घटनामा संलग्न भनिएका दुई डाक्टरको प्रहरीद्वारा अनुसन्धान चल्दै ।
What you should know
बुटवल — गर्भपतन गराउने क्रममा मृत्यु भएकी पाल्पाको बगनासकाली गाउँपालिका-२ ख्याहाकी २९ वर्षीया गीता पाण्डेय मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ ।
१२ हप्ताको गर्भपतन गराउँन बुटवलको निजी क्लिनिकमा पुगेकी पाण्डेयको आइतबार मृत्यु भएको थियो । तर, गीताका श्रीमान् प्रकाश पाण्डेले मंगलबार इलाका प्रहरी कार्यालयमा चिकित्सक र स्वास्थ्यकर्मीको लापर्बाहीबाट मृत्यु भएको भन्दै किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
पाण्डेय दम्पती अनिच्छुक गर्भ रहेपछि परिक्षणका लागि चैत २७ गते बुटवलको खत्री नर्सिङ होममा पुगेका थिए । गर्भ परीक्षण गराउँदा १२ हप्ताको देखिएको र असामान्य छ भन्दै डा. डीबी खत्रीले वैशाख ४ गतेका लागि बोलाएका थिए ।
प्रकाशका अनुसार पुनः वैशाख ५ गते शनिबार त्यहाँ पुग्दा डा. खत्री आफैंले बुटवलको मैत्रीपथमा रहेको जोनल फार्मेसीमा पठाएका थिए । त्यहाँ स्वास्थ्यकर्मीले अन्य कुनै परीक्षण नगरी गर्भपतनका लागि १६ हजार रुपैयाँ मागेका थिए । तर, पाण्डेय दम्पतीले २ हजार रुपैयाँ मात्र दिए । जोनल फार्मेसीका स्वास्थ्यकर्मीले २ क्याप्सुल औषधि साँझ र बिहान खान भने । उनले आइतबार बिहान पनि ८ बजेका लागि बोलाए ।
फार्मेसीले पुन: अर्को औषधि खुवाएर २ घण्टा आराम गर्न लगाए । औषधि खाएलगत्तै गीता बेहोस भएकी थिइन् । त्यसपछि जोनल फार्मेसीका स्वास्थ्यकर्मीले गीतालाई तत्कालै नजिकैको इन्दुलेखा क्लिनिकमा पठाए । तर, उक्त क्लिनिकमा गीताका श्रीमान् प्रकाशले आफूलाई भित्र पस्न नदिइएको बताएका छन् ।
‘मलाई भित्र जान पनि दिइएन, गीतालाई भित्र लगेर के-के गरियो थाहै छैन,’ उनले भने, ‘पछि अचानक उनीहरूले नै लुम्बिनी सिटी हस्पिटल पुर्याएछन् । त्यहाँका डाक्टरले झन्डै ३:४९ मा मृत्यु घोषणा गरे ।’
गीता मृत्यु प्रकरणमा प्रहरीले मंगलबार नै जोनल फार्मेसीका सञ्चालक कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका-१ की ३० वर्षीया सन्ध्या बस्नेत, जोनल फार्मेसीकै गुल्मीको धुर्कोट गाउँपालिका-३ का २२ वर्षका निलम घर्तीमगर र इन्दुलेखा स्वास्थ्य क्लिनिकका खगेन्द्रप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार बिहान आरोप लागेका खत्री नर्सिङ होमका सञ्चालक डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिका डाक्टर सतिष रुपाखेती आफैं प्रहरी सम्पर्कमा पुगेका थिए । पीडित परिवारले डाक्टरको लापर्बाही भन्दै कारबाही माग गर्दै मेडिकल काउन्सिलमै उजुरी दिएपछि काउन्सिलले छानबिन गर्न लागेको हो ।
काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने तयारी भइरहेको छ । पीडित पक्षबाट पनि औपचारिक निवेदन आएकाले आवश्यक छलफलपछि छानबिन अगाडि बढाइने उनले बताए । काउन्सिल सदस्य डा. सम्राट पराजुलीले बुटवलबाहिरका विशेषज्ञ चिकित्सकको नेतृत्वमा छानबिन समिति गठन गर्नेबारे छलफल भइरहेको बताए ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ घर भए पनि अहिले गीता तिलोत्तमा नगरपालिका–३ जानकीनगरमा बस्दै आएकी थिइन् । उनी भैरहवामा रेडक्रसले सञ्चालन गरिरहेको रक्त सञ्चार केन्द्रकी कर्मचारी थिइन् । घटनापछि आक्रोशित आफन्तले सम्बन्धित स्वास्थ्य संस्थाहरूमा तालाबन्दी गरिदिएका छन् ।
