशासनको अनुमति बिना फोटो तथा भिडियो खिच्न नपाइने व्यवस्था पनि लागू समेत गरेको छ ।
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै अस्पतालले सेवा अवरुद्ध गरेको थियो । घटनापछि केही समय प्रभावित भएको सेवा प्रवाह पुनः सामान्य बन्दै गएको र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नियमित काममा फर्किएको अस्पतालले जनाएको छ । मागहरू पूरा नभए पुनः विरोधका कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत सूचनामा दिइएको छ ।
