परासी — लामो समय अलपत्र पश्चिम नवलपरासीस्थित हुलाकी मार्गअन्तर्गत बर्दघाट नगरपालिकाको नारायणचोकदेखि त्रिवेणीसम्मको १६ किलोमिटर खण्ड पुनः निर्माण सुरु भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । निर्माण कम्पनीले काम नगरेपछि ६ वर्षसम्म अलपत्र अवस्थामा रहेको उक्त खण्डमा निर्माण कार्य थालिएपछि स्थानीयले धुलो–धुवाँबाट मुक्त हुने अपेक्षा गरेका छन् ।
ठेक्का सम्झौताअनुसार २०७९ मंसिरमा निर्माण सकिनुपर्ने सडक ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र परेको थियो । पटक–पटक म्याद थप्दा पनि काम नभएपछि स्थानीय आक्रोशित बनेका थिए । निर्माण कार्यलाई पूर्णता दिन माग गर्दै स्थानीय बासिन्दासँगै जिल्लाका जनप्रतिनिधिसमेत आन्दोलित बनेका थिए । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सांसद विनोद चौधरी, प्रदेशसभा सदस्य देवकरणप्रसाद कलवार र स्थानीय पालिकाका जनप्रतिनिधिले लिखितसहित आमरण र रिले अनशन बसेर दबाब दिएका थिए। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल त्रिवेणी आउजाउ गर्ने मुख्य सडक अलपत्र परेपछि यात्रुले सास्ती सहनुपरेको छ ।
सडकखण्डअन्तर्गत पर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले समयमै निर्माण पूरा गराउन आफूले पटक–पटक पहल गरेको जनाए । ‘मेरो नेतृत्वमा अनशन नै बस्यौं, प्रदेश र संघ सरकारलाई विभिन्न माध्यमबाट दबाब दियौं,’ उनले भने, ‘अहिले निर्माणको काम सुरु भएको छ । यसलाई निरन्तरता दिन सकियो भने एक वर्षभित्र निर्माण सकिन्छ कि भन्ने आशा पलाएको छ।’ ठेकेदारले ढिलाइ गरेपछि गाउँपालिकाको क्षेत्रमा पर्ने ६ किलोमिटर सडक पालिकामार्फत निर्माण गर्न देऊ भन्दै माग गरेको उनले बताए । उक्त १६ किलोमिटर सडकखण्ड बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिकाको मुख्य मार्ग हो । निर्माण पूरा भएपछि एक लाख स्थानीयसाथै त्रिवेणी ओहोरदोहोर गर्ने सयौँ धार्मिक पर्यटक लाभान्वित हुने उनले बताए ।
सडक निर्माणका लागि २०७६ मंसिरमा बज्रगुरु महालक्ष्मी जेभी कम्पनीले ठेक्का सम्झौता गरेर काम थालेको थियो । उक्त कम्पनीले सडक भत्काएर छाडेपछि स्थानीयले हिउँदमा धुलो र वर्षामा हिलो सहनु परेको थियो । सडकमा ठूला–ठूला खाल्डो बनेकाले दुर्घटनासमेत वृद्धि भएको स्थानीय बासिन्दाले बताए । पछिल्लो पटक निर्माण कम्पनीको सहमतिअनुसार भैरहवास्थित निर्माण व्यवसायी चन्द्रमणि अधिकारीले आठ महिनाभित्र निर्माण पूरा गर्नेगरी काम सुरु गरेका हुन् । हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले बज्रगुरु कम्पनीसित आन्तरिक सहमति गरी ठेकेदार अधिकारीले काम सुरु गरेको जानकारी दिए । ‘ठेक्का तोडेर अर्कै प्रक्रियाबाट काम गर्दा झन ढिलाइ हुने भएकाले ठेकेदार–ठेकेदारबीच आन्तरिक सहमति गराएर पुरानै निर्माण कम्पनीको फर्मबाट भुक्तानी पाउने गरी निर्माण सुरु गरिएको हो,’ उनले भने, ‘पहिलो चरणमा डेढ किमी कालोपत्रे भइसकेको छ।’
आयोजनाका अनुसार गोपीगन्ज बजार क्षेत्रको १ हजार ५ सय मिटर सडक अधिकारीले कालोपत्रे गरिसकेका छन् । आयोजनाका अनुसार सुरुमा कोरोना महामारीलगत्तै आर्थिक मन्दी सुरु भएको कारण देखाउँदै ठेकेदारले काममा ढिलाइ गरिरहेको थियो । यससँगै ठेकेदार कम्पनी बैंकिङ कालोसूचीमा परेपछि निर्माणको काम ठप्प भएको थियो । ठेकेदार अधिकारीले प्रतिनिधिसभा सदस्य चौधरीले बैंकिङ समस्या समाधानमा सहजीकरण गरेपछि आफूले ठेकेदार कम्पनीसित आन्तरिक सहमति गरेर बज्रगुरु कम्पनीबाटै भुक्तानी लिने गरी सडक निर्माण थालेको बताए । ‘सबैभन्दा समस्या बैंकको थियो, मैले काम गर्ने भुक्तानी बज्रगुरुको खातामा जाने तर बैंकले सबै रकम काटिदिने थियो,’ उनले भने, ‘हामीलाई आन्तरिक सहमति गराउन र बैंकको समस्या समाधानमा सांसद चौधरीले ठूलो सहयोग गर्नुभयो । त्यसपछि काम भइरहेको छ ।’ स्थानीय पालिका र प्रदेश सांसदबाट पनि सहयोग प्राप्त भइरहेको उनले बताए ।
बर्दघाट नगरपालिका–१४, बुद्धबस्तीकी गीता पाठकले ६ वर्षसम्म सडक नबन्दा धुलो–धुवाँले वाक्क तुल्याइएको बताइन्। ‘ज–जसले पहल गरेर यो काम सुरु भयो, उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ,’ उनले भनिन्, ‘धुलो–धुवाँ कति खाइयो भनिसाध्य छैन, अहिले पक्की सडक देखेपछि पीडा भुलिने रहेछ ।’ अब कुनै हालतमा सडक निर्माण रोक्न नहुने उनले बताइन् । वर्षौँसम्म सडक अलपत्र हुँदा दुर्घटना बढेको, व्यापार चौपट भएको र स्थानीयको स्वास्थ्यमा असर परेको बताइन् । स्थानीय नन्दलाल चापागाईंले तीन वर्षमा निर्माण सक्ने भनिएको सडक ६ वर्षसम्म अलपत्र पर्नु लज्जाको विषय भएको सुनाए । ‘जनप्रतिनिधिले नै रोइकराइ गर्दापनि लामो समयसम्म काम अघि बढेन’, उनले भने, ‘ठेकेदार कालोसूचीमा परेको सुनेको थिएँ। अहिले पुनः काम सुरु भएको छ। अब, निरन्तर काम गरेर एक वर्षभित्र सक्नुपर्छ भन्ने हाम्रो माग छ।’
झन्डै ५८ करोड लागतमा निर्माण भइरहेको उक्त हुलाकी खण्डको चौथोपटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८२ चैत मसान्तसम्म समयसीमा तोकिएको छ । आयोजनाका सूचना अधिकारी आचार्यका अनुसार मुख्य ठेकेदार बज्रगुरुको बैंकिङ लगायतका समस्या समाधान भएको खण्डमा अहिलेको जस्तै आन्तरिक सहमति अनुसार काम गरिरहेका ठेकेदार अधिकारीले नै थप गरिएको अवधिमा निर्माण सक्ने बताएका छन् । सडकखण्डको हालसम्म भौतिक प्रगति ४० प्रतिशत छ भने वित्तीय प्रगति ३८ प्रतिशत छ । बजार क्षेत्रमा नालीसहित ११ मिटर र अन्य ठाउँमा नालीबिनै ८ मिटर फराकिलो गरी यो सडकखण्ड निर्माण भइरहेको छ ।
