‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन

ओयाम सरोकार समाज काठमाडौँद्वारा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा साहित्यकार एवम् लेखक खगेन्द्र संग्रौलालगायतले कृति विमोचन गरे ।

वैशाख २६, २०८३

रासस

Poetry collection 'The Touch of Tamor on the Waves of the Thames' released

ललितपुर — बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कवितासंग्रह ‘थेम्सको लहरमा तमोरको स्पर्श’ विमोचन गरिएको छ । 

ओयाम सरोकार समाज काठमाडौँद्वारा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा साहित्यकार एवम् लेखक खगेन्द्र संग्रौलालगायतले कृति विमोचन गरे । त्यस अवसरमा संग्रौलाले उक्त कृतिमा देश छोड्नु पर्ने विवशता, प्रवासी जीवनका विषय, मानव जीवनको जरा, नारी चेतनाका विषय समेटिएको बताए । 

चलचित्र निर्देशक एवम् कवि नविन लिम्बुले उक्त कृतिमा याक्थुम चेतना, समग्रता, सम्पूर्णता, सहअस्तित्व रहेको उल्लेख गर्दै महिलावादको विषय पनि रहेको भनाइ राखे । कवि बिमला तुम्खेवाले विश्वव्यापी लेखकीय संरचनामा महिलाहरुको विषयलाई प्रमुख बनाइने गरेको भन्दै सुन्दर समाज निर्माणका निम्ति सुधारका पक्षमा कविताले समस्या उजागर गरेको उल्लेख गरिन् । 

कृतिको समीक्षा गर्ने क्रममा गुरुङ सुशान्तले उक्त कवितासंग्रह स्मृति, भाषा संस्कृति र चेतनाको वैचारिक दस्तावेज भएको बताए । नेपाली मानव सभ्यता र सांस्कृतिक अस्तित्वको संकटलाई पुस्तकमा चित्रण गरिएको उनको भनाइ थियो । 

कवि शान्ति लिम्बूले निरन्तर अगाडि बढ्नु जीवनको एउटा पाटो भएको उल्लेख गर्दै मनमा आएका धेरै भावना र कुराहरूलाई समेटेर कविता कृति तयार पारेको बताइन् । रत्नपुस्तक भण्डारले प्रकाशन गरेको उक्त कृतिमा स्त्री, प्रकृति, देश र परदेशका विषयवस्तु र भावलाई प्रस्तुत गरिएको छ ।

रासस

Link copied successfully