पाँचौं संस्करणको इलाम साहित्य उत्सवमा कवितादेखि आख्यानसम्म र पर्यटनदेखि डिजिटल युगसम्मका विषयमा गहिरो विमर्श भयो ।
What you should know
इलाम — गायक यम बरालले भनेझैँ यतिबेला बादलुको घुम्टोले ढपक्कै ढाकेको छ इलाम । त्यही चिसो घुम्टोभित्र शुक्रबारदेखि तात्तातो बहस सुरु भएको छ ।
पाँचौँ संस्करणको इलाम साहित्य उत्सवमा कवितादेखि आख्यानसम्म र पर्यटनदेखि डिजिटल युगसम्मका विषयमा गहिरो विमर्श भयो ।
'कविता : विरासतदेखि रिल्ससम्म’ शीर्षकको पहिलो सेसनमा कवि विनोदविक्रम केसी, रीमा केसी, समदर्शी काइँला र रमेशचन्द्र अधिकारी गफिए ।
समदर्शी काइँलाले कविताको रूप डिजिटल माध्यमसँगै बदलिँदै गएको स्वीकारे, तर यसको आत्मा अझै जिउँदै रहेको बताए। 'रूप फेरिन्छ, तर कविता मर्दैन,' उनको निष्कर्ष थियो ।
कवि विनोदविक्रम केसीले कवितालाई ‘अक्सिजन’सँग तुलना गर्दै भने, 'कविता शान्तिका लागि मात्रै होइन, जीवनका लागि आवश्यक कुरा हो ।' उनको भनाइमा कविता बजारभन्दा परको, अस्तित्वको कुरा हो, जहाँ बेचबिखनको हिसाबले भन्दा अनुभूतिको गहिराइले अर्थ राख्छ ।
रीमा केसीले कविता अनुभूतिबाट जन्मिने र पाठकअनुसार फरक अर्थ दिने बताइन्। 'कविता फूलजस्तै हो—सुगन्ध र पहिचान रुचिअनुसार बदलिन्छ,' उनले भनिन्। रमेशचन्द्र अधिकारीले कविताले नै कविको पहिचान निर्माण गर्ने धारणा राख्दै सर्जक र सिर्जनाबीचको सम्बन्धलाई रेखांकित गरे। वालिका थपलियाले सहजीकरण गरिन् ।
दोस्रो सत्रमा पत्रकार बसन्त बस्नेत मञ्चमा एक्लै उभिए ।‘डिजिटल मासुभात र हामी पत्रकार’ शीर्षकको सम्भाषणमा उनले डिजिटल युगले ल्याएको उभारसँगै बौद्धिक पराधीनताको खतरा औँल्याए ।
'हामी हिजो राजासँग डराएनौँ, तर आज अदृश्य भीडसँग डराउन थालेका छौँ,'उनले भने। उनका अनुसार डिजिटल स्पेसले सूचना लोकतान्त्रिक बनाएको छ, तर त्यही स्पेसले ‘नयाँ सामन्तवाद’ जन्माइरहेको जनाए ।
बस्नेतको चिन्ता स्पष्ट थियो, हामी स्वतन्त्र देखिए पनि त्यो स्वतन्त्रता कसैको नियन्त्रणमा परेको छ ।
'असहमति राख्ने ठाउँ साँघुरिँदै गएको छ,' उनले भने, 'बौद्धिक स्वतन्त्रता जोगाउन अब सचेत हुनै पर्छ ।'
त्यसपछि ‘पर्यटनको वैभव : समृद्धिको आधार’ सत्रमा पूर्वी नेपालको सम्भावनाहरूको खोजी भयो । निरोज कट्टेल, सुशीला सापकोटा र अमिर राईले इलामसहित पूर्वी भेगमा पर्यटनको भविष्य, चुनौती र अवसरबारे बहस गरे । सहजीकरण गिरिराज बाँस्कोटाले गरेका थिए । वक्ताहरूले प्राकृतिक सुन्दरता मात्र होइन, सांस्कृतिक विविधता र स्थानीय पहिचानलाई पनि पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।
'आख्यान उपाख्यान’ अन्तिम सत्रमा लेखकहरू आफ्नै यात्राका कथा लिएर आए । लेखक उमा सुवेदीले महिला भएर लेखन यात्रामा भोगेका संघर्षहरू साटिन् । 'लेखक बन्ने बाटो सजिलो छैन,'उनले भनिन्, 'त्यसमाथि महिला हुनु झन् चुनौतीपूर्ण छ ।'
आख्यानकार केशव दाहालले लेखनलाई प्राविधिक अभ्यासभन्दा परको साधना माने। 'प्रश्न गर्ने, आलोचना गर्ने र विद्रोहको चेत फैलाउने काम लेखकले गर्छ,' उनले भने ।
मदन पुरस्कार विजेता अमर न्यौपानेले सिर्जनालाई निरन्तर साधनाबाट विकसित हुने आविष्कार बताए। कविता र आख्यानबीच आफ्नो सम्बन्धबारे उनले मुस्कुराउँदै भने, 'कवितासँग मेरो प्रेम थियो, आख्यानसँग बिहे भयो ।'
'कोइलाखाद' उपन्यासका लेखक श्याम सिंघकले नयाँ पुस्ताका लेखकहरूमाथि टिप्पणी गरे,'यो समय पुस्तकभन्दा लेखकको अनुहार बिक्ने समय हो छ ।'
उत्सवका क्रममा सिनेमाकर्मी दिनेश डिसी, कवि सुन्दर कुरूप, नाट्यकर्मी कविता नेपाल र गायक पुष्पण प्रधानलगायतका स्रष्टाहरूलाई सम्मान गरिएको थियो । उद्घाटन सत्रमा इलाम नगर प्रमुख केदार थापा, पूर्व सांसद महेश बस्नेत र हिमालय कर्माचार्यले यस्तो उत्सवले इलामलाई साहित्यिक मानचित्रमा अझ बलियो बनाएको बताए ।
