भेरी अस्पतालका चिकित्सकमाथि हातपात प्रयास, इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प

बैजनाथ गाउँपालिका-६ बाँकेकी ६२ वर्षीया दिलसरा विकको मृत्युको विषयलाई लिएर मंगलबार एउटा समूहले डा. निराजन सुवेदीको कार्यकक्षमा पुगेर हातपातको प्रयास गर्नुका साथै गाली बेइज्जति गरेको प्रत्यक्षदर्शी चिकित्सकले बताए ।

वैशाख १६, २०८३

रुपा गहतराज

Attempted assault on Bheri Hospital doctor, all services except emergency services suspended

What you should know

नेपालगञ्ज — भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीसहितका चिकित्सकमाथि हातपातको प्रयास, दुर्व्यवहार र ज्यान मार्ने धम्की दिइएपछि दोषीमाथि कारबाही र सुरक्षाको माग गर्दै अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।इमर्जेन्सीबाहेक अन्य सबै सेवा ठप्प पारेर मंगलबारदेखि चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

बैजनाथ गाउँपालिका-६ बाँकेकी ६२ वर्षीया दिलसरा विकको मृत्युको विषयलाई लिएर मंगलबार एउटा समूहले डा. निराजन सुवेदीको कार्यकक्षमा पुगेर हातपातको प्रयास गर्नुका साथै गाली बेइज्जति गरेको प्रत्यक्षदर्शी चिकित्सकले बताए । त्यस्तै प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे लगायतका चिकित्सकलाई ज्यान मार्ने धम्की दिएको अस्पताल प्रशासनले जनाएको छ ।

घटनामा संलग्नलाई कारबाही र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म बिरामीको सेवामा फर्किने अवस्था नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदीले बताए । ‘उपचारका क्रममा बिरामीको मृत्यु हुँदा हामीलाई पनि दुःख लागेको छ तर उपचार प्रक्रियामा असहमत भए, चित्त नबुझे कानुनी प्रक्रियामा जाने ठाउँ हुँदाहुँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुनु, धम्की दिनु शोभनीय होइन,' उनले भने, ‘यसले सम्पूर्ण चिकित्सकको मनोबल गिरेको छ । त्रासको अवस्था सिर्जना भएको छ । दोषीलाई कारबाही र सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म काममा फर्किने अवस्था छैन ।’

अस्पतालका प्रमख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले पनि चिकित्सकहरु त्रासमा रहेको बताए । अस्पतालको उपचार प्रक्रियामा चित्त नबुझे कानुनी बाटो खुला हुँदा पनि चिकित्सकमाथि हातपातको प्रयास हुनु निन्दनीय भएको उनले बताए ।

प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसमेतको सहजीकरणमा सोमबार चिकित्सक र मृतकका आफन्तबीच भएको छलफलमा उपचारमा संलग्न चिकित्सकमाथि कानुनी उपचार खोज्ने र मंगलबार शव पोष्टमार्टम गरेर पीडितका आफन्तले बुझ्ने सहमति भएको थियो । त्यहीअनुसार पीडित परिवारले उपचारमा संलग्न चिकित्सकमाथि कारबाहीको माग गर्दै सोमबार प्रहरीमा जाहेरीसमेत दिइसकेका छन् ।

तर सहमति भइसकेको विषयमा अचानक आफ्नो कार्यकक्षमा प्रवेश गरेर मृतकका छोरा सुरेश विकलगायतको समूहले हातपातको प्रयास गरेको डा.सुवेदीको भनाइ छ । सुरेशले भने आफूले हातपात नगरेको दाबी गरेका छन् । उनले शव बुझेर लगिसकेको बताए । गएको वैशाख ६ गते उपचारका लागि अस्पताल भर्ना भएकी विकको १३ गते मृत्यु भएको थियो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully