उच्चस्तरीय टोलीमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुनविज्ञ अधिवक्ता गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि पत्रकार दिनेश पाण्डे रहेका छन् ।
What you should know
काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले बुटवलस्थित एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराउने क्रममा महिलाले ज्यान गुमाएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
क्लिनिक धाउँदाधाउँदै मृत्युवरण गरेकी २९ वर्षीया गीता पाण्डेको घटनालाई काउन्सिलले गम्भीरतापूर्वक लिँदै र मृतकका आफन्तको आग्रहअनुसार ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बुधबार काउन्सिलले व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार, सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । उच्चस्तरीय टोलीमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुनविज्ञ अधिवक्ता गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि पत्रकार दिनेश पाण्डे रहेका छन् ।
टोलीलाई बुटवलस्थित सम्बन्धित स्वास्थ्य संस्थामा स्थलगत अनुगमन तथा निरीक्षण गर्न र घटनाको वास्तविकता पत्ता लगाउन कार्यादेश दिइएको छ । काउन्सिलले छानबिन प्रक्रिया स्थानीय जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढाउने छ । दोषी भेटिएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने काउन्सिलले जनाएको छ ।
१२ हप्ताको गर्भपतनका लागि ५ बैशाखमा बुटवलकै खत्री मेडिकलमा पुगेकी तिलोत्तमा नगरपालिका–३ की २९ वर्षीया गीताको गत आइतबार मृत्यु भएको थियो । उनलाई खत्री नर्सिङ होमका चिकित्सकले बुटवलकै जोनल फार्मेसीमा पठाएका थिए । त्यहाँका स्वास्थ्यकर्मीले साँझ र बिहान खानेगरी औषधि दिएर घर पठाएका थिए । दुई डोज औषधि सेवन गरेर आइतबार बिहान ११ बजे फार्मेसी पुगेकी गीतालाई पुनः औषधि सेवन गराएर २ घन्टा आराम गर्न भनिएको थियो । सोही क्रममा गीता बेहोस भएपछि स्वास्थ्यकर्मीले तत्काल इन्दुलेखा स्वास्थ्य क्लिनिक पठाएका थिए । त्यहाँ पनि उपचार हुन नसकेपछि लुम्बिनी सिटी हस्पिटल लगिएको थियो । हस्पिटल पुर्याए लगत्तै डाक्टरले गीतालाई मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलले पीडित परिवारको किटानी जाहेरीको आधारमा २ जना डक्टरसहित ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
