एमसीसी पास गर्न माओवादी सहयोगी बन्दैन : महरा

फाल्गुन ३, २०७८

रुपा गहतराज

नेपालगन्ज — पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले एमसीसी पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन् ।

माओवादी केन्द्र कोहलपुर नगर समितिको विस्तारित बैठकलाई मंगलबार सम्बोधन गर्दै महराले माओवादी एमसीसीको विपक्षमा रहने बताए । ‘गठबन्धन जोगाउने हो भने एसीसी रोक्नु पर्छ,’ उनले भने, ‘यसबारे धेरै बोल्नु छैन । केही दिनभित्रै एमसीसी बारे टुंगो लाग्छ ।’

संसद्‍बाट एमसीसी पास गर्नेबारे दलहरूबीच रसाकस्सी चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि परिमार्जन नगरिकन पास गर्न नसक्ने भन्दै आएका छन् । यद्यपि कांग्रेसले स्पष्ट धारणा ल्याइसक्दा माओवादीले बैठक बसेर एमसीसीबारे छलफल चलाउन सकिरहेको छैन ।

तोकिएको मितिमा स्थानीय चुनाव हुने भन्दै महराले तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए । कोहलपुरको विकास र समृद्धिका लागि माओवादीको नेतृत्व आवश्यक रहेको भन्दै उनले कार्यकर्तालाई जनताको घरमा जान सुझाव दिए ।

माओवादी केन्द्रले स्थानीय चुनाव लक्षित एक महिने जनसम्बन्ध सुदृढीकरण तथा विस्तार अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत माओवादी आफ्नो एजेन्डासहित घरघर पुग्ने माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले बताए ।

एमसीसी

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully