विश्रान्तिधाम संस्कृत गुरुकुल पुरस्कृत

सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल स्मृति प्रतिष्ठान सुनसरीले गुरुकुललाई दुई लाख राशिको नगद पुरस्कारबाट मंगलबार सम्मान गरेको हो ।

वैशाख १६, २०८३

रमेशचन्द्र अधिकारी

Awarded Vishrantidham Sanskrit Gurukul

धनकुटा — यस वर्षको सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल स्मृति शिक्षा संस्कृत पुरस्कारबाट धनकुटाको मूलघाटस्थित विश्रान्तिधाम संस्कृत गुरुकुल पुरस्कृत भएको छ ।

सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल स्मृति प्रतिष्ठान सुनसरीले गुरुकुललाई दुई लाख राशिको नगद पुरस्कारबाट मंगलबार सम्मान गरेको हो । प्रतिष्ठानको चौथो स्थापना दिवसको अवसर पारेर धनकुटा नगरपालिका-९ मूलघाटमा रहेको गुरुकुललाई सम्मान गरिएको हो । 

पुरस्कार धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले विशेष कार्यक्रमका बीच हस्तान्तरण गरे । प्राज्ञ विवश पोखरेल, लोचन रिजाल र राजु केसीको पुरस्कार छनोट समितिले उक्त संस्थालाई पुरस्कार दिन चयन गरेको थियो । 

यसअघि प्रतिष्ठानले पण्डित पुरुषोत्तम भट्टराई, वियोग सापकोटा, वैरागी काइँला, प्रेमप्रसाद न्यौपाने, प्राडा दयाराम श्रेष्ठ, रविन्द्र पुरीसमेतलाई विभिन्न पुरस्कार प्रदान गरिसकेको प्रतिष्ठानका अध्यक्ष शान्ता रिजालले जानकारी दिइन् । सामाजिक संस्थालाई भने यस वर्ष पहिलोपटक सम्मान गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रममा स्वामी विजयानन्द सरस्वती, धनकुटा नगरपालिकाका प्रमुख तामाङ, कवि पोखरेल, प्राडा गोपाल भण्डारी, विश्वप्रसाद रिजाल, विश्रान्ति मन्दिरका उपाध्यक्ष दामोदर दाहाल, महासचिव जनार्दन घिमिरे तथा प्रतिष्ठानका अध्यक्ष शान्ता रिजाल लगायतले मन्तव्य राखेका थिए ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully