कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

थारू बस्तीमा गुरही

ठाकुरसिंह थारू

बर्दिया — थालभरि कपडाका पुतली । थारूहरू गुरही भन्छन् यसलाई । थालमै छ घुघरी । चना र केराउ मिसिएको यो एक प्रकारको प्रसाद हो । हातमा लठ्ठी र बनकस (बाबियो) को कोर्रा लिएर युवक तयारी अवस्थामा छन् । यही बेला एक युवतीले गुरही उडाइन् ।

थारू बस्तीमा गुरही

युवकले लठ्ठी र कोर्राले पिटे । पिटदै गुरही विसर्जन गरेपछि सबैले घुघरीको प्रसाद खाए । युवायुवतीहरू रमाउँदै घर फर्किए ।

सोमबार नागपञ्चमी मनाइरहँदा पश्चिम तराईका थारू समुदायले भने गुरही पर्व मनाएका हुन् । रोपाइँ सकिएपछि उनीहरूले यो पर्व मनाउँछन् । यसलाई वर्षको पहिलो पर्वका रूपमा लिइन्छ ।


अत्यधिक गर्मी र फोहोरले वर्षातका महिनामा मानिस बढी बिरामी हुन्छन् । त्यस्तै लगाइएको बालीमा कीराको प्रकोप फैलिन्छ । बालीनालीमा कीरा नलगोस् भनेर गुरहीलाई पिटिन्छ । त्यससँगै गाउँका कसैलाई पनि रोग नलागोस् भन्ने कामना पनि गरिन्छ । ‘गुरही पर्व मनाउने आफ्नै मौलिक परम्परा छ । खासगरी रोग धपाउन र बालीमा कीरा नलागून् भनेर नै पुर्खाहरूले यो पर्व मनाउन सुरु गरेका हुन्,’ अगुवा थारू महिला इन्दु चौधरीले भनिन्, ‘वर्षामा काम व्यस्त रहने थारू महिला गुरहीमा सिंगार गरेर पुतलीझैं बन्छन् ।’


पछिल्लो समय थारू समुदायका नयाँ पुस्ताले आफ्नो परम्परागत पर्व मनाउने क्रम बढेको छ । यसअघि उनीहरू आफ्ना संस्कृति बिर्सिंदै गएका थिए । सांस्कृतिक पर्वहरू गाउँमा मात्रै होइन, विभिन्न सहरमा रहेका थारू युवाले पर्व मनाउन थालेका हुन् ।


नेपालगन्जमा पनि सोमबार गुरही मनाएका छन् । रंगीबिरंगीे पुतली लिएर महिला धम्बोझी चोकमा जम्मा भएका थिए । युवाहरूले गुरहीको स्वागत गर्न बाबियोको कोर्राले पिटे । महिलाले गुरही उडाए । नेपागन्जमा पहिलोपल्ट पर्व मनाइएको हो ।


बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायको नेपालगन्जमा बाक्लो बसाइ छ । ‘गाउँमा सीमित रहेको पर्व यस वर्ष सहरमा पनि मनाइयो,’ थारू पत्रकार संघ जिल्ला अध्यक्ष भगतराम थारूले भने । गुरही पर्वमा सहभागी थारू महिलाले लेहंगा, चोलिया र पुरुषहरू धोती पहिरनमा थिए । संस्कृतिका धनी मानिने पश्चिम तराईका थारू गाउँमा वर्षापछि पर्वको महोलले छुन थाल्छ । हरेरी र गुरिया पर्व सुरु भएका छन् । बाँके, बर्दिया, कञ्चनपुर, कैलाली र कपिलवस्तुलगायतका थारू समुदायले गुरिया पर्व मनाउँछन् ।


खासमा गाइने कीरालाई थारू समुदायले गुरही कीरा भन्छन् । खेतीपाती सकिएपछि बालीनालीमा कीरा नलाग्न र गाउँमा रोग नलागोस् भनेर उक्त पर्व मनाइने परम्परा रहेको थारू अगुवाहरू बताउँछन् । थारू जाति प्रकृतिपूजक मानिन्छन् । प्रकृतिप्रति विश्वास गर्ने भएकाले गुरहीको पूजा गरिन्छ । गाइने कीराले लामखुट्टे र धानमा लाग्ने कीरा खान्छ । गाइने कीराले कीरा खाएर बालीनाली जोगाउने भएका कारणले पनि यो पर्व मनाइने गरिएको हो । ‘गाइने कीराले लामखुट्टे खाएर मानिसलाई रोगबाट जोगाउँछ,’ थारू संस्कृतिबारेका जानकार सुन्दर चौधरीले भने, ‘त्यसैले गुरही मनाइएको हुन सक्छ ।’


गुरहीको अघिल्लो दिन थारू गाउँमा जिता (मासुका लागि सुंगुर, खसी, खुकुरा) मार्ने चलन छ । भोलिपल्टको साँझ गाउँको सार्वजनिक स्थानमा गुरही पर्व मनाइन्छ । त्यसअघि चौकीदारले गुरही मनाउनका लागि हाँक लगाउँछन् ।


हाँकपछि युवतीहरू चना तथा केराउको (घुघरी) खाने परिकार र कपडाले बनाएको गुरही बोकेर सार्वजनिक स्थलमा जम्मा हुन्छन् । युवाहरूले गुरही पिटदै चना र केराउको परिकारको प्रसाद मागेर रमाइलो गर्छन् । कतिपय गाउँमा गुरही पर्वका दिन नाचगान गर्ने परम्परा छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?