पर्यटक तानिरहेको गोही प्रजनन केन्द्र

पर्यटकहरू जंगल सफारीसँगै बर्दिया निकुञ्जको मुख्यालय हाता ठाकुरद्वारामा रहेको केन्द्रमा पुग्ने गर्छन् ।

भाद्र १, २०८२

कमल पन्थी

Crocodile breeding center attracting tourists

What you should know

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा ४५ वर्षअघि स्थापना भएको गोही प्रजनन केन्द्र पर्यटकको रोजाइमा पर्दै गएको छ । गोही संरक्षणका लागि स्थापना भएको संरक्षण केन्द्रमा घडियाल र मगर गरी दुई प्रजातिका गोही छन् । 

यही केन्द्र अवलोकनका लागि बर्सेनि हजारौं पर्यटक आउने गरेका छन् । पर्यटकहरू जंगल सफारीसँगै निकुञ्जको मुख्यालय हाता ठाकुरद्वारामा रहेको केन्द्रमा पुग्ने गर्छन् । संकटापन्न अवस्थामा पुगेको गोहीलाई वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूची राखेर सरकारले संरक्षणको प्रयासलाई जारी राखेको छ ।

कुनै समय पूर्व राप्ती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णालीजस्ता नदीहरुमा प्राकृतिक बासस्थानमा गोही बाक्लै पाइन्थ्यो । तर बासस्थान विनाश र बढ्दो मानवीय अतिक्रमणले यो प्राणी लोप हुने अवस्थामा पुग्यो । त्यसैले सरकारले संरक्षणको प्रयासमा ४५ वर्षअघि चितवन र बर्दियामा गोही प्रजनन केन्द्र स्थापना गरेको हो । 

निकुञ्ज प्रशासनले प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई पालनपोषण गर्ने र प्राकृतिक वातावरणमा बाँच्न सक्ने भएपछि (५ वर्ष पुगेपछि) बबई, कर्णाली र राप्ती नदीमा छाड्ने गरिएको छ । हाल यस केन्द्रमा प्रजनन उमेरका मगर र घडियाल प्रजातिका भाले ४ र १० वटा पोथी छन् । साना ९३ सहित १ सय ५२ वटा घडियाल गोही हुर्किइरहेको निकुञ्जका गेम स्काउट एवं गोहीको संरक्षणमा लागेका रंगीलाल थारु बताउँछन् ।

प्रजनन केन्द्रमा गोहीको अण्डा उत्पादन गरी बच्चा कोरल्ने गरिन्छ । तर यो वन्यजन्तुलाई हुर्काउन भने निकै चुनौती रहेको थारुले बताए । वर्षमा एउटा गोहीले ३० देखि ४० वटा अण्डा पार्छ । त्यसमा पनि ८, १० वटा खेर जान्छन् । जेठदेखि असारसम्म अण्डाबाट बच्चा निकाल्ने गरिन्छ । 

गोहीको आहारा र पालनपोषणमा वार्षिक १५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । यहाँ हुर्किरहेका गोहीलाई दैनिक करिब दुई किलो ससाना माछा चाहिन्छ ।

Crocodile breeding center attracting tourists

गोही प्रजननका साथै पर्यटन प्रवर्द्धनको अवधारणामा प्रजनन केन्द्र स्थापना भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । यहाँ दैनिक औसत एक सयजना पर्यटक अवलोकनङ्का लागि पुग्ने गरेका छन् । निकुञ्जका संरक्षणकर्मीका अनुसार मगर गोही खतरनाक हुन्छ र मानिसलाई समेत आक्रमण गर्छ भने घडियाल गोहीले केही गर्दैन ।

चोरी सिकार, प्राकृतिक स्रोतको अत्यधिक दोहन, विषादीको प्रयोगले गोहीको प्राकृतिक वासस्थान विनाश हुँदै गएपछि गोही विश्वमै लोपोन्मुख अवस्थामा पुगेको छ ।

बर्दियामा पहिलोपटक मगर गोहीको आक्रमणमा गत साउन २० गते ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक रहेको खौराहा खोलामा पौडी खेल्दा मधुवन नपा–१ का रुप मिलन थारुको मृत्यु भएको थियो । यसअघि गोहीको आक्रमणमा कसैको ज्यान नगएको सूचना अधिकारी पौडेलले बताए । बर्दियाको बबई, कर्णालीलगायत सानाठूला खोला र तटीय क्षेत्रको खेतमा गोही छरिएर रहेकाले सतर्कता अपनाउन मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले बताए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully