रहेनन् घडियाल गोहीका ‘घनिष्ठ गोठाला’

वेदबहादुर भन्थे– ‘घडियाल जोगाउनु भनेको वातावरण जोगाउनु हो, नदी जोगाउनु हो र समग्रमा मान्छेलाई नै जोगाउनु हो’

जेष्ठ १३, २०८२

रमेशकुमार पौडेल

Ghadiyal is no longer the ”close shepherd” of crocodiles.

चितवन — वेदबहादुर खड्काले सहायक संरक्षण अधिकृत भएर आफ्नो जागिरे जीवनको झन्डै दुई दशक चितवन निकुञ्जमा बिताए । खड्का निकुञ्ज कार्यालयमाभन्दा धेरै नारायणी र राप्तीको बगरमा देखिन्थे । बगेको सफा पानीमा बस्ने घडियाल गोही विश्वको निकै दुर्लभ जीव हो । यसको रेखदेख गर्ने जिम्मेवारी खड्काको काँधमा थियो ।

चितवन निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रको प्रमुख रहेर काम गरेका खड्का अब कहिल्यै नदेखिने, नभेटिने गरेर सोमबार यो संसारबाट बिदा भए । भौतिक रूपमा उनी नरहने पनि नेपालमा घडियाल गोहीको चर्चा हुँदा वेद खड्काको नाम सायदै कसैले बिर्सने छ ।

घडियाल जति दुर्लभ जीव हो त्यत्ति नै यसका बारेमा जानकार व्यक्तिहरू नेपालमा निकै नै कम छन् । खड्का घडियालका हरेक पक्षमा जानकार रहँदै ती जानकारीहरूलाई फैलाउन तल्लीन रहने व्यक्ति थिए । समुदाय स्तरमा घडियालका बारेमा सचेतना फैलाउने कामदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि पुगेर खड्काले घडियाल संरक्षणमा नेपालले पाएको सफलता संसारलाई सुनाएका थिए ।

क्यान्सर भएका खड्काको ६१ वर्षको उमेरमा निधन भएको हो । जागिरे जीवनबाट साढे चार वर्षअघि पुसमा अवकाश पाएका खड्का घडियाल गोही प्रतिको लगावले नै होला अवकाशपछि पनि केही समय कसरा प्रजनन केन्द्रमा नै बसेका थिए । उनले भनेका थिए, ‘लामो समय बसियो । खटेर काम गरियो । अब यहाँ आउनेहरू पनि त्यसरी नै काम गरुन् भन्ने लाग्छ । उनीहरूलाई घडियालका महत्त्व र संरक्षणका बारेमा बताउन पनि केही समय यतै बस्नु पर्‍यो ।’ 

जमिन र जल दुवै ठाउँ बस्ने जीव हो गोही । नेपालमा गोहीका दुई प्रजाति घडियाल र मगर गोही पाइन्छन् । सफा बगेको पानीमा बस्ने, माछा मात्रै खाने घडियाल गोही संकटमा परेको छ । प्राकृतिक बासस्थलमा बाँच्ने दर निकै कम भएपछि घडियाल जोगाउन चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा २०३५ सालमा घडियाल गोही प्रजनन केन्द्र खुल्यो । सो प्रजनन केन्द्रमा २०४९ सालदेखि हाल पनि कार्यरत प्रेम शर्माका अनुसार खड्काले कसरा गोही प्रजनन केन्द्रमा प्रमुख भएर १८ वर्ष काम गरे । चितवन आएपछि बीचमा दुई वर्ष लामटाङ निकुञ्जमा गएका थिए । नभए उनी चितवन र कसराको प्रजनन केन्द्रमै बसे । घडियाल जोगाउने बढाउने काम निकै चुनौतीपूर्ण रहेको छ । समर्पित भएर नलागे यो काममा प्रभावकारी नतिजा आउँदैन ।

सन् १९४० सम्म विश्वमा १० हजार जति घडियाल थिए । पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश र म्यानमारमा पाइने घडियाल सन् १९७० हृवात्तै घटेर संसारभर जम्मा दुई सयको हाराहारीमा पुगेका थिए । त्यसैले घडियाल जोगाउने अवधारणा आएको हो । २०३५ सालमा चितवनमा प्रजनन केन्द्र खुल्दा नेपालमा ५० को हाराहारीमा घडियाल थिए । घडियाल सफा पानीमा मात्रै बस्दछ । नदी र खोलानाला प्रदूषित हुँदा गोहीलाई गाह्रो भएको छ । यसको मुख्य आहारा नै माछा हो । माछामा मान्छेको पनि मन गढेको छ । 

Ghadiyal is no longer the ”close shepherd” of crocodiles.

यी चुनौतीलाई चिर्न समुदायदेखि नीति निर्मातासम्मलाई सचेत र सजग गराउनु पर्दछ । प्राकृतिक बासस्थलमा घडियालले पारेका अण्डा संकलन गरेर बच्चा कोरल्न प्रजनन केन्द्रमा राख्ने गरिन्छ । घडियालले अण्डा पार्ने समय चैततिर बालुवामा गोहीको गुँड खोज्दै जानु पर्दछ । गुँडमा रहेका अण्डा झिकेर प्रजनन केन्द्रमा ल्याउनु पर्दछ । प्राकृतिक बासस्थलमा घडियाल बाच्न नसकेर संख्या निरन्तर घट्दै गएपछि बच्चा कोरल्न प्रजनन केन्द्रमा अण्डा ल्याउन सुरु भएको हो ।  

खोला आडको बालुवामा बनाएको गुँडका अण्डा ल्याएर प्रजनन केन्द्रमा बच्चा कोरलेपछि तिनको राम्रो रेखदेख र स्याहार गर्नु पर्दछ । त्यहाँका बच्चा १५० सेन्टिमिटरका भएपछि प्राकृतिक बासस्थलमा छाडिन्छ । अण्डाबाट निस्केको पाँच वर्षपछि बच्चाको लम्बाइ यत्तिको हुन्छ । यसरी हुर्केका बच्चा नदीमा छाडे पनि घडियाल फस्टाउन सकेका छैनन् । चितवनमा सबैभन्दा धेरै घडियाल गोही राप्ती नदीमा छन् । निकुञ्जबाट प्राप्त विवरण अनुसार राप्तीमा १५२ र नारायणी नदीमा ११३ गरी चितवनका खोला र नदीमा कुल २६५ वटा घडियाल छन् । जोगाउनै गाह्रो हुने घडियाल यो संख्यामा पुर्‍याउन खड्काको योगदान प्रमुख रह्यो भन्छन् चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर । ‘अनुभव र ज्ञान भएको व्यक्ति हुनुहुन्थ्यो र आफ्नो जिम्मेवारी पूरै लगनका साथ पूरा गर्नु भयो । नतिजाले उहाँको लगावलाई पुष्टि गरेको छ,’ कुँवरले भने ।

खड्कासँगै अनुसन्धानमूलक लेख लेखनमा काम गरेका आशिष बस्याल जागिरे जीवनमा खड्काको रुचि चराप्रति थियो । तर चितवन पुगेर घडियाल प्रजनन केन्द्रमा बस्न थालेपछि खड्का घडियालको सिल, स्वभाव, अवस्था र संरक्षणका चुनौतीका बारेमा घोत्लिन थाले । चराप्रतिको रुचि पनि उनले त्याग्न त सकेनन् । तर मुख्य रूपले घडियाल संरक्षणमा नै उनी समर्पित भए भन्छन् बस्याल । उनका विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा ६० को हाराहारीमा अनुसन्धानमूलक लेख प्रकाशित छन् । जसमध्ये २० भन्दा धेरै घडियालका बारेमा नै छन् भन्छन् बस्याल । गोही सम्बन्धी भारत, श्रीलंका, दक्षिण अफ्रिाकामा भएका अन्तर्राष्ट्रिय सभा सम्मेलनमा पनि उनी सहभागी भए । जर्नलमा लेख्ने खड्काले जागिरको सुरुवातमा घडियालका सूक्ष्म विवरण पनि हातैले कागजमा लेखेर राख्थे । जसले गर्दा घडियालको रेकर्ड राख्ने परम्पराको सुरुवात भएको बस्यालको भनाइ छ ।

Ghadiyal is no longer the ”close shepherd” of crocodiles.

‘प्रजनन केन्द्र सुरुवात गर्न पूर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादव सरको ठूलो देन छ । यादव सरको देनलाई बिर्सन मिल्दैन । तर यादव सरले सोचेको तरिकाले प्रजनन केन्द्रलाई लैजान खड्काजीको भूमिका महत्त्वपूर्ण छ । यसमा मेहनत र धैर्य चाहिन्छ, जुन खड्काजीमा थियो,’ पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले सम्झे । घडियाल अनुगमनका लागि खड्का हप्तौं नदी र बगरमा डुल्थे । बगरमै सुत्थे, डुंगामा खान्थे । अण्डा संकलनमा पनि त्यसरी नै संसार बिर्सेर खोला चाहर्थे । घडियालको उद्धारमा पनि त्यसैगरी कुद्थे । कार्यालयको जिम्मेवारीमा पनि जाँगर चलाउने गर्दथे । मुद्दा अनुसन्धानमा पनि लाग्थे । तर उनको मनमा घडियाल नै हुन्थ्यो । साथीभाइ भेट हुँदा पनि गोहीकै बारेमा धेरै गफगाफ गर्दथे ।

नदी र खोलामा प्रदूषण नभए, खेतबारीमा विषादी नराखे पानी सफा र शुद्ध हुन्छ । त्यस्तो पानीमा माछा बस्छ । जथाभावी माछा नमारे घडियालको पनि आहारा पुग्छ । घडियालले माछा मात्रै खान्छ, मान्छेलाई कुनै हानी गर्दैन भन्ने जानकारी उनी समुदायलाई दिन्थे । घडियाल जोगाउनु भनेको वातावरण जोगाउनु हो, नदी जोगाउनु हो र समग्रमा मान्छेलाई नै जोगाउनु हो भन्ने ज्ञान उनी समुदायमा पुर्‍याउँथे । घडियालको संरक्षणमा यसरी लाग्ने व्यक्ति बिरलै जन्मने गर्दछन् । सरकारको काम कहिले जाला घाम भन्ने उखान विपरीत उनले सरकारले सुम्पेको जिम्मेवारीलाई दिन रात, घाम पानी, हिउँद, बर्खा नभनी पुरा गरे । उनलाई घडियालका गोठाला भन्दा फरक पर्दैन । संरक्षणमा समर्पित घनिष्ठ गोठाला । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully