आन्दोलनले अशान्त लुम्बिनी

भिक्षुदेखि कर्मचारीका आ–आफ्ना माग

श्रावण १५, २०८२

मनोज पौडेल, दीपेन्द्र बडुवाल

Lumbini disturbed by agitation

What you should know

लुम्बिनी — संसारभरबाट शान्तिको ऊर्जा लिन जति रोमाञ्चित भएर पर्यटक, श्रद्धालु र उपासिक लुम्बिनी आउँछन्, अहिले उनीहरु त्यत्ति नै दिक्दारी मानेर फर्किरहेका छन् । सद्भाव, करुणा, मैत्री र मुदिताको भाव पलाउने लुम्बिनीमा कर्मचारी आन्दोलन र भिक्षुको विरोध कार्यक्रमले अशान्त छ ।

लुम्बिनी विकास कोषका पदाधिकारी जिम्मेवार र उत्तरदायी नहुँदा लुम्बिनी अहिले अशान्त र त्रसित बनेको छ । लुम्बिनीमा अहिले धर्ना जुलुस र विरोधका कार्यक्रम चलिरहेका छन् । कोषका कर्मचारीदेखि भिक्षुसम्म आन्दोलित बनेका छन् । यसले यहाँको आध्यात्मिक वातावरण धुमिल हुँदै गएको छ । 

कोषका कर्मचारी तीन दिनदेखि प्रशासनिक कामकाज ठप्प गरेर आन्दोलित छन् । लुम्बिनीस्थित कोषको प्रधान कार्यालयअघि मुख्य गेटमा तालाबन्दी गरेर १० देखि ५ बजेसम्म धर्ना दिइरहेका छन् । मुख्य गेट र कार्यालयका शाखामा तालाबन्दी गरिएको छ । कोष कर्मचारी युनियनले ४ बुँदे माग राखेर विरोध कार्यक्रम गरिहेका हुन् । कोषका सबै कर्मचारी कामकाज ठप्प पारेर प्रधान कार्यालयको मुख्य गेट छेउमा आँपको रुखमुनी अनिश्चितकालीन आन्दोलनमा दिनभर बसिरहेका हुन्छन् । शान्तिस्थल अशान्त हुँदा पनि कोषका जिम्मेवार नेतृत्वकर्ता राजधानी बसेका छन् । संवादको कुनै पहल नगर्दा कर्मचारी आक्रोशित छन् । 

वैशाख २९ गते बुद्धजयन्ती मनाएर राजधानी गएका कोषका उपाध्यक्ष ल्हारक्याल लामा उतै रमाएका छन् । राजधानीबाटै विदेश गएर फर्किए तर, लुम्बिनी आएका छैनन् । कोषाध्यक्ष ढुण्डीराज भट्टराई गत वैशाख ३० गते अस्वस्थ्य भएर उपचारका लागि राजधानी गएपछि फर्किएका छैनन् । रोग बल्झिँदा उनी अझै उपचारमै छन् । यता कोषका सदस्यसचिव सानुराजा शाक्यले राजीनामा दिएका छन् । उनले साउन ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई राजीनामा दिए पनि स्विकृत नभएको स्रोतले जनाएको छ । आउँदो असोज २७ गते उनको ५ वर्षे कार्यकाल सकिनुअघि नै उनले राजीनामा दिएका थिए । 

उता कोष योजना प्रबन्धक स्मिता भट्ट पनि साउन ५ गतेबाट कार्यालयमा छैनन् । सचिव शाक्यले कर्मचारी आन्दोलन र उपाध्यक्ष लामासँगको बेलाबेला हुने मनमुटाव र विवादले गर्दा राजीनामा दिएको स्रोतले जनाएको छ । त्यस्तै वैशाखमा सम्पन्न बुद्ध जयन्तीमा यातायात, आवासलगायतमा भएको अस्वाभाविक खर्च भुक्तानीको दबाब थेग्न नसकेर राजीनामा दिएको स्रोतको दाबी छ । 

कोषका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र योजना प्रबन्धक चारै जना जिम्मेवार पदाधिकारी लुम्बिनीमा नहुँदा कोषका अधिकारीमा गैरजिम्मेवारीपन देखिएको छ । कोषका वरिष्ठ निर्देशक ज्ञानीन राई पनि राजधानीमै छन् । सरकारले दिएको जिम्मेवारीप्रति उनीहरु चुक्दै गएको देखिएको छ । 

यता सदस्य सचिव शाक्यले राजीनामा दिएकोबारे आधिकारिक भन्न नमिले पनि काम गर्न अन्य साथीलाई मार्ग प्रशस्त गरेको बताए । ‘काम गर्न पदाधिकारीबीच सरसल्लाह नहुँदा समस्या भइरहेको थियो,’ उनले भने, ‘मैलेमात्रै सबै कुराको समाधान गर्न सक्ने अवस्था थिएन । असहज भएर अलग भएर बसेको छु ।’ अहिले लुम्बिनीमा कोषको निमित्त प्रमुख को हो कसैलाई थाह छैन । आठौं तहका सबैभन्दा वरिष्ठ अधिकृत हिमाल उप्रेती हुन् । तर, उनले आफूलाई कसैले निमित्त नदिएको बताए । 

Lumbini disturbed by agitation

लुम्बिनीमा कर्मचारी आन्दोलित भई कामकाज ठप्प भएर नकारात्मक सन्देश जाँदासमेत उनीले समस्या समाधानका लागि अग्रसरता लिएका छैनन् । संवादको पहल नगरेर खेलवाड गरिरहेकाले आफूहरुलाई अझ कडा आन्दोलन गर्न बाध्य बनाइरहेको कर्मचारी युनियनका अध्यक्ष अब्दुल ओफाले बताए । ‘शान्तिस्थललाई अशान्त बनाउने कुनै मनसाय छैन्,’ उनले भने, ‘तर, हाम्रो माग पूराको कुरा त छाडौं कुरा पनि सुन्न चाहेका छैनन् । त्यहीँ भएर हामीलाई आक्रोशित बनाइँदैछ । अहिलेसम्म वार्ताका लागि बलाइएको छैन् ।’ कर्मचारीले साउन ५ गते नै ज्ञापनपत्र बुझाएर विरोधको कार्यक्रम सार्वजनिक गरेका थिए । साउन ८ र ९ गते हातमा कालोपट्टी बाँधेर काम गरे । माग पूरा नभएपछि साउन १२ देखि कामकाज ठप्प गरेर कार्यालयमा तालाबन्दी गरेर बसेका छन् । 

कर्मचारी युनियनले संचित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनु पर्ने, ०७९ कर्मचारी विनियमावली संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक प्रतियोगिता परीक्षाबाट हाल सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग गरेका छन् । 

त्यस्तै दरबन्दी चाँडै स्विकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनु पर्ने र कोष कर्मचारी विनियमावली ०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने माग राखेका छन् । कोषका ३५ वटा मोटरसाइकल, १७ विद्युतीय बस र भ्यान तथा ३ वटा डिजल गाडी कर्मचारीले कोषमा थन्काएका छन् । मोटरसाइकल, गाडी चढ्दै गरेका कर्मचारीसँग मागेर कोष परिसरमा थन्काइएको कर्मचारी युनियन सदस्य अक्दुलअहद खानले बताए । कोषमा ४० स्थायी र १ सय ७७ जना सेवा करारका कर्मचारी छन् । आफन्त भएकाले कोषमा करारमा काम गरेको ८/९ वर्ष स्थायी बनाए पनि युनियन अध्यक्ष ओफा १८ वर्ष काम गर्दा पनि अझै सेवा करारमा रहेको युनियन सचिव जितेन्द्र यादवले बताए । ‘यहाँ हुनसम्म भेद्भाव छ,’ उनले भने, ‘त्यहीँ भएर बाध्य विद्रोह भएको हो ।’ 

२०५८ को कोष कर्मचारी विनियमावलीमा ७० प्रतिशत स्थानीयलाई जागिरमा ग्राहयता दिने व्यवस्था गरिएकामा ०७९ विनियमावली मनलाग्दी संशोधनमा गरेर षड्यन्त्र गरी हटाइएको उनले बताए । 

यता राजनीतिक रुपमा विगतमा नियुक्ति भई आएका पदाधिकारीले आफ्ना मान्छेलाई बिनापरीक्षा विभिन्न पदमा नियुक्त गर्दा आवश्यकताभन्दा धेरै कर्मचारी भएर कोषमा अहिले समस्या आएको एक कर्मचारीले बताए । सेवा करारमा रहेका कर्मचारीलाई सक्ने जति कोषले सुविधा दिएको कोषका एक अधिकृतले बताए । कर्मचारीले आन्दोलन गरे पनि सुरक्षा र राजस्व संकलनलाई बाधा नगरिएको कर्मचारी युनियनले जनाएको छ । तर, कतिपय सुरक्षाकर्मी पनि आन्दोलनमा सहभागी छन् । 

Lumbini disturbed by agitation

लामो समय विस्मृतिमा रहेको लुम्बिनी र अशोक स्तम्भ डिसेम्बर १, १८९६ मा डा. एए फयुहरर र खड्गशम्शेरले पत्ता लगाएर शान्तिको सहर बन्दै गएको ठाउँमा अहिले अशान्ति, तनाव र उच्छृंखल वातावरण बढ्दै जाँदा चिन्ता थपिएको छ । तर, चासो दिने मान्छेको अभावमा यहाँको वातावरण दिनानुदिन बिग्रँदै गएको छ । यहाँ कर्मचारीमात्रै हैन भिक्षुहरु पनि आन्दोलित बनेका छन् । भिक्षुहरुको संस्था लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका तर्फबाट कोषको गुरुयोजनाभित्र रहेका विहार, मन्दिर, गुम्बा र चैत्यमा नियमित बिजुली आपूर्तिको माग गर्दै ज्ञापनपत्र दिइएको छ । 

लुम्बिनी विकास कोष र विद्युत् प्राधिकरण लुम्बिनी बिक्री केन्द्रमा साउन ५ गते ज्ञापनपत्र दिइएको हो । बिजुली अनियमित हुँदा भिक्षु भिक्षुणीको दैनिकी, पूजापाठ र ध्यान गर्न निकै समस्या भएकाले बाध्य भएर कार्यालयमा गएर विरोध गर्दै ज्ञापनपत्र दिइएको नेपाल मन्दिरका प्रमुख भिक्षु सागर धम्मले बताए । 

दुई/तीन वर्षदेखि अनुनयविनय गर्दागर्दै सुनवाइ नभएरपछि बाध्य भएर चिबर लगाएका पनि विरोधमा उत्रिनु परेको उनले बताए । लुम्बिनीस्थित कोष गुरुयोजनाका विहार मन्दिरमा ५/६ वर्षदेखि विद्युत‍्को ठूलो समस्या छ । ‘यहाँ दैनिक बिजुली नगएको दिन छैन्,’ लुम्बिनी बुद्ध धर्म संरक्षण समिति सदस्य भिक्षु झयाङछयुव होएसेरले भने, ‘१०/५ मिनेट भए पो सहने । एक घण्टादेखि २५ घण्टासम्म बिजुली जाँदा त दैनिकी सम्हाल्न नसक्ने हुन्छ । तराईको उखरमाउलो गर्मीमा जीवनयापन नै कष्टकर हुँदा बाध्य भएर विरोध गर्दै शान्तिकामी हामीहरु कार्यालय धाउँदै गरेको छौं । तर, पनि सुनवाई भएको छैन् ।’ भिक्षु मान्छे ध्यानसाधना गर्नुपर्ने बेला नियमित बिजुली पाउ भनेर आफू विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा डेलिकेसन जान लागेको भन्दा दुःख लागेको बताए ।

खासमा लुम्बिनी कोषले आफै टेण्डर गरेर गुरुयोजनाभित्र बिजुलीका तार तान्ने र उपकरण राखेकाले त्यहाँबाट आउने समस्याबारे प्राधिकरण पन्छिने गरेको छ । कोषले २९ करोड लागतमा आफै विद्युतीकरण गरेको छ । कमसल तार र उपकरण राख्दा दैनिक समस्या आउने गरेको छ । यो पनि कमिसनकै कारण गुणस्तरहीन तार र उपकरण प्रयोग गर्दा यस्तो भएको प्राविधिक बताउँछन् । 

Lumbini disturbed by agitation

उच्चस्तरका कर्मचारी, पदाधिकारीबीच समस्या हुँदा त्यसको मार साना कर्मचारी, तीर्थयात्री उपासक उपासिका र भिक्षुभिक्षुणीमा परेको छ । उच्चस्तरका कर्मचारी, पदाधिकारीबीच समन्वय, सहकार्य, संवाद र सहयोगको अभाव छ । एकले अर्कालाई उडाउने, नटेर्ने र खुइल्याउन प्रतिस्पर्धा छ । त्यस्को असर यहाँ परेको हो । ‘यहाँ कसैले कसैको कुरा मान्दैन्, अहिलेको जस्तो कमजोर पदाधिकारी कहिल्यै देखिएनन् । यसले चारैतिर लुम्बिनीको महिमा र ओज घट्दै जान्छ,’ लुम्बिनीका स्थानीय लिलामणि शर्माले भने,‘कोषले स्थानीयलाई पूरै वेबास्ता गरेकाले अब लुम्बिनी बचाउन स्थानीय आन्दोलित हुने दिन पर छैन । त्यसैले समस्या समाधन गर्न नसक्ने कोष किन राख्ने भन्ने विषयमा बहस चलाउनु पर्ने देखिएको छ ।’ 

कोषका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र योजना प्रबन्धक चारै जना आफूलाई कार्यकारी सम्झन्छन् । कोषका चार जना सदस्य छन् । उनीहरु पनि आफूलाई कार्यकारी नै मान्छन् । संस्थाका आठै जना निर्देशन कार्यान्वयन गराउन तँछाडमछाड गर्छन् । तर, कानुनले कार्यकारी भनेर सचिवलाई मात्र चिन्छ । पदाधिकारीसम्बन्धी विनियमावली २०५८ मा उपाध्यक्षलाई कार्यकारी माने पनि यस्तै सबै समस्याले गर्दा २०७४ मा मन्त्रिपरिषद्ले सदस्य सचिवलाई मात्रै कार्यकारी रहेको निर्णय गर्दै पत्राचार गरेको कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । त्यहीँ निर्णयमा उपाध्यक्ष र कोषाध्यक्षले दैनिक हाजिर गर्नु नपर्ने र तलबभत्ता नपाउने स्पष्ट लेखेको उनले बताए । यत्ति स्पष्टता हुँदाहुँदै आफ्ना कार्यक्षेत्र बाहिर जाँदा समस्या बल्झिँदै गएर समस्या थपिएको बताए । भिजन, मिसन र गोल स्पष्ट नभएको र सदस्य सचिव शाक्यको कोषमा कमजोर नेतृत्वका कारण समस्या आएको सूचना अधिकृत बस्नेतले बताए । ‘निर्णय लिन नसक्ने र कोषभित्र एक आपसमा अविश्वास बढ्दा पनि गाह्रौं भइरहेको छ,’ उनले भने । 

कर्मचारीका जायज माग पूरा गरेर समस्या समाधान गर्नुपर्ने कोष प्रमुख पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । गत आर्थिक वर्षमा कोषको आन्तरिक आम्दानी १७ करोड र खर्च १७ करोड ५३ लाख भएको थियो । तलब भत्ता र कार्यालय संचालनका लागि सरकारले एक रुपैयाँ पनि दिँदैन् । लुम्बिनी मुलुकको सबैभन्दा बढी भ्रमण गर्ने गन्तव्य हो । यहाँ हरेक वर्ष करिब दुई लाख विदेशी, त्योभन्दा बढी भारतीय र १६ लाख बढी नेपाली आउने गरेका छन् । 

मनोज पौडेल

दीपेन्द्र बडुवाल

Link copied successfully