बुटवलको आकाशमा सलहको हुल

असार १३, २०७७

अमृता अनमोल

बुटवल — बुटवलको आकाशमा अहिले सलह किरा उडिरहेको देख्न थालिएको छ । शनिबार मध्याह्नसम्म फाट्टफुट्ट देखिएको सलह दिउँसो साढे तीन बजेपछि हुलका हुल आकाशमा उडेको देखिएको हो । 

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि भारतीय सीमा क्षेत्र हुँदै हुलका हुल सलह किराले आकाश ढाकेको बताए ।

उनका अनुसार केही सलह दक्षिण हुँदै उत्तर दिशामा गएका छन् भने केही आकाशमै मडारिएका छन् । 

खेत रोप्ने समय भएकाले तराईको धेरै खेत खाली छ । खेतबारी खाली भएकाले कीराहरू आकाशमा मडारिएको हुनसक्ने विज्ञहरूको अनुमान छ ।

भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही जिल्लामा पनि सलह कीरा पसेका थिए । शनिबार बिहान भैरहवा, रोहिणी, ओमसतिया र देवदह क्षेत्रमा सलह कीरा देखिएका थिए । दिउँसो बुटवल क्षेत्रमा सलह देखिएको हो ।

'हुलका हुल सलह बुटवल र रुपन्देही जिल्लाका विभिन्न स्थानमा देखिएका छन्,’ देवकोटाले भने, ‘यी रोकिन्छन् कि बाटो लाग्छन्, हामी त्यसमा केन्द्रीत छौं ।’

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully