इलाममा १ करोड २५ लाखको ‘जुनिता ट्रस्ट’ स्थापना

ट्रस्टले हाङयुग जुनिता फाउन्डेसनसँग सहकार्य गर्दै यस वर्षदेखि 'हाङयुग जुनिता' राष्ट्रिय पुरस्कार प्रदान गर्न सुरु गरेको छ ।

वैशाख १९, २०८३

पर्वत पोर्तेल

'Junita Trust' worth Rs 12.5 million established in Ilam

इलाम — सगरमाथा आरोही जुनिता सुब्बाले १ करोड २५ लाख रुपैयाँको ‘जुनिता ट्रस्ट’ स्थापना घोषणा गरेकी छन् । 

इलाम साहित्य महोत्सवको पाँचौं संस्करणको उद्घाटन सत्रमा शुक्रबार आफ्नो कवितासंग्रह 'प्रिय आत्मन’ को विमोचन कार्यक्रममा भर्चुअल रूपमा उनले उक्त घोषणा गरेकी हुन् । उनी हाल अमेरिकामा छिन् ।

उनले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम पनि ट्रस्टमै जम्मा गरिने उल्लेख गरिन् । उक्त ट्रस्टमार्फत विशेष क्षमता भएका इलामका ७ विद्यार्थीलाई विभिन्न निजी विद्यालयमा अध्ययन गराइरहेको जानकारी दिँदै सुब्बाले सामाजिक क्षेत्रमा दीर्घकालीन योगदान गर्ने उद्देश्य रहेको बताइन् ।

साथै, ट्रस्टले हाङयुग जुनिता फाउन्डेसनसँग सहकार्य गर्दै यस वर्षदेखि 'हाङयुग जुनिता' राष्ट्रिय पुरस्कार प्रदान गर्न सुरु गरेको छ । यसपटक कवि सुन्दर कुरूपलाई ५० हजार राशीको उक्त पुरस्कार प्रदान गरियो । 

इलाम नगरपालिकाका मेयर केदार थापाले ‘हाङयुग जुनिता ध्यानालय तथा पुस्तकालय’को शिलान्याससमेत गरे । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully