अमेरिकाको कोलोराडोमा नेपाली साहित्य सम्मेलन

अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास)ले कोलोराडोमा नवौं संस्करणको नेपाली साहित्य सम्मेलन आयोजना गरेको हो ।

जेष्ठ १०, २०८३

सुदीप शिवाकोटी

Nepali Literature Conference in Colorado, USA

What you should know

अमेरिका — अमेरिकाको कोलोरोडो राज्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास)ले कोलोराडोमा नवौं संस्करणको नेपाली साहित्य सम्मेलन आयोजना गरेको हो ।

२२ देखि २५ मेसम्म आयोजना गरिएको साहित्य सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता नवराज लम्सालले गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, ‘नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका’लगायत महत्त्वपूर्ण छलफल र विभिन्न ओहोदामा रहेका साहित्यकार, लेखक, पत्रकारले नेपाली डायस्पोरामा फैलिँदो नेपाली साहित्यका विषयमा विमर्श गरेका छन् । सम्मेलनअन्तर्गत नेपाल अमेरिका पत्रकार संघ (नेजा)सँगको सहकार्यमा ‘नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका’ विषयक अन्तर्क्रियासमेत आयोजना गरिएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै लम्सालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालीभाषी साहित्यकारहरूको अन्तर्राष्ट्रिय संसदका रुपमा रहेको दाबीसमेत गरे । नेपालको सिमानाभन्दा बाहिर लेखिने नेपाली साहित्यलाई अलग राखेर नेपाली साहित्य पूरा नहुने उनको भनाइ थियो । लम्सालले नेपालको सिमानाभन्दा बाहिर रहेका स्रष्टाहरूले लेखिने साहित्यलाई अलग राखेर नेपाली भाषा र साहित्य अधुरो हुने बताए । सम्मेलनमा लम्सालसहित मदन पुरस्कार विजेता डा. निलम कार्की निहारिका, समालोचक महेश पौडेल र राजन आचार्यलाई सम्मान गरिएको थियो । 

अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा भएको सम्मेलनमा कान्तिपुर दैनिकका पूर्वप्रधान सम्पादक सुधीर शर्मा, अनलाइन खबरका प्रधान सम्पादक बसन्त बस्नेत, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष विपुल पोख्रेल, पत्रकार टीकाराम यात्री, बबिता बस्नेत, नारायण श्रेष्ठ, यशोदा तिम्सिना वक्ताका रूपमा सहभागी थिए । 

सम्मेलनमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा.ज्याकलिन केरबेक, रेड ओ लाफ्लीन, राधेश्याम लेकाली, नेजाका अध्यक्ष सुरज भण्डारीलगायत नेपाल, अमेरिका, युरोप लगायतका देशबाट दुई सय जना साहित्यकार, लेखक र पत्रकार र संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully