माइजोगमाईमा जुर्मुरायो रैथाने गाथा 

इलामको माइजोगमाईमा रैथाने भाषा-संस्कृति, साहित्य र स्थानीय तहले संस्कृति संरक्षणमा खेल्नुपर्ने भूमिकाबारे विमर्श गरिएको छ ।

असार २, २०८३

पर्वत पोर्तेल

The folk tale flourished in Maijogmai

विराटनगर — रैथाने भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई केन्द्रमा राखेर आयोजित ‘माइजोगमाई रैथाने गाथा’ कार्यक्रमले इलामको माइजोगमाई गाउँपालिकामा सांस्कृतिक जागरणको नयाँ सन्देश दिएको छ । 

माइजोगमाई सेवा समाजको आयोजनामा भएको कार्यक्रमले स्थानीय पहिचान, सांस्कृतिक विविधता र स्रष्टा–समाजबीचको सम्बन्धलाई सुदृढ बनाएको भन्दै स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । सो अवसरमा रैथाने संस्कृति संरक्षणमा योगदान पुर्‍याउने समुदाय तथा कलाकारहरूलाई ‘माइजोगमाई संस्कृति सम्मान’ पनि प्रदान गरियो । 

समारोहको प्रमुख आकर्षण ‘माइजोगमाई गौरव सम्मान’ थियो । वरिष्ठ संस्कृतिविद् मोहनसिंह थेबे, हिमाली गायिका फुटी शेर्पा, लोकगायक इन्द्र गुरुङ, प्राध्यापक डा. भीम सुवेदी, वरिष्ठ गायक तथा संगीतकार कोमल निरौला, युवा गायक तथा संगीतकार कृष्ण भट्टराई, साहित्यकार दिवाकर भण्डारी, चिकित्सक डा. तारानाथ पोख्रेल, प्रशासक वीरबहादुर राई तथा पूर्व डीआईजी पिताम्बर अधिकारीलाई उक्त सम्मान प्रदान गरियो । 

त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय सम्भावना देखाएका उदीयमान प्रतिभाहरूलाई ‘माइजोगमाई प्रतिभा सम्मान’ दिइयो । यो सम्मानबाट चर्चित कोरियोग्राफर तथा रंगकर्मी स्मृति प्रधान र बाँसुरी वादक देव निरौला सम्मानित भए । 

कार्यक्रमले संस्कृति मात्र होइन, शिक्षालाई समेत प्राथमिकतामा राखेको थियो । पालिकाभित्र उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई प्रशंसापत्र तथा प्रोत्साहन पुरस्कारसहित सम्मान गरियो । कक्षा ८ को पालिकास्तरीय परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएकी अमर कल्याण माध्यमिक विद्यालयकी छात्रा प्रेहिमा भण्डारी तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याएकी सिरिसे माध्यमिक विद्यालयकी छात्रा अचिश्मा लिम्बू सम्मानित भए । 

The folk tale flourished in Maijogmai

सोही अवसरमा ‘माइजोगमाई रैथाने साहित्य तथा संस्कृति बहस’ शीर्षकमा प्यानल छलफल आयोजना भयो । वरिष्ठ संस्कृतिविद् युद्धप्रसाद वैद्य, साहित्यकार दिवाकर भण्डारी, गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे र उपाध्यक्ष प्रविना राईले भाग लिएको छलफललाई पत्रकार प्रेम अधिकारीले सहजीकरण गरे । वक्ताहरूले रैथाने भाषा र साहित्यको अवधारणा, यसको ऐतिहासिक महत्त्व तथा स्थानीय तहले संस्कृति संरक्षणमा खेल्नुपर्ने भूमिकाबारे धारणा राखे । 

माइजोगमाई सेवा समाजका अध्यक्ष महेश आचार्यको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्थानीय संयोजन तुलबहादुर लिम्बूले गरेका थिए ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully