मुक्त कमलरीले मनाए गुरही पर्व

थारू समुदायमा बालबालिकालाई रोगव्याधि र बालीनालीमा कीरा नलागोस् भनेर यो पर्व मनाइन्छ ।

श्रावण १३, २०८२

दुर्गालाल केसी

Mukt Kamalari celebrated Gurhi festival

What you should know

दाङ — मुक्त कमलरीले थारु समुदायको महत्त्वपूर्ण चाड गुरही धुमधामका साथ मनाएका छन् । मंगलबार दाङमा जम्मा भएका पश्चिम तराईका विभिन्न जिल्लाका मुक्त कमलरीले सामूहिक रूपमा गुरही पर्व मनाएका हुन् । 

बालबालिकाले खेलाउने कपडाका साना गुडिया महिलाले भुइँमा फ्याक्ने र त्यसलाई रोग व्याधिको प्रतीकका रूपमा पुरूषले हरियो पातसहितको लट्ठीले पिट्ने चलन छ । थारू गाउँको चोकमा गुडिया फालिसकेपछि घरबाट पकाएर ल्याएका विभिन्न गेडागुडीका परिकार सबैलाई बाँडेर खाने चलन छ । 

थारू समुदायले गाइने कीरालाई गुरही कीरा भन्छन् । खेतीपाती सकिएपछि बालीनालीमा कीरा नलाग्न र गाउँमा रोग नलागोस् भनेर उक्त पर्व मनाइने परम्परा रहेको थारू अगुवा बताउँछन् । थारू जाति प्रकृतिपूजक मानिन्छन् । प्रकृतिप्रति विश्वास गर्ने भएकाले गुरहीको पूजा गरिन्छ । गाइने कीराले लामखुट्टे र धानमा लाग्ने कीरा खान्छ । गाइने कीराले कीरा खाएर बालीनाली जोगाउने भएका कारणले पनि यो पर्व मनाइने गरिएको उनीहरु बताउँछन् ।

बालबालिकालाई रोगव्याधि नलागोस् भन्ने विश्वासले यो पर्व मनाइने मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताइन् । ‘यसलाई बालिकाको पर्वका रूपमा पनि मनाइन्छ । प्राय: बालिका र किशोरीहरूले मनाउने गर्छन्,’ उनले भनिन्, ‘बालबालिकालाई रोगव्याधि नलागोस् भनेर यो पर्व मनाइन्छ ।’

गाउँघरबाट रोगव्याधि हट्ने र बालीमा कीरा नलाग्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीका दिन थारु समुदायले गुरही मनाउने गरेको हो । गुरही विभिन्न ठाउँमा फरकफरक तरिकाले मनाउने गरिन्छ । गुरही पर्वका अवसरमा मंगलबार दाङका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully