दिल्लीमा बम विस्फोट,नेपाल-भारत सीमामा सुरक्षा कडाइ

बर्दियासँग जोडिएको बहराइचस्थित सिमानामा घना जंगल भएका कारण घुसपैठ हुन सक्ने भन्दै दुवै देशका सुरक्षाकर्मीले गस्ती बढाएका छन् ।

कार्तिक २५, २०८२

कमल पन्थी

Bomb blast in Delhi, security tightened on Nepal-India border

बर्दिया — भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार बम विस्फोटपछि नेपाल-भारत सिमानामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कारमा राखिएको बम विस्फोट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको थियो । बम विस्फोटमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमा नाकामा आउजाउ गर्नेमाथि जाँच कडा पारेको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले पनि सुरक्षा व्यवस्था कडा पारिएको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । आपराधिक तत्व सीमा वारपार गर्न सक्ने भएकाले नेपाल भारत सीमामा सुरक्षाको व्यवस्था कडा पार्दे निगरानी बढाएको उनले जनाए ।

बर्दियासँग जोडिएको बहराइचस्थित सिमाना घना जंगल भएका कारण घुसपैठ हुन सक्ने भन्दै दुवै देशका सुरक्षाकर्मीले गस्ती बढाएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार बम विस्फोटमा मारिएको पहिचान बुधबार बिहानसम्म भएको छैन । दूतावासका एसएसपी प्रकाश मल्लले बम विस्फोटमा नेपाली हताहत भए नभएको सोमबार रातिसम्म जानकारी नआएको बताए  दिल्लीमा बम विस्फोटपछि उच्च सतर्कता अपनाइएको दूतावासले जनाएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully