नारायणगढमा सुरु भयो दोस्रो बागमती साहित्य महोत्सव

महोत्सवमा गजल, कविता र नाटकका साथै साहित्यका विभिन्न पक्ष र विषयका बारेमा छलफल हुने कार्यक्रम छ ।

जेष्ठ १६, २०८३

रमेशकुमार पौडेल

Second Bagmati Literature Festival begins in Narayangadh

What you should know

चितवन — नारायणगढमा शनिबारदेखि दोस्रो बागमती साहित्य महोत्सव सुरु भएको छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले आयोजना गरेको महोत्सवको उद्घाटन मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले गरे । महोत्सव आइतबार सकिनेछ । भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानले महोत्सव संयोजन गरेको हो ।

उद्घाटन कार्यक्रममा 'बागमती प्रदेशको नेपाली साहित्य, हिजो आज र भोलि' विषयमा समिक्षक प्रा.डा.लक्ष्मणप्रसाद गौतमले मुख्य मन्तव्य राखे । 'बागमती प्रदेशको साहित्यलाई बहुभाषिक, बहुसांस्कृतिक र समावेशी बनाउँदै स्थानीय पहिचान, इतिहास र भूगोलसँग जोडेर अगाडि बढाउनु पर्नेछ,' गौतमको जोड थियो ।

उनले प्रदेशको साहित्यले स्थानीय मौलिकता, विविध समुदायका अनुभव र सामाजिक यथार्थलाई समेट्दै नयाँ दिशा लिनुपर्ने बताए  प्रदेशको साहित्य मुख्यतः नेपाली भाषामा सीमित रहेकामा अब बहुभाषिक र बहुसांस्कृतिक आयामलाई समेट्दै अघि बढ्नु पर्ने गौतमको भनाइ थियो । 

स्थानीय भाषा, संस्कृति, इतिहास, जनजीवन र सीमान्तकृत समुदायका अनुभवलाई साहित्यमा स्थान दिनुपर्ने  उनको सुझाव छ । प्रदेशका १३ जिल्लाका आदिवासीका मौलिक संस्कार र स‌ंस्कृतिको खोज अनुसन्धान, संरक्षण र प्रवर्द्धन गर्न उनले आग्रह गरे । बालबालिका र युवा पुस्तालाई पठन संस्कृतिमा जोड्न अबेला गर्न नहुने उनको भनाइ थियो ।

नयाँ पुस्तालाई साहित्य सिर्जनामा आकर्षित गर्न, स्थानीय तह र सरोकारवाला निकायले साहित्य प्रवर्द्धनका कार्यक्रम गर्न गौतमले सल्लाह दिए । प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले गत वर्षदेखि सुरू भएको साहित्य महोत्सव मन्त्रालयले फरक जिल्लामा हरेक वर्ष हुने बताए । महोत्सवमा गजल, कविता र नाटकका साथै साहित्यका विभिन्न पक्ष र विषयका बारेमा छलफल हुने कार्यक्रम छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully