प्रधानमन्त्री कार्यालयको चासोपछि तिलौराकोट-लुम्बिनी रुटमा पनि चल्न थाल्यो बिजुली बस 

पर्यटकका लागि लुम्बिनी आएका ५ वटा बिजुली बस काठमाडौं लैजाने निर्णय भए पनि प्रधानमन्त्री कार्यालयले चासो राख्दा रोकिएर बुधबारदेखि लुम्बिनी–भैरहवा–बेलहिया रुटमा सञ्चालन गरिएको थियो ।

चैत्र १९, २०८२

मनोज पौडेल

Electric buses also started operating on the Tilaurakot-Lumbini route after the Prime Minister's Office expressed interest.

कपिलवस्तु — लुम्बिनी विकास कोषले तिलौराकोट–लुम्बिनी रुटमा पनि बिजुली बस चलाएको छ । बिहीबारदेखि लुम्बिनी प्रदेश ०१–००१प १९ नम्बरको बस लुम्बिनी-निग्रोधाराम-तिलौराकोट रुटमा सञ्चालन गरिएको छ ।

पर्यटकका लागि लुम्बिनी आएका ५ वटा बिजुली बस काठमाडौं लैजाने निर्णय भए पनि प्रधानमन्त्री कार्यालयले चासो राख्दा रोकिएर बुधबारदेखि लुम्बिनी–भैरहवा–बेलहिया रुटमा सञ्चालन गरिएको थियो । 

बस बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ । वातावरण प्रदूषण न्यूनीकरण गर्दै पर्यटकलाई सुविधा दिन ५ वर्षअघि आएका अत्याधुनिक ५ बसमध्ये २ वटा बसमात्र सञ्चालन हुन सक्ने अवस्थामा छन् । अहिलेलाई बस नि:शुल्क संचालन गरिएको कोष सदस्य सचिब दीपक श्रेष्ठले बताए । 'एक दुई दिनमा बसको ढोकामा स्वेच्छिक सहयोग योगदान गर्न चाहनेहरूका लागि क्यूआर कोड राख्छौं,' उनले भने । भाडा लिएर चलाउने विषयमा भने कार्यविधि बनाएर मात्र गर्नै उनले बताए । अन्य ३ वटा बसको मर्मतका लागि प्रक्रिया सुरु गरिएको छ । 

दुई साताअघि संस्कृति तथा पर्यटन मन्त्रालयको सचिवस्तरिय निर्णय भई लुम्बिनी विकास कोषमा सहयोग आएका ५ वटा विद्युतीय बस नागरिक उड्डयन प्राधिकरणलाई पठाउने प्रक्रिया थालिएको थियो । तर, सोमबार प्रधानमन्त्री कार्यालयबाट एक अधिकारीले फोन गरी चासो राख्दै लुम्बिनीमै चलाउने व्यवस्था गर्न निर्देशन गरेपछि बस पठाउने प्रक्रिया रोकिएको थियो । 

लुम्बिनी घुम्न आउने पर्यटकलाई सुविधाका लागि ०७७ मंसिर र पुसमा गरी एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत अत्याधुनिक १४ वटा ट्याक्सी (भ्यान) र ५ वटा बस लुम्बिनी ल्याइएको थियो । १३ करोड रुपैयाँ लागतबराबरका बस तथा ट्याक्सी भित्रिएको थियो । नेपाल सरकारले साढे ३ करोड भन्सार शुल्क बेहोरेको थियो । १४ वटा ट्याक्सी (भ्यान)मध्ये १२ वटा कोषका पदाधिकारी र कर्मचारीले प्रयोग गर्दै आएका छन् । दुई वटा भने दुर्घटनाका कारण चल्न सक्ने अवस्थामा छैनन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully