गैरजिम्मेवार पदाधिकारीका कारण एक सातादेखि कामकाज ठप्प ।
What you should know
लुम्बिनी — शान्तिको उद्गमथलो लुम्बिनी विरोध र धर्ना कार्यक्रमले एक सातादेखि अस्तव्यस्त बनेको छ । साउन १३ बाट लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा कर्मचारीले तालाबन्दी गरेर कामकाज ठप्प गरेपछि शान्तिस्थल लुम्बिनी अस्तव्यस्त बनेको हो । आन्दोलनका लागि कपिलवस्तुको तिलौराकोट, निग्रोधाराम, रूपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्रामबाट कर्मचारीहरू बिहान १० बजे नै लुम्बिनी कोष प्रधान कार्यालयअघि धर्ना दिन पुगिसक्छन् ।
साउन ८ र ९ मा हातमा कालो पट्टी बाँधेर कर्मचारीले आफ्ना माग पूरा गर्न दबाब दिँदै काम गरेका थिए । त्यसपछि पनि मागबारे कुनै सुनुवाइ नभएपछि साउन १३ देखि कामकाज ठप्प पारी कार्यालयमा तालाबन्दी गरेर विरोध गर्दै आएका हुन् । कर्मचारी युनियनले साउन ५ मै ज्ञापनपत्र बुझाएर विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।
संसारभरबाट शान्तिको ऊर्जा लिन आउने लुम्बिनी एक सातादेखि अशान्त हुँदा पर्यटक, श्रद्धालु र उपासक निराश मानेर फर्किरहेका छन् । चारबुँदे माग राखेर आन्दोलित बनेका लुम्बिनी विकास कोष कर्मचारी युनियनको मागका बारेमा जिम्मेवार पदाधिकारीले कुनै चासो राखेका छैनन् । कर्मचारीसँग समस्या समाधान गर्न सामान्य सोधपुछसमेत नगरेको भन्दै कर्मचारी झनै आक्रोशित बनेका छन् ।
कोषका जिम्मेवार पदाधिकारी सबै राजधानीमा डेरा जमाएर बसेका छन् । उपाध्यक्ष ल्याहारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई र योजना प्रबन्धक स्मिता भट्ट सबै अहिले काठमाडौंमा छन् । कोषाध्यक्ष भट्टराई बिरामी भई उपचार गराइरहेका छन् भने सदस्य–सचिव शाक्यले साउन ५ मै राजीनामा दिए पनि स्विकृत भएको छैन । कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई र लेखा अधिकृत नवल यादव पनि अहिले काठमाडौंमै छन् । पदाधिकारी र उच्च अधिकृत राजधानीमा हुँदा कर्मचारीको मागप्रति सुनुवाइ हुन नसकेको हो ।
लुम्बिनीमा उपलब्ध वरिष्ठ कर्मचारीमध्ये कसैलाई पनि कोषको निमित्त प्रमुखको जिम्मेवारी नदिँदा कोष अभिभावकविहीन बनेको छ । यसले कर्मचारीले आफ्नो अपमान भएको भन्दै कडा आन्दोलन गर्न छलफल गरिरहेको कर्मचारी युनियनका अध्यक्ष अब्दुल ओफाले बताए । ‘हाम्रा मागलाई पूरै बेवास्ता गरिएको छ । अहिलेसम्म कोषको प्रधान कार्यालयमा तालाबन्दी गरेका थियौं । अब कोष गुरुयोजनाभित्र प्रवेश गर्ने गेटमै तालाबन्दी गर्छौं,’ उनले भने ।
माग सुनुवाइ नभएको भन्दै सोमबार बसेको युनियन बैठकले दुई/तीन दिनमा टिकट काउन्टर र संग्रहालयमा तालाबन्दी गर्ने निर्णय पनि गरेको छ । ‘शान्तिपूर्ण आन्दोलन अशान्त भयो भने त्यसको सबै जिम्मेवारी पदाधिकारीले लिनुपर्छ । उपाध्यक्षलाई १० औं पटक फोन गर्दा पनि उठेन,’ अध्यक्ष ओफाले भने ।
आफूहरू आन्दोलनमा उत्रिएको यतिका दिन बितिसक्दा पनि कुनै मतलब नहुँदा अचम्म लागेको कर्मचारी युनियनका कोषाध्यक्ष प्रकाश यादवले बताए । ‘जिम्मेवार पदाधिकारी गैरजिम्मेवार भए । अब निर्णायक आन्दोलनको रणनीति बनाउने छलफलमा छौं,’ उनले भने ।
लुम्बिनी विकास कोषका कर्मचारी पानी परेपछि कार्यालयको बरन्डामा बसेर धर्ना दिंदै । तस्बिरहरू : मनोज पौडेल/कान्तिपुर
प्रशासनिक कामकाज ठप्प गरेर आन्दोलन गर्दा कार्यालयलाई धेरै नकारात्मक प्रभाव परिरहेको छ । चालु आर्थिक वर्षको वार्षिक नीति, योजना कार्यक्रम बनाउन ढिलो भइरहेको कोषका सूचना अधिकृत राजन बस्नेते बताए । त्यस्तै करोडौंको काठ लिलामीको प्रक्रिया अघि बढाउन नसक्दा पानीले सडिरहेको र अन्य विकासे काम गर्न टेन्डर गर्न ढिलो भइरहेको उनले बताए । त्यस्तै गत आर्थिक वर्षमा सम्पन्न बुद्ध जयन्तीको रकम भुक्तानी रोकिँदा विभिन्न सेवा प्रदायक र व्यवसायीको कोषप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको उनले बताए । ‘अब धेरै समय यस्तै रहे कोषसँग हजार रुपैयाँको उधारोको काम गर्न पनि तर्सिनु पर्छ । रकम तिर्न ढिलो गर्दा कोषप्रति हेर्ने दृष्टिकोण धेरै नकारात्मक बनिरहेको छ,’ उनले भने ।
कर्मचारी आन्दोलित भई कामकाज ठप्प भएर नकारात्मक सन्देश जाँदासमेत समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र कोषका पदाधिकारी कसैले पनि अग्रसरता लिएका छैनन् । संवादको पहल नगरेर खेलवाड गरिरहेकाले आफूहरूलाई अझ कडा आन्दोलन गर्न प्रेरित गरिरहेको कर्मचारीले बताए । कोषका अध्यक्ष संस्कृतिमन्त्री बद्री पाण्डेले पनि माग सम्बोधन गर्न कुनै चासो नलिएको कर्मचारीहरूको आरोप छ ।
लुम्बिनीस्थित कोषको प्रधान कार्यालयअघि मुख्य गेटमा तालाबन्दी गरेर कर्मचारीले १० देखि ५ बजेसम्म दिनहुँ धर्ना दिइरहेका छन् । मुख्य गेट र कार्यालयका शाखामा तालाबन्दी गरिएको छ । कोषका सबै कर्मचारी कामकाज ठप्प पारेर प्रधान कार्यालयको मुख्य गेट छेउमा आँपको रुखमुनि दिनभर बस्ने गरेका छन् । पानी परेका बेला मात्र उनीहरू कार्यालयभित्र पस्छन् ।
कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनुपर्ने, कर्मचारी विनियमावली संशोधन गरेर उमेरहद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग गरेका छन् । त्यस्तै दरबन्दी चाँडै स्विकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनुपर्ने र कोष कर्मचारी विनियमावली ०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने माग राखेका छन् ।
कोषमा ४० स्थायी र १ सय ७७ सेवा करारका कर्मचारी छन् । आफन्त भएकाले कोषमा करारमा काम गरेको ८/९ वर्षमा स्थायी बनाए तर युनियन अध्यक्ष ओफा १८ वर्ष काम गर्दा पनि अझै सेवा करारमा रहेको युनियन सचिव जितेन्द्र यादवले बताए । कर्मचारीले आन्दोलन गरे पनि सुरक्षा र राजस्व संकलनलाई बाधा नगरिएको कर्मचारी युनियनले जनाएको छ । कतिपय सुरक्षाकर्मी समेत आन्दोलनमा सहभागी छन् ।
शान्तिभूमि भनेर विश्वमा चिनिने लुम्बिनीमै अहिले अशान्ति, तनाव र उच्छृंखल वातावरण बढ्दै जाँदा चिन्ता थपिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी बजिरले बताए । ‘जिम्मेवार पदाधिकारीले समस्या समाधान गर्न लागिहाल्नु पर्छ । नभए देशविदेशमा नराम्रो सन्देश जान्छ,’ उनले भने । उच्चस्तरका कर्मचारी, पदाधिकारीबीच समस्या हुँदा त्यसको मार साना कर्मचारी, तीर्थयात्री, उपासक–उपासिका र भिक्षु भिक्षुणीमा परेको छ । निर्णय लिन नसक्ने र कोषभित्र एकआपसमा अविश्वास बढ्दा पनि गाह्रो भइरहेको छ । कर्मचारीका जायज माग पूरा गरेर समस्या समाधान गर्नुपर्ने कोषका सुरक्षा शाखा प्रमुख खगेन्द्र काफ्लेले बताए ।
गत आर्थिक वर्षमा कोषको आन्तरिक आम्दानी १७ करोड र खर्च १७ करोड ५३ लाख भएको थियो । तलबभत्ता र कार्यालय संचालनका लागि सरकारले अन्य बजेट दिँदैन । मुलुकको सबैभन्दा बढी भ्रमण गर्ने गन्तव्य लुम्बिनीमा बर्सेनि करिब दुई लाख विदेशी, त्यसभन्दा बढी भारतीय र १६ लाख बढी नेपाली आउँछन् । कोषमा देखिएको समस्या समाधानका लागि पर्यटन मन्त्रालयमा छलफल भइरहेको कोषका उपाध्यक्ष ल्याह्यारक्याल लामाले बताए ।
