बुटवलका दुई निजी क्लिनिकको लापर्बाहीले गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेयको मृत्यु भएपछि पीडित परिवारले दोषीलाई कारबाही माग गरेका छन्
पाल्पा, बुटवल — निजी क्लिनिकको लापर्बाहीबाट बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको भन्दै परिवारले कारबाहीको माग गरेका छन् । पाण्डेय पाल्पाबाट बुटवलमा करिब १२ हप्ताको बच्चा पेटमा अस्वस्थ भएकाले गर्भपतनका लागि बुटवलमा गएको र उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएका छन् ।
बुटवलका निजी क्षेत्रका तीन वटा क्लिनिकमा उपचार गर्दागर्दै पाण्डेयको मृत्यु भएको हो । गत शनिबार श्रीमान् प्रकाश पाण्डेयसहित उनी बुटवलस्थित खत्री नर्सिङ होममा उपचारका लागि गएकी थिइन् ।
गर्भपतन गराउन स्वास्थ्यकर्मीले औषधि चलाएको परिवारले जनाएको छ । गर्भपतन नभएपछि उनलाई जोनल फार्मेसीमा लगिएको थियो । त्यहाँसमेत उपचार नभएपछि इन्दुलेखा क्लिनिकमा लगिएको हो । औषधिबाटै गर्भपतन गराउन प्रयास गरिएको थियो । स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पतालमा लगिएको परिवारले जनाएको छ ।
अस्पतालमा लैजाँदा चिकित्सले मृत घोषणा गरेका थिए । निजी मेडिकल र क्लिनिक सञ्चालकलाई कारबाहीको माग गर्दै परिवारले इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।
पीडितका तर्फबाट जाहेरी दर्ता भएलगत्तै प्रहरीले मेडिकल तथा क्लिनिक सञ्चालनक तीन जनालाई पक्राउ गरेको छ । गीताको मृत्यु भएपछि प्रकाशले उचित कारबाहीका लागि प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको र त्यसपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । उनका अनुसार जोनल फार्मेसीकी सन्ध्या बस्नेत र निलम घर्तीमगर, इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ । तीनै जनालाई मंगलबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका डाक्टर सतिष रुपाखेतीलाई प्रहरीले निगरानीमा राखेको थियो । उनीहरू दुवै जना बुधबार बिहान आफै प्रहरी कार्यालय आइपुगेको र अहिले सोधपुछकै क्रममा प्रहरी कार्यालयमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । ‘दुवै जना डाक्टरहरू अहिले कार्यालयमा आफैं सम्पर्कमा आउनु भएको छ,’ उनले भने, ‘हामीले घटना विवरणको बारेमा सोधपुछ गर्दैछौं, दुवै जना अहिले अनुसन्धानकै क्रममा हुनुहुन्छ ।’ मंगलबार पक्राउ परेका तीन जना भने प्रहरी नियन्त्रणमै रहेको उनले बताए ।
मृतक पाण्डेयको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा राखिएको छ । परिवारले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ को इलाजसम्बन्धी कसूरको दफा २३० अन्तर्गत इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुनेसम्बन्धी कसूर गरेकाले कारबाही गरी क्षतिपूर्तिका लागि समेत माग गरेका छन् । उपचारका क्रममा गीतालाई जाँचबुझ गरेका र बेहोस भएपछिका सम्पूर्ण कागजपत्रहरू निजहरुले नै राखेको परिवारले बताएका छन् ।
