गजल, कविता र कथामार्फत नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएको मूल्यांकन गर्दै कुरूपलाई ५० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
इलाम — इलाममा स्थापित हाङयुग जुनिता फाउन्डेसनले यस वर्षको ‘हाङयुग जुनिता राष्ट्रिय पुरस्कार’ गजलकार, कवि तथा कथाकार सुन्दर कुरूप (सुन्दरकुमार लावती) लाई प्रदान गरेको छ ।
पहिलो संस्करणको उक्त पुरस्कार इलाममा आयोजित पाँचौं इलाम साहित्य महोत्सवमा शुक्रबार कुरूपलाई प्रदान गरियो । पुरस्कारको राशि ५० हजार रुपैयाँसँगै कदरपत्र छ ।
इलाम नगरपालिकाको साहित्य कला संगीत प्रतिष्ठानको सिफारिसअनुसार गजल, कविता र कथामार्फत नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएको मूल्यांकन गर्दै कुरूपलाई छनोट गरिएको फाउन्डेसनका अध्यक्ष हाङयुग अज्ञातले बताए ।
साहित्य, कला, संगीत, पत्रकारिता, स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने फाउन्डेसनले जनाएको छ ।
इलामको चुलाचुली हात्तीलेदामा बस्दै आएका कुरूप लेखनमार्फत राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल छन् । उनको गजलसंग्रह ‘जुनको अनुहार’ र कवितासंग्रह ‘पृथ्वीको आविष्कार’ प्रकाशित छ ।
