दाङ — दाङको बेलझुण्डीस्थित कोराना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ का ३८ वर्षीय एक पुरुष र घोराही उपमहानगरपालिका–१५ का ३३ वर्षीय पुरुषलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । बिरामीका आफन्तको अनुरोधमा उनीहरुको काठमाडौंस्थित हेम्स र ग्राण्डी अस्पतालमा उपचार भइरहेको वलीले जानकारी दिए ।
संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा शय्या र अक्सिजनको अभाव भएको छ । अस्पतालमा दिनहुँजसो बिरामीको मृत्यु भइरहेको छ । सोमबार तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शुक्रबारदेखि अस्पतालको आईसियू कक्षमा उपचार भइरहेको थियो । आइतबार घोराही उपमहानगरपालिका–१५ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको वैशाख २ देखि अस्पतालको आईसियू कक्षमा उपचार भइरहेको थियो ।
योसँगै अस्पतालमा भर्ना भएका १२ संक्रमितको मृत्यु भइसकेको छ । अस्पतालमा अहिले ५ जना आईसियू र ३८ जना एचडियू शय्यामा गरी ४३ जनाको उपचार भइरहेको व्यवस्थापक वलीले बताए ।
