गोहीको आक्रमणमा बेपत्ता युवा मृत फेला

मंगलबार थारुसहित तीनजना युवा पौडी खेल्न खौराहा खोला पुगेका थिए । तीमध्ये दुई जना सकुशल खोलाबाट निस्कन सफल भएका थिए ।

श्रावण २४, २०८२

कमल पन्थी

Missing youth found dead in crocodile attack

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक खौराहा खोलामा गोहीको आक्रमणमा मंगलबारदेखि बेपत्ता भएका युवा मृत फेला परेका छन् ।

बेपत्ता भएका मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुको शव नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजीपछि शनिबार खोराहा खोला किनारमा फेला पारेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारदी दिए । 

मंगलबार थारुसहित तीनजना युवा पौडी खेल्न खौराहा खोला पुगेका थिए । तीमध्ये दुई जना सकुशल खोलाबाट निस्कन सफल भएका थिए । पाँच दिनदेखि बर्दिया निकुञ्जको दुई वटा हात्ती, सेनाको मोटरबोट सशस्त्र प्रहरीका गोताखोर, नेपाल प्रहरीलगायत स्थानीय खोजी कार्यमा खटिएका थिए । 

निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले थारुको शव फेला परेको पुष्टि गरेका छन् । मधुवन–१ का वडाध्यक्ष मिन थापाले थारुको दुई वटा हात र खुट्टाबाहेक शरीरका अन्य अंग फेला परेको बताए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully