बर्दियामा बाघको आक्रमणबाट महिला सख्त घाइते

बारबर्दिया नगरपालिका–१० डफैयामा घर नजिकै खेतमा धान काटिरहेको समयमा उनलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आश्विन २४, २०८२

कमल पन्थी

Woman seriously injured by tiger attack in Bardia

बर्दिया — बाघको आक्रमणमा परी शुक्रबार महिला सख्त घाइते भएकी छन् । बारबर्दिया नगरपालिका–१० डफैयामा घर नजिकै खेतमा धान काटिरहेको समयमा उनलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणमा परी सोही ठाउँकी ४५ वर्षीया जुना चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी देवेन्द्र मल्लले जनाए ।

घाइते चौधरीको घाटीमा गम्भीर चोट लागेकोले उपचारका लागि शिक्षण अस्पताल, कोहलपुर पठाएको उनले जनाए । धान खेत नजिक जनजागृति सामुदायिक वनबाट बाघ आएर आक्रमण गरेको हो ।

उक्त घटना सदरमुकाम गुलरियाबाट करिब २० किमि उत्तरमा पर्दछ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully