बर्दियामा चितुवाले आक्रमण गर्दा महिला घाइते

गुलरिया नगरपालिका–१० रत्नापुर नजिकको खेतमा धान काटिरहेको समय चितुवाले ती महिलालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आश्विन २५, २०८२

कमल पन्थी

A woman injured in a leopard attack in Bardia

बर्दिया — चितुवाको आक्रमणमा परी शनिबार साँझ एक महिला घाइते भएकी छन् । गुलरिया नगरपालिका–१० रत्नापुर नजिकको खेतमा धान काटिरहेको समयमा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणमा परी त्यही ठाउँकी ४० वर्षीया किरण लोध घाइते भएकी प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । उनका भतिजा राजु लोधले धान काटिरहेको समय चितुवाले आक्रमण गर्दा उनको टाउको र हातमा चोट लागेको जानकारी दिए । चार जना गाउँका महिला लोधसँगै खेतमा धान काटिरहेको समय चितुवाले आक्रमण गर्दा हँसिया प्रयोग गरेपछि भागेको उनले जनाए । 

घाइते लोधलाई उपचारका लागि जिल्ला अस्पताल, गुलरिया ल्याइएको छ । जिल्ला अस्पताल, बर्दियाका डाक्टर सुरेश पन्थले घाइते लोधको अवस्था मध्यम रहेको बताए ।

नेपाल–भारत सीमा नजिक उक्त घटना भएको हो । नेपालतर्फ वन जंगल छैन । भारतीय भूभाग घना जंगल र आरक्ष पर्दछ । चितुवा भारतको जंगलबाट आएको स्थानीयको अनुमान छ ।

शुक्रबार मात्रै बारबर्दिया नगरपालिका–१० डफैयामा धान काटिरहेको समय बाघले आक्रमण गर्दा त्यही ठाउँकी जुना चौधरी गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेकोले शिक्षण अस्पताल, कोहलपुर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully