इलाम साहित्य उत्सव :  साहित्यदेखि राजनीतिसम्म विमर्श हुँदै

राजनीति, साहित्य, पर्यावरण, शिक्षा र पर्यटनलगायतका विषयमा बहस–विमर्श हुँदै, नेपाल–भारतका स्रष्टा, नेता र पत्रकारको सहभागिता रहनेछ ।

वैशाख १७, २०८३

पर्वत पोर्तेल

Ilam Literature Festival: Discussions from literature to politics

इलाम — ‘चियाको सहर’ इलाममा शुक्रबारदेखि दुई दिनसम्म  ‘लिटरेचर फेस्टिभल’ आयोजना हुँदैछ । 

इलाम नगर साहित्य–कला–संगीत प्रतिष्ठानको आयोजनामा हुने दुई दिने उत्सवमा राजनीति, भूराजनीति, शिक्षा, साहित्य, कला, पर्यटन, पर्यावरण र इतिहासजस्ता विषयमा चर्को बहस–विमर्श हुने छ । हाङयुग–जुनिता फाउन्डेसन र इलाम साहित्य समाज सहआयोजक रहने कार्यक्रममा नेपाल तथा भारतका सयभन्दा बढी स्रष्टा–सर्जक, संगीतकर्मी, नेता, पत्रकार, अभियन्ता एकैथलोमा जुट्नेछन् ।  

पहिलो दिन कविताका दुःख सुखदेखि, पर्यटन र पर्यावरणका विभिन्न संकट र सम्भावनामाथि चर्चा हुने छ । 

पहिलो सेसनमा ‘कविता : विरासतदेखि रिल्ससम्म’ शीर्षकको छलफलमा विनोद विक्रम केसी, रमेशचन्द्र अधिकारी र समदर्शी काइँलाले चर्चा गर्ने छन् । कवि बालिका थपलियाले यो सेसन सहजीकरण गर्नेछिन् ।  

‘मुन्धुम र पर्यावरण संकट’ माथि अर्जुनबाबु माबुहाङको एकल सम्भाषण रहने छ । 

‘आख्यान उपाख्यान’  शीर्षकमा उमा सुवेदी, अमर न्यौपाने, श्याम सिंघक र केशव दाहालसँगको छलफललाई लेखक शैलेन्द्र अधिकारीले सहजीकरण गर्नेछन् ।  

‘कवितादेखि कलिउडसम्म’ शीर्षकको सेसनमा सिनेमाकर्मी/कवि उपेन्द्र सुब्बा र पत्रकार सुनिता खालिङ गफिने छन् । 

‘पर्यटनको वैभव : समृद्धिको आधार’ शीर्षकमा सुशीला सापकोटा, निरोज कट्टेल र अमिर राईसँगको छलफललाई पत्रकार गिरिराज बाँस्कोटाले सहजीकरण गर्ने छन् । पहिलो दिनको सेसनको टुंग्याउनीमा गजल साँझ हुने छ । 

दोस्रो दिनको पहिलो सेसनमा ‘शिक्षा विधेयकको सकस’ शीर्षकमा योगेन्द्र श्रेष्ठ, पूर्ण गौतम र टंक गौतमबीच छलफल चल्ने छ । यो सेसनलाई पत्रकार सटेन्द्र जवेगुले सहजीकरण गर्नेछन् । 

‘सीमावर्ती साहित्य’ शीर्षकको अर्को सेसनमा विनिता क्षेत्री, कृष्ण बराल, ज्ञानेन्द्र यक्सोबीचको छलफल हेम भण्डारीले सहजीकरण गर्नेछन् । 

‘डिजिटल मासुभात र हामी पत्रकार’ शीर्षकमा पत्रकार वसन्त बस्नेतको एकल सम्भाषण रहने छ ।  

‘कथाः हिमालवारि हिमालपारी’ शीर्षकको सेसनमा पत्रकार/लेखक सुधीर शर्मा र पत्रकार दीपक सापकोटाबीच भूराजनीतिका अनेक जटिलतावारे विमर्श हुने छ ।  

‘जराको कुराः हाम्रो इतिहास चर्चा’ शीर्षकमा युद्ध वैद्य र पत्रकार मोहन मैनालीसँगको संवादलाई लेखक सुजित मैनालीले सहजीकरण गर्नेछन् ।

‘इलाम डेभलपमेन्ट अन बिहाफ अप ओरेन्ज एन्ड ग्रीन इकोनमी’ शीर्षकमा प्रतिनिधिसभा सांसद निष्कल राईको एकल सम्भाषण रहने छ । उनले इलामका विविध सम्भाव्यताबारे चर्चा गर्नेछन् । 

कविता कन्सर्ट र गायक पुष्पण प्रधानसहितको सांगीतिक टोलीको कन्सर्टपछि कार्यक्रम मैझारो गरिने कार्यक्रम संयोजक प्रकाश थाम्सुहाङले जनाए । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully