नेपाल र फ्रान्सबीचको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक सम्बन्धलाई मानवीय अनुभव र व्यक्तिगत कथामार्फत पुस्तकमा प्रस्तुत गरिएको छ ।
काठमाडौँ — लेखक ददि सापकोटाद्वारा लिखित पुस्तक ‘त्यो नेपाल’को फ्रेन्च संस्करण सार्वजनिक गरिएको छ ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित विशेष कार्यक्रममा अलायन्स फ्राँसेज द काठमाडौंका निर्देशक सिल्भाँ स्वाँ, लेखक ददि सापकोटा, फ्रान्सका लागि नेपाली दूतावास पेरिसका पूर्वकूटनीतिज्ञ रामबाबु ढकाल र फाइनप्रिन्टका नीरज भारीले पुस्तक लोकार्पण गरे ।
नेपाल र फ्रान्सबीचको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक सम्बन्धलाई मानवीय अनुभव र व्यक्तिगत कथामार्फत पुस्तकमा प्रस्तुत गरिएको छ ।
फ्रेन्च भाषा तथा संस्कृतिको प्रवद्र्धनमा सक्रिय अलायन्स फ्राँसेज द काठमाडौंका निर्देशक सिल्भा स्वाँले नेपाल र फ्रान्सबीचको लामो सांस्कृतिक सम्बन्धलाई अझ गहिरोसँग बुझ्न पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यस्ता कृतिले दुई देशका नागरिकबीच आपसी समझदारी, संवाद र सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने उनको भनाइ छ ।
लेखक ददि सापकोटाले पुस्तकमा नेपाललाई नजिकबाट चिन्ने फ्रान्सेली नागरिकहरूको अनुभव, दृष्टिकोण तथा नेपालसँगको भावनात्मक सम्बन्धलाई समेटिएको जानकारी दिए । नेपाललाई बाह्य दृष्टिबाट बुझ्ने र नेपाल–फ्रान्स सम्बन्धका विविध आयामलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पुस्तक तयार गरिएको उनले बताए ।
पुस्तकमा नेपालमा विभिन्न समयमा अध्ययन, अनुसन्धान तथा पेसागत कार्य गरेका र नेपालप्रति विशेष आत्मीयता राख्ने फ्रान्सेली व्यक्तित्वहरूको अनुभव समावेश गरिएको छ ।
कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै पूर्वकूटनीतिज्ञ रामबाबु ढकालले नेपाल–फ्रान्स सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई पुस्तकले थप उजागर गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशन संस्था फाइनप्रिन्टका नीरज भारीले ‘त्यो नेपाल’ केवल साहित्यिक कृति मात्र नभई नेपाल र फ्रान्सबीचको सम्बन्धको ऐतिहासिक अभिलेखसमेत भएको बताए ।
नेपाली भाषामा प्रकाशित भएपछि पाठकमाझ रुचाइएको पुस्तक अब फ्रेन्च भाषामा उपलब्ध हुँदा दुवै देशका पाठकलाई एकअर्काको समाज, संस्कृति र इतिहास बुझ्न थप सहज हुने उनको धारणा छ ।
विमोचन कार्यक्रममा कूटनीतिक क्षेत्र, साहित्य, प्रकाशन तथा फ्रेन्च भाषा शिक्षासँग आबद्ध विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।
नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता शिक्षा, संस्कृति, पर्यटन, विज्ञान तथा अनुसन्धानका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ ।
‘त्यो नेपाल’ को फ्रेन्च संस्करणले यस ऐतिहासिक सम्बन्धलाई अझ व्यापक अन्तर्राष्ट्रिय पाठकसमक्ष पु¥याउने तथा दुई देशबीचको सांस्कृतिक सेतुका रूपमा कार्य गर्ने अपेक्षा गरिएको छ ।
