प्रधानमन्त्री कार्यालयको निर्देशनपछि बुधबार बिहानबाट एउटा अत्याधुनिक विद्युतीय बस लुम्बिनी–भैरहवा–बेलहिया रुटमा सञ्चालन गरिएको लुम्बिनी विकास कोषका सदस्य-सचिव दीपक श्रेष्ठले बताए ।
What you should know
लुम्बिनी — लामो समयदेखि लुम्बिनीमा अलपत्र विद्युतीय बस बुधबारबाट सञ्चालनमा ल्याइएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि ल्याइएका पाँचवटा विद्युतीय बस अलपत्र बनेका थिए । यहाँ सञ्चालन गर्न नसकिएपछि संस्कृति तथा पर्यटन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार काठमाडौं लैजाने तयारी गरिएको थियो ।
गत सोमबार प्रधानमन्त्री कार्यालयबाट टेलिफान गरेर बस सञ्चालनप्रति चासो व्यक्त गरिएको थियो । प्रधानमन्त्री कार्यालयले यी बस लुम्बिनीमै सञ्चालन गर्न निर्देशन दिएको हो ।
उक्त निर्देशनपछि बुधबार बिहानबाट एउटा अत्याधुनिक विद्युतीय बस लुम्बिनी–भैरहवा–बेलहिया रुटमा सञ्चालन गरिएको लुम्बिनी विकास कोषका सदस्य-सचिव दीपक श्रेष्ठले बताए । ‘अर्को बस चार्ज हुँदैछ,’ उनले भने, ‘त्यो बस चार्ज भएपछि आजैबाट तिलौराकोट–भैरहवा–रामग्राम रुटमा संचालनमा आउँछ ।’
वातावरण प्रदूषण न्यूनीकरण गर्दै पर्यटकलाई सुविधा दिन पाँचवटा विद्युतीय बस ल्याइएको थियो । यीमध्ये दुईवटा बसमात्र सञ्चालन हुन सक्ने अवस्थामा छन् । कोषका अनुसार अहिलेलाई नि:शुल्क बस सेवा सञ्चालन गरिएको हो । एक/दुई दिनमा बसको ढोकामा स्वेच्छिक सहयोग गर्नेहरुका लागि क्युआर कोड राखिने श्रेष्ठले बताए । कार्यविधि तयार भएपछि मात्र भाडा लिएर चलाउन सकिने उनले बताए । अन्य तीनवटा बसको मर्मत प्रक्रिया सुरु गरिएको छ । 
०७७ मंसिर र पुसमा गरी एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत अत्याधुनिक १४ वटा ट्याक्सी (भ्यान) र पाँचवटा बस लुम्बिनी आएका थिए । १३ करोड लागत बराबरका बस तथा ट्याक्सी भित्रिएका थिए । नेपाल सरकारले साढे ३ करोड भन्सार शुल्क ब्यहोरेको थियो । १४ वटा ट्याक्सी (भ्यान)मध्ये १२ वटा कोषका पदाधिकारी र कर्मचारीले प्रयोग गर्दै आएका छन् । दुईवटा भने दुर्घटनाका कारण चल्न सक्ने अवस्थामा छैनन् ।
